यसकारण डा. हरि रोकाको सिंहदरबार यात्रा अपरिहार्य


डा. हरि रोका

संवत् २०५१ को मध्यावधिदेखि २०८२ फागुन २१ मा हुने आमनिर्वाचनसम्म जोड्दा मुलुकमा १० वटा निर्वाचन हुनेछ । यसअघि पनि निर्वाचन भएकै हो । तर, पंक्तिकारले ०५१ को निर्वाचनबाट सक्रिय रूपमा भाग लिए । पहिलो संविधानसभा निर्वाचनताका वैदेशिक रोजगारीमा रहेकाले सहभागी हुन सकिनँ । बाँकी निर्वाचनमा असाध्यै सक्रियता जनाएँ । आसन्न निर्वाचनको रापताप बढिरहे पनि पंक्तिकारलाई भने खासै छोएको छैन । सामाजिक सञ्जालमा आफ्नो अभिमत राख्नेबाहेक कसैलाई भेटेर कसैका लागि भोट मागेको छैन । राजनीतिबाट यति धेरै बेलगाव बस्न सकिन्न भन्ने लाग्थ्यो तर आफूले आस्था राखेको दलबाट खासै सन्तुष्टि नमिलेपछि चुपचाप बस्नुको विकल्प नहुने रहेछ ।

आसन्न निर्वाचनले पनि राजनीतिक गतिरोध अन्त्य गर्लाजस्तो लाग्दैन । कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने प्रस्ट छ । जसकारण राजनीतिक संकट झनै गहिरिने पो हो कि भन्ने देखिन्छ । राजनीतिक दलहरू सहमति र सहकार्यभन्दा एकले अर्कालाई नंग्याउन व्यस्त छन् । कार्यकर्तामा विवेकभन्दा आवेग धेरै देखिन्छ । मतदाता अस्वाभाविक ढंगले मौन छन् । यो परिदृश्यमा मौन बस्नु पनि भित्रभित्रै हलचल हुनु रहेछ । र, अचम्मको कुरो एक व्यक्तिले फरक–फरक पार्टीका तत्तत् उम्मेदवारले जितून् भन्ने अपेक्षा राख्न सकिने रहेछ । सायद कुनै पनि दलको झोला नबोकेपछि जुनसुकै दलको होस्, अपेक्षित राम्रो व्यक्तिले जितून् भन्ने लाग्दोरहेछ ।

डा. हरि रोकालाई खोटाङबाट विजयको कामना गर्ने एउटा दलका समर्थकमात्रै नहोलान् । डा. रोकाको विगत केही दलसँग जोडिएला तर वर्तमानमा उनी कुनै पनि दलको सदस्य छैनन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनलाई जुन पार्टीले टिकट दियो, उनी त्यही पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को खरो आलोचकसमेत हुन् ।

महावीर पुन, डा. युवराज संग्रौला, कुलमान घिसिङ र हर्क साम्पाङहरूले जितून् भन्ने कामना मेरोमात्रै नहोला । खोटाङबाट डा. हरि रोकाको विजयको कामना गर्ने एउटा दलका समर्थकमात्रै नहोलान् । डा. रोकाको विगत केही दलसँग जोडिएला तर वर्तमानमा उनी कुनै पनि दलको सदस्य छैनन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनलाई जुन पार्टीले टिकट दियो, उनी त्यही पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को खरो आलोचकसमेत हुन् । स्वतन्त्र र आफ्नै आलोचकलाई प्रचण्डले टिकट कसरी दिए, यो विषयभन्दा पनि उनले निर्वाचन जित्न किन आवश्यक छ भन्ने विषयमा आलेखमार्फत आफ्नो धारणा राख्ने प्रयत्न गरेको छु ।

नम्बर–१
मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने :

