तालुक, द्वारे, जिम्मावालको मिलापत्रले जन्माएको नेता


दुर्लभ अन्तरे

आपा भरिकृष्ण राई र स्वर्गीय आमा चौथसरी राईको अन्तरे छोरा । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुमाखु, खोटाङमा संवत् २०४१ सालमा जन्मेका दयाराम राई अन्तरे छोरा हुन् । नेपालको (विशेषतः आदिवासी जनजातिको) जनसंख्या घट्दै गएको सन्दर्भमा राईजस्ता अन्तरे अब दुर्लभ भइसकेका छन् । अपवादबाहेक आइन्दा अन्तरे सन्तान जन्मने छैनन् । दुर्लभ अन्तरेका जेठा दाइ गौराज राई भारतीय सेनाका अवकाशप्राप्त हवल्दार हुन् । माइला दाइ गजुरमान राईले नेपाल सेनामा ६/७ वर्ष सेवा गरी स्वेच्छिक अवकाश लिए । साइँला दाइ नयन राई भारतीय सेनाका हवल्दारमा सेवारत छन् । काइँला दाइ धनजित राई पनि भारतीय सेनाबाट सेवानिवृत्त भइसके । कान्छा भाइ शुभराज राई भने दयाराम राईबाटै सीप विकास गरी जीवनको लय रहरलाग्दोगरी समातिरहेका छन् । तीन दिदीबहिनी कुटुम्बको घर गइसके ।

राईले भारतीय सेनामा भर्ती हुन धेरै पटक प्रयास गरे । अन्तिम पटकको प्रयासमा विभिन्न चरण पास गर्दै गए । अन्ततः खुट्टाको घाउको शल्यक्रिया गरेको दागको कारण देखाइयो । उनी भर्ती हुन सकेनन् । नेपाली सेनामा भर्ती हुने प्रयास पनि प्रयासमै सीमित रह्यो । त्यतिबेला दुःख लाग्नु अस्भाविक होइन । उनको सोचाइ र बुझाइ परिष्कृत बन्दै गएको छ । ‘ज्ञान आर्जन गर्न दुःखको लिस्नु चढ्नै पर्छ । सेनामा भर्ती भएको भए उनीहरूको पेलानले मलाई भेंडा बनाइन्थ्यो,’ उनको भनाइ छ, ‘चेतेपछि चेत (ज्ञानको ढोका खुल्ने) आउने रहेछ । चेतना नभएपछि पैसा र सम्पत्तिले केही नहुने रहेछ । पैसाले मात्र सामाजिक हुन, समाज बुझ्न सकिँदैन ।’

दिनचर्या/व्यस्तता

‘काठमाडौं उपत्यका विचित्रको छ । व्यस्तभन्दा पनि अस्तव्यस्त जिन्दगी बिताउनेको कमी छैन,’ उनको बुझाइ छ, ‘यसलाई व्यवस्थापन गर्नेले मात्र जीवनयापन बनाउन सक्छन् ।’ बिहान ५ देखि राति १० बजेसम्मको आफ्नै कार्यतालिका छ । २१ वर्षदेखिको सो कार्यतालिका परिवर्तन भएको छैन । बिहान जिमखाना पुग्छन् । त्यहाँ एक/दुई घन्टा पसिना बगाउँछन् । घर फर्केर नुहाइधुवाइ गरी कफी पिएर तरकारी बजार पुग्छन् । दैनिकजसो ताजा तरकारी लिएर फर्केपछि साथीभाइसँग भेटघाट र चियापानमा एक घन्टा खर्चन्छन् । चियापान अर्थपूर्ण हुन्छ । चियापानमा सामाजिक चिन्तन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका समसामयिक र विकसित घटनाबारे गफगाफ चल्छ ।

