
कुवेरमानको राईको नाति
शुभशेर राईको छोरा
खोटाङ जिल्ला बुइपा गाविस वडा नं. १, छिप्ती
स्थायी घर भई
हाल : का.जि.का.म.न.पा. वडा नं. ९
बत्तीसपुतली, प्रयागमार्गमा
अस्थायी बसोवास गरिरहेको
३६ वर्षीय म देवविक्रम राई
मेरो बाजे सामान्य साक्षर
उहाँ भूतपूर्व गोरखा सैनिक
मेरो बाबु कृषि विषयमा आईएड
उहाँ अनिवार्य संस्कृत भाषा शिक्षक
आमा सामान्य साक्षर
उहाँ कुशल गृहिणी
मेरी श्रीमती कक्षा ८ पास
उनी नवलपरासीबाट काठमाडौंमा झिकाएको
बँदेलका पाठाहरू पाल्छिन्
र, मचाहिँ नेपालीमा एमए प्रथम श्रेणी
पेसा जग्गा दलाल
लाइसेन्स नम्बर १०१ मेरो
मलाई पनि भोक लाग्छ
माटो खानु भएन
मेरा पनि जहान–बच्चा छन्
उनीहरूलाई पनि भोक लाग्छ
ढुंगा खुवाउनु भएन
यो अजबको नेपालमा
राईको छोरोले नेपाली पढाएर खान सक्दै सकिनँ
यसैले जग्गा दलाली गरेर खाएँ
५ प्रतिशत कमिसन खाएँ
आखिर कसको बाउको के खाएँ ?
मैले योजनाको जस्ता, सिमेन्ट र छडहरू खाइनँ
मैले ठेक्कापट्टाको कमिसन खाइनँ
न खाएँ मैले राजस्व मारेर राष्ट्रै
न खाएँ मैले घुस
न खाएँ मैले नदी नै बेचेर
न खाएँ मैले पासपोर्ट नै बेचेर
खाइनँ मैले हतियारको कमिसन
खाइनँ मैले सखुवाको वन
हो, नागरिक भएकाले राज्यको
अलि–अलि केही खाएँ हुँला
तर मैले के खाएँ र अरूले के–के खाए
एक से एक हिसाबकिताब छ मसँग
तर, खाइनँ मैले निहत्थाको काँचो खुन
र, खाइनँ मैले शान्तिको सुमधुर धुन
मैले चरेश बोकेर खाइनँ
मैले सुन बोकेर खाइनँ
मैले मूर्ति चोरेर खाइनँ
खाइनँ मैले केटीहरूलाई बम्बईमा बेचेर
खाइनँ मैले केटाहरूलाई अरब एक्लै पारेर
हो, जग्गा दलाली गरें
र हो, कहिलेकाहीं त्यो पैसाले जाँड पनि खाएँ
र, मातें
अनि जाँडसँगै अघाउन्जेल सुँगुरको मासु पनि खाएँ
आखिर पसिना बगाएर खाएँ
चित्त बुझाएर खाएँ
तर, सित्तै कसैको बाउको केही खाइनँ
म जग्गा दलाल देवविक्रम राई
विशेष गरेर द्वन्द्व विस्थापितहरूले
गाउँको घरखेत कौडीको मूल्यमा बेचेर
उपत्यकाभित्र तीन आना घडेरी खरिद गर्नु परेमा
कृपया तुरुन्त सम्पर्क गर्नुहोला
फोन : ९८४१२३२५१२ ।