डा. हरि रोकाले विगतमा तात्कालिक माओवादी र सात राजनीतिक दलबीच अप्रत्यक्ष मध्यस्थकर्ताको भूमिकासँगै वर्तमान संविधान जारी गर्न तात्कालिक दलबीच समन्वयात्मक भूमिका निर्वाह गरिसकेका छन् । विभिन्न सञ्चारमाध्यममा लेखेर होस् वा बोलेर डा. रोकाले सरकारको नीति कार्यक्रम र दलहरूको कार्यशैलीप्रति आलोचनात्मक टिप्पणी गरिरहेकै थिए/छन् । यसरी हेर्दा उनी मध्यस्थकर्ता, समन्वयकर्तासँगै आलोचक पनि हुन् । राजनीतिक दल र सरकारलाई सही बाटोमा हिँडाउन उनले खेलेको बौद्धिक हस्तक्षेप जति महत्वपूर्ण छ, अबको भूमिका झनै महत्वपूर्ण देखिन्छ ।

तस्बिर : केदार मगर

आसन्न निर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने अवस्था छैन । पुराना भनिएका दलको खुम्च्याई र नयाँको फैलावटले राजनीतिक टकराव बढेर जानेछ । सरकार गठनको सकससँगै गठबन्धनको अदलबदलले आममानिसमा निराशा थपिनेछ । संविधान र व्यवस्थामाथि चौतर्फी प्रहार हुने र देशी–विदेशी चलखेल झनै बढेर जानेछ । यस्तो बेला बौद्धिक रूपमा हस्तक्षेप गर्न सक्ने दिग्गज व्यक्ति संसद्मा पुग्नु भनेको दलहरूबीच समन्वयात्मक भूमिका निर्वाह गर्नु पनि हो । जसको एउटा मियो डा. हरि रोका बन्न सक्नेछन् । त्यसैले पनि डा. रोकाले राष्ट्रिय राजनीतिको यो विषम परिस्थितिमा निर्वाचन जित्न अनिवार्य छ । उनले जित्नु भनेको एउटा पार्टीको उम्मेदवारले मात्रै होइन, संकटको बेला महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति संसद् प्रवेश गर्नु हो ।

नम्बर–२
हरि रोका साझा उम्मेदवार :

डा. हरि रोकाले ०५६ को निर्वाचनपछि दलगत राजनीति त्यागेका हुन् । महाकाली सन्धिले तात्कालिक एमालेमा फुटमात्र होइन, विचलनसमेत ल्यायो । निष्ठाको राजनीति गर्ने एक वैचारिक व्यक्तिलाई सस्तो लोकप्रियताको जालोमा फसेर सत्ताको नाङ्गो नाच प्रस्तुत गरिरहेका संसद्वादी कम्युनिस्टसँग मोहभंग हुनु स्वाभाविकै थियो । तसर्थ, सक्रिय राजनीति त्यागेर उनी भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा पीएचडी अध्ययनका लागि भर्ना भए ।

लेखक

यता, मुलुकमा माओवादी जनयुद्धको रापताप चर्को थियो । राजा ज्ञानेन्द्रले ०४७ को संविधान खर्लप्पै पारेर प्रत्यक्ष शासन गरिरहेका थिए । संसद्वादी दलका औंलामा गन्न सकिने कार्यकर्ता रत्नपार्कमा धर्ना बसेर आफ्नो अस्तित्व जोगाइरहेका थिए । त्यही बेला मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर, दमननाथ ढुंगानाहरूसँगै डा. रोकाले पनि माओवादी र तात्कालिक सात दलबीच सम्झौता गर्न भूमिका निर्वाह गरेकै हुन् ।

डा. रोका अर्थमन्त्री बन्ने चर्चा केवल चर्चामै सीमित पनि हुन सक्छ । अर्थ वा अन्य कुनै मन्त्रालय सम्हाले भने उनको कार्यकाल खोटाङका लागि पक्कै महत्वपूर्ण हुनेछ । उनी मन्त्री बनेनन् भने पनि खोटाङमा ठूला योजना ल्याउन अर्थपूर्ण भूमिका खेल्न सक्नेछन् । योजना आयोग, मन्त्रालय वा कर्मचारीवृत्तमा उनको व्यक्तित्वले पक्कै काम गर्नेछ ।