त्यसपछि खाना खान्छन् । कोही कार्यालय जान्छन् । कोही विद्यालय । सबैलाई पुर्याउँछन् । अनि आफ्नो पसल खोल्छन् । त्यतिबेला बिहानको १० बजिसकेको हुन्छ । पसलमा पसिनाको गीत गाउनुको आनन्द अरूसँग तुलना गर्नै सकिँदैन । तर, सबै दिन उस्तै मिहिनेत गर्न भ्याउँदैनन् । काठमाडौंको चाबहिलमा रहेको साँचो पसलमा उनलाई भेट्न दैनिकजसो धेरैको पाइला त्यतै सोझिन्छन् । आएका साथीभाइसँग चियागफमा रमाउँदा काममा बाधा पुग्ने नै भयो । व्यावसायिकक व्यस्ततासँगै आफूसम्बद्ध राजनीतिक दल र साथीभाइको कामसमेत फत्ते गरिदिन्छन् । त्यतिबेलासम्म उनलाई पर्खेर बसेका कतिपय ग्राहक घर फर्किसकेका हुन्छन् । कार्यालय र स्कुलबाट घर ल्याउने जिम्मा पनि उनकै हो । बेलुकीको खानपान व्यवस्थापन गरी पुनः भेटघाटमा सहभागी हुन्छन् । रातिको ९ बजेसम्ममा खानपान सकेर १० बजेसम्म ओछ्यानमा पुगिसकेका हुन्छन् ।

स्वास्थ्य चेतना/पहिरन/मनोरञ्जन

झट्ट हेर्दा अवकाशप्राप्त सैनिककै झल्को दिने ज्यान । राजनीतिकर्मी, समाजसेवी र साँचो पसल सञ्चालक उनी पसलका काम आफैं गर्छन् । पसलमा पुग्ने ग्राहकले पहिलोपटक देख्दा साहुजी भन्न सक्दैनन् । ‘उमेर छँदै टन्न खाने र रमाइलो गर्नुपर्ने रहेछ । उमेर ढल्दै जाँदा विभिन्न रोगका कारण मुख बार्नुपर्ने हुन्छ,’ स्वस्थ्य र फुर्तिलो उनको ठम्याइ छ, ‘शारीरिक हिसाबले पनि कमजोर भइन्छ । त्यसैले उमेरमै झप्प खाने झप्प श्रम गर्ने हो ।’ भान्सामा प्रायः माछामासु पाकेकै हुन्छ । कोदाको आराखा (गाउँको लोकल रक्सी) बेलुका एक÷दुई प्याक लिन्छन् । आराखा मिलाएर थोरै खाँदा औषधिकै काम गर्ने उनको बुझाइ छ ।

हैसियतअनुसार ब्रान्डेड लत्ताकपडा र जुत्ता लगाउनैपर्छ भन्ने उनको सुझाव छ । उनी ब्रान्डेड पहिरनमै अनुहारिन्छन् । यदाकदा रिफ्रेसमेन्टका लागि पाँचतारे होटलतिर पारिवारसहित पुग्नुपर्छ भन्ने मान्यता राख्छन् ।

१९ वर्षमै बिहे

दुर्छिम माध्यमिक विद्यालय पढ्दापढ्दै आफूभन्दा एक कक्षा तलका खविना राईसँग मायाप्रेममा परे । प्रेमलाई बिहेमा परिणत गरे । १९ वर्षमै झ्याईं पारे । त्यसपछि दुवैले एसएलसीसम्मको अध्ययन पार लगाए । ‘आज म जहाँ र जे छु नि, श्रीमतीजीकै कारणले छु,’ उनले गौरव गरे, ‘हामीबीच सहकार्य छँदै छ । उनी समझदार छिन् । तसर्थ, म स्वतन्त्र चरीजस्तै स्वतन्त्र आकाशमा कावा खान पाएको छु ।’ दुई छोरी र एक छोरा हुर्काउने देन आमाको धेरै छ । ‘आधुनिकताको नाममा उनले संस्कार, संस्कृति भुलेकी छैनन्,’ उनले श्रीमतीको प्रशंसा गरिन्, ‘छोरी, बुहारीको साँच्चैको भूमिका निर्वाह गरेकी छन् । योभन्दा मलाई के चाहियो र हजुर ?’

सिंहदरबारमा रहेको वैद्यखानामा कार्यरत खविना राईले पनि श्रीमान्को खुलेरै प्रशंसा गरिन् । ‘श्रीमान् दयालु हुनुहुन्छ । सहयोगी पनि । त्यत्तिकै दिलदार,’ खविनाले नढाँटी सुनाइन्, ‘कहिलेकाहीं त परिवारभन्दा साथीभाइ प्राथमिकतामा पर्छन् । घरको समस्या थाती राखेर साथीभाइको सरसहयोगमा लागिपर्नुहुन्छ ।’ घरपरिवारलाई अलिकति भए पनि प्राथमिकतामा राख्नू है भनेर खविनाले दयारामलाई भनिरहेकै हुन्छन् । तर, श्रीमान्ले परिवारभन्दा साथीभाइलाई नै प्राथमिकतामा राखेका छन् । २२ हिउँद/बर्खा यसरी नै बित्यो । अब पनि त्यसरी नै बित्नेछ भन्नेमा श्रीमान् श्रीमती ढुक्क छन् । ‘गाउँको सामुदायिक विद्यालयबाट एसएलसीसम्म गरेका उनीहरूले दुई छोरीलाई काठमाडौंको बोर्डिङ स्कुलबाट दस जोड दुईसम्मको अध्यनन पार लगाइसकेका छन् । छोरो नि पढ्दै छन्,’ खविनाले खुसी व्यक्त गरिन्, ‘श्रीमान् राजनीति र समाजसेवामा रमाइरहनुभएको छ । श्रीमान्कै कारण म पनि वैद्यखानाजस्तो सरकारी कार्यालयमा जागिर खान पाएकी छु ।’

साथीजस्तै छोरी

‘बेलैमा बिहे गर्नु भनेको बेलैमा परिपक्व भई जीवन बुझ्नुपर्ने रहेछ,’ मुसुक्क मुस्कुराउँदै दयाराम थप्छन्, ‘छोराछोरी हुर्केर आफूसमान भइसकेका छन् । यो सुखानुभूति पैसामा किन्न सकिँदैन नि हजुर ।’ बिहे नगरी आयु घटाइरहेका साथीभाइले गरेका संघर्षले उनलाई पटक्कै छुँदैन । बिहे गरेर छोराछोरी जन्माएर, आफैंले कमाएर छोराछोरी हुर्काइ, बढाइ गरी पढाएपछिको संघर्षमात्रै खास लाग्ने उनको मान्यता छ । ठूली छोरी उच्च शिक्षा हासिल गर्न विदेश जाने तयारीमा छन् । माइली छोरी पनि स्नातक अध्ययनका लागि तयारीमा जुटेकी छन् । छोरा पनि बोर्डिङ स्कुलमै कक्षा ६ मा अध्ययनरत छन् ।

राजनीतिक लय

स्थानीय र राष्ट्रिय राजनीति फरक विषय हुन् । स्थानीय अथवा गाउँघरमा प्रचलित मर्दापर्दा (आपतविपतलगायत विभिन्न संस्कार संस्कृति) गरिने साथ सहयोग र स्थानीय नेतृत्व (प्रधानपञ्च, तालुक, द्वारे, जिम्मावाल) ले दिएको निर्देशन र खेपेको सास्तीबाहेक बाउबाजेले राजनीति गरेका र बुझेका थिएनन् । बाउबाजेले नगरेको राजनीति बुझ्नै कठिन । त्यतिबेलाको उमेर त्यस्तै । लाग्छ– यत्तिकै पुग्छ । ‘राजनीति बुझ्नैपर्ने र गर्नैपर्ने विषय रहेछ । राजनीति भनेकै शक्तिको स्रोत रहेछ,’ दयाराम राई भन्छन्, ‘जीवन भोगाइक्रममा गल्ती नै नहुँदा पनि राजनीतिक पहुँचका कारण कतिपय अवस्थामा मिलापत्र गर्न बाध्य पारियो । मिलियो । त्यसपछि मलाई राजनीति गर्नैपर्ने रहेछ । राजनीतिक पार्टी समात्नैपर्ने रहेछ भन्ने निष्कर्षमा पुगें ।’

आदिवासी जनजाति महासंघ पूर्वमहासचिव आङकाजी शेर्पा उनको साँचो पसलमा पुगे । शेर्पाले पहिलो भेटमै तत्कालीन संघीय समाजवादी पार्टीको विषयमा बताए । छुट्टिने बेला शेर्पाले आफ्नो र पार्टी अध्यक्ष अशोक राईको फोन नम्बर दिए । शेर्पाले संघीय समाजवादी पार्टीमा जोडिन आग्रह गरे । ‘शेर्पाको आग्रह ठीक कि बेठीक भनेर मैले गणेशटारनिवासी काका चेतुविकल राईलाई सोधें,’ दयारामले विगत कोट्याए, ‘अशोक राईजत्तिको व्यक्तित्वले खोलेको पार्टी राम्रै होला । नयाँ पार्टीले उचित जिम्मेवारी दियो भने जानू । माओवादीमा त मभन्दा तपाईं सधैं जुनियर नै हुनुहुन्छ भनेर चेतुविकल काकाले सुझाउनु भएपछि म ०७० वैशाखमा ससपामा जोडिएँ ।’

नभन्दै संघीय समाजवादी पार्टीको भ्रातृ संगठन समाजवादी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्यको भूमिका पाए । लगत्तै कार्यालय सचिवको जिम्मेवारी थपियो । कार्यसम्पादनको प्रशंसा गरिँदै केन्द्रीय सचिवमा पदोन्नति भए । पार्टी धु्रवीकरण हुँदा उपमहासचिवको जिम्मेवारी पाएका राई अहिले जनता समाजवादी पार्टीको भ्रातृ संगठन समाजवादी ट्रेड युनियन महासंघको केन्द्रीय महासचिव छन् ।

वडाध्यक्षका प्रत्याशी

०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनी जनता समाजवादी पार्टी नेपालको तर्फबाट हलेसी तुवाचुङ वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार थिए । कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का उम्मेदवारसँग चुनाव लड्नु चानचुने काम थिएन । ०७४ मा एक्लैले ४२० मत ल्याई वडा जितेको एमाले र एक्लैले २०५ मत ल्याएको माओवादी केन्द्रबीच गठबन्धन थियो । कांग्रेसले नगरप्रमुख र उपप्रमुखसहित बहुमतसाथ नगर कार्यपालिका चलाएको थियो । नगर सरकारको बजेट र कामको प्रभावका साथै कर्मचारी प्रशासनसमेतको समर्थनले कांग्रेस बलियो मानिन्थ्यो । त्यसमाथि वामपन्थी एकता र कांग्रेस पार्टीबीच उनको प्रतिस्पर्धामा सन्तोषजनक मत प्राप्त भयो । कांग्रेस उम्मेदवार रुपेन्द्रकुमार राई ६८२ मत ल्याई विजयी भए भने वामपन्थी गठबन्धनका उमेदवार प्रदीपकुमार राईले ६४७ मतसहित दोस्रो र दयाराम राईले ३४३ मतसहित तेस्रो भए ।

‘राजनीति वा समाजसेवा गर्दा दुःख त हुन्छ नै । परिवारलाई पनि थपिन्छ,’ उनले जानकारी गराए, ‘तर, यसखाले दुःखले समाज र सामाजिक चेतनाको दायरा बढ्दो रहेछ ।’ कुराकानीक्रममा उनी दुई प्रसंग सम्झन्छन् । पहिलो चुनाव लडेको । अर्को आमा गुमाउँदाको पीडा । ‘बिरामी आमा काठमाडौंको मेडिकेयर अस्पतालमा भर्ना हुनुभयो । पार्टीका केन्द्रीय कमिटीसम्बद्ध र जिल्ला नेताहरूका साथै साथीभाइ आमालाई हेर्न आउनुभयो,’ उनले सम्झे, ‘आमा पितृको देश जाँदा पनि पार्टी, अन्तरपार्टीका सबै इष्टमित्र आउनुभयो । म चुनावमा उम्मेदवार हुँदा घरका दाजुभाइ र दिदिबहिनीले आर्थिक सहयोग गर्नुभयो । चुनावमा खटिदिनुभयो । गाउँले दाजुभाइका साथै पार्टी र पार्टीबाहिरका सबै दाजुभाइ दिदीबहिनी, नरनातालगायतका साथीभाइ खटिनुभयो ।’

‘खाइ–नखाई बचत गरेको पैसा आमाको उपचार र चुनाव लड्न मलाई सहयोग गर्नुभयो,’ घरकै दाजुभाइ, भाउजू–बुहारी र दिदीबहिनीलाई सम्बोधन गर्दै उनले नम्र निवेदन गरे, ‘बाबुबाजेले नगरेको राजनीतिक चेतनाको दियो बाल्न लागिपरेको छु । त्यस्तो विरासत निर्माणमा लागेको छु । राजनीतिक चेतनाको दियो बाल्न खोज्नुलाई पैसासँग तुलना गर्न मिल्दैन । तपाईंहरूले मलाई बुझ्नुभएकै छ । सकेको सहयोग अझै माग्नु नै छ ।’ आफूले निर्माण गर्ने विरासत पछिलो पुस्ताका भाइ, भतिजा, बहिनी, छोरीका लागि समेत काम गर्ने उनको ठम्याइ छ । ‘यो एक जुनीको काम होइन, पुस्तौं पुस्ता हुन्छ,’ उनले सुनाए, ‘तर, धन–सम्पत्ति आफूले लिएर गइँदैन र पुस्तौँ पुस्ता नहुन पनि सक्छ । इतिहास अजम्बरी हुन्छ ।’

त्यसपछि विदेश जान नपाउँदा

०६२ फागुनमा ६ महिनाको ठुली छोरी लिएर काठमाडौं जाने निधो भयो । बूढाबूढीको सल्लाह मिलेपछि काठमाडौं पुग्ने भाडा जोहो गरे । उनीहरू बाटो लागे । उदयपुरको कटारीसम्म हिँडेपछि त्यहाँबाट गाडी चढेर काठमाडौं पुगिन्थ्यो । काठमाडौं ओर्लेपछि फुपूसासु (श्रीमतीको फुपू) अम्बिका राईको डेरा पुगे । ऊबेला चाबहिलको स्तुपाभन्दा चार/पाँच सटर उता मित्रपार्कपट्टि) रुद्र गुरुङ र अम्बिका राईले साझेदारीमा साँचो पसल खोलेका थिए । काठमाडौंमा कसरी टिक्ने भन्ने छलफलक्रममा फुपूसासुले आफ्नै साँचो पसलमा काम गर्न सुझाइन् । दयाराम राई भन्छन्, ‘मेरो व्यवसायको पहिलो गुरु रुद्र गुरुङै हुन्,’ उनले अतीत सम्झे, ‘विदेश जान पासपोर्ट बनाइसकेको मलाई साँचो पसल खोलेर परिवारसँगै बस्ने सल्लाह दिने फुपूसासुलाई पनि मैले बिर्सन मिल्दैन । उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ ।’

अन्ततः उनले चाबहिल स्तुपाको पारिपट्टि साँचो पसल खोले । हाल उनले चलाइरहेका साँचो पसल फुपूसासूले एकलौटी बनाइन् । मेरो पसल बन्द गर्न लगाएर फुपूसासुले आफ्नो पसल उनलाई एकलौटी सञ्चालन गर्न दिइन् । २१ वर्षदेखि उनी र उनको परिवारलाई त्यही पसले जीविकोपार्जन गर्न सजिलो बनाएको छ । दयाराम राईको साँचो पसलमा साँचो बनाउन सीप सिकेका गाउँकै दाजुभाइले मात्र ६ वटा पसल खोलिसकेका छन् । राईले १२ जनाभन्दा धेरैलाई साँचो बनाउने सीप सिकाएर आफ्नो खुट्टामा उभिन सघाए ।

मासिक २१ हजारको चिया

‘सीपको सम्मान गर्नुपर्छ । यही सीपले २१ वर्षदेखि काठमाडौं बस्न सक्ने बनायो,’ उनी सगौरव बताउँछन्, ‘दैनिकजसो साथीभाइसँग बसेर चिया खाँदा ७०० सकिन्छ ।  त्यो भनेको लगभग मासिक २१ हजार हो ।’ काठमाडौंमा महिना धान्न ५० देखि ६० हजार चाहिन्छ । त्यसमाथि लत्ताकपडा र पार्टी कामको खर्च जोड्नैपर्यो । सबै खर्च जोड्ने हो भने घरबाट बेजो नलिई आएको यो परिवारले दुई करोड आम्दानी र खर्च गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्