
माथि डाँडामा बसेर ठूलो
आवाजले कराउन अप्ठ्यारो
भए पनि
कतै चौतारीमा बसेर उही
विषयमा गफ चलाउन
अप्ठ्यारो भए पनि
कुनै सभा वा मञ्चहरूमा विश्लेषण गर्न वा
बोल्न अप्ठ्यारो भए पनि
सामाजिक सञ्जालमा उनै विषयमा बोल्न र लेख्न
अप्ठ्यारो भए पनि
कहाँ अप्ठ्यारो छ र उनलाई
कहीं कतै अप्ठ्यारो छैन उनलाई
किनकि उनी एक कामुक लेखक हुन्
उनी जो जीवनको लैलैमा यौनको ममता भर्छिन् ।
उनी भन्छिन्–
ईश्वरको कुरा गरे
इश्वरमै देखिन्छ
संभोगको आसन
जनावरहरूको कुरा छाडौं,
मानिसमा हुन्छ यौनको बर्बरता
जुन प्यासको बर्बरतालाई
किसिम–किसिममा भोग्न सकिन्छ
जसलाई अनेक आनन्दको
आसन बनाउन सकिन्छ
जसमा अगणितीय आनन्दपूर्ण
नखराहरू गर्न सकिन्छ
जसले यौनिक बर्बरतालाई
आवश्यकतामा रूपान्तरण गर्न सक्छ
यौनिक प्यासलाई पनि
सरल र सुखी बनाउन सक्छ
यस्तै भाषा बोलिरहेकी हुन्छिन्
के यौनलाई व्यवस्थित र सुखी बनाउन सकिँदैन ?
संभोग भनेको आवश्यकता कि आनन्दमात्रै ?
यस्ता अनेकौं प्रश्नका समाधान
र, यौनशास्त्रका अनेकौं विकल्प बताइरहेकी हुन्छिन्
उनी आधुनिक समाजको
एक विद्रोही कामुक लेखक हुन्
उनी जो जीवनको लैलैमा यौनको ममता भर्छिन् ।

उनको विषयवस्तु र ‘सेक्स डिबेट’ सुन्दा
लाग्छ– जसरी जीवन आफैंमा पूर्ण छैन
ठीक त्यसैगरी समाजमा यौन पनि पूर्ण छैन
जसरी जीवनमा हामी फरक सुख र सन्तुष्टि चाहन्छौं
ठीक त्यसैगरी शरीरले अनेकन
संभोगका आसन उब्जाउँछन्
जुन एउटा सुखी यौन जीवनका खातिर
अत्यावश्यक होस्
त्यसैले कुनै कुरा आवश्यकता हुन्छ भने लज्जा किन ?
संसार अमिबाजत्रो होस् वा आँखाले भ्याउन्जेलसम्मको
हामी होमोसेपियन्स युगबाटै आएका हौं
सिकेर, जानेर, गरेर यो प्राकृतिक मानवीय संसर्ग
जसकारण– कुनै महत्त्व अवशेष रहन्न यौनमा धकाउनुको
यौनमा खुल्न सक्नुपर्छ
र, यौनमा स्वतन्त्र हुनुपर्छ
किनकि खुल्नु र स्वतन्त्र हुनुले
यौनमा नौनीको कर्म गर्छ
त्यसैले आउनुस् साथीहरू भन्दै बोलाइरहेछिन्
गरिरहेछिन् स्वागत
आफ्नो युट्युब र फेसबुक पेजका भिडियोहरूमा
सिकाइरहेछिन्
सेक्सुओलोजीका विविध नियम, उपनियमहरू
उनी एक खुलेआम यौनकथाका कामुक लेखक हुन्
उनी जो जीवनको लैलैमा यौनको ममता भर्छिन् ।
हेरेका देखेका साथीहरूले उनलाई
कोकशास्त्रका केही कला बुझ्न
युवकयुवती, विद्यार्थी, पत्रकार, कवि र साहित्यकारले
खोजी–खोजी हेरेको देखे
फेसबुक र युट्युवहरूमा
खै कसले कसरी हेर्यो ? कसले कसरी बुझ्यो
समाजले के ठान्छ ?
परिवारले के भन्छ वास्ता मान्दिनँँ
मात्र उनी यौनको
सकारात्मक शिक्षा बाँडिरहेछिन् समाजमा
बाल्न खोजिरहेछिन्
यौनशिक्षाको दियो पितृसत्तात्मक समाजमा
नारी भएर सामाजिक रेखाको मर्यादालाई नभुली
नारी भएपछि बन्धनमा रहनुको बाध्यतालाई लतार्दै
यौनजीवनलाई एउटा छुट्टै कन्टेन्ट बनाइरहेछिन्
जो विषयगत हिसाबले पढ्नुपर्छ
जो विज्ञान र प्राकृतिक हिसाबले बुझ्नुपर्छ
जसलाई समाजमा स्वतन्त्र बाँच्न दिनुपर्छ
जसलाई व्यक्तिगत हिसाबमा भोग्न दिनुपर्छ
यस्तै संभोगका सिद्धान्तमा भेटिइन्छन् उनी
उनी आधुनिक समाजको
एक विद्रोही यौनशास्त्री हुन्
एक विख्यात कामुक लेखक
अर्थात् ममता अर्याल ‘लैलै’
उनी जो जीवनको लैलैमा यौनको ममता भर्छिन् ।