२०६२–०६३ को जनआन्दोलन सफल भएपछि पुनःस्थापना भएको संसद्मा उनले तात्कालिक माओवादीतर्फबाट मनोनीत भए भने पहिलो संविधानसभा निर्वाचनपछि अन्तरिम संविधानमा व्यवस्था भएबमोजिम संविधानसभामा मनोनीत गरिने १० जना विज्ञमध्ये तात्कालिक माओवादीको कोटाबाट उनी मनोनीत भएका थिए । संविधानसभा निर्वाचनमा तात्कालिक माओवादीलाई खुलेरै मत मागिदिएका उनी पार्टी सदस्य भने कहिल्यै भएनन् । तसर्थ, ०५६ पछि स्वतन्त्र रहेर राजनीतिक विश्लेषक र आवश्यक पर्दा समन्वयकर्ताको भूमिका खेले । आसन्न प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार भए पनि उनी साझा उम्मेदवार हुन् । अन्य उम्मेदवारले जिते पार्टीको जित हुनेछ तर डा. हरि रोकाले जिते सिंगो खोटाङको जित हुनेछ ।

नम्बर–३
मन्त्री बन्ने सम्भावना र खोटाङको विकास :

निर्वाचनपछि सरकार बनाउन कम्तीमा दुई दल मिल्न अनिवार्य छ । डा. हरि रोकालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने दल सम्भवतः संसद्को चौथो दल हो । सरकार गठन हुँदा नेपाली कम्युनिस्ट पार्टी सहभागी हुन्छ/हुँदैन ? सरकारमा सहभागी भए पनि कुन–कुन मन्त्रालय पाउँछ भन्ने टुंगो छैन । डा. रोका अर्थमन्त्री बन्ने चर्चा केवल चर्चामै सीमित पनि हुन सक्छ । अर्थ वा अन्य कुनै मन्त्रालय सम्हाले भने उनको कार्यकाल खोटाङका लागि पक्कै महत्वपूर्ण हुनेछ । उनी मन्त्री बनेनन् भने पनि खोटाङमा ठूला योजना ल्याउन अर्थपूर्ण भूमिका खेल्न सक्नेछन् । योजना आयोग, मन्त्रालय वा कर्मचारीवृत्तमा उनको व्यक्तित्वले पक्कै काम गर्नेछ । तसर्थ, जिल्लाको विकासमा अन्य उम्मेदवारभन्दा उनको विजय महत्वपूर्ण मानिनेछ ।

आसन्न निर्वाचनमा खोटाङबाट जुन–जुन दलका जो–जो उम्मेदवार मैदानमा छन्, उनीहरूमध्ये डा. हरि रोकामात्रै त्यस्तो एक पात्र हुन्, जसले दलीय स्वार्थभन्दा माथि उठेर सबै पालिकालाई समान दृष्टिकोणबाट महत्वपूर्ण सहयोग पुर्याउन सक्छन् ।

नम्बर–४
खोटाङका पालिकासँग समन्वय :

वर्तमान संविधानको सुन्दर पक्ष भनेकै अधिकारसम्पन्न स्थानीय तह व्यवस्था पनि हो । कानुन, कार्यक्रम र बजेट बनाउने र कार्यान्वयन गर्ने अधिकार पाएको स्थानीय तह उचित सल्लाह र समन्वय अभावमा प्रभावकारी कार्यक्रम बनाउन असफल प्रायः भइरहेका छन् । जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका र पालिकामा निर्वाचितहरू दलीय संकीर्णताबाट माथि उठ्न नसक्दा आपसमा सहयोग र समन्वय कमै भइरहेको छ । एक सांसदले केन्द्र र प्रदेशको बजेट ल्याउनेमात्र होइन, आफ्नो क्षेत्रभित्रका स्थानीय सरकारलाई कानुन, जनमुखी कार्यक्रम, बजेट बनाउन र प्रभावकारी कार्यान्वयनका लागि महत्वपूर्ण सहयोग गर्न सक्छन् । पालिका विकासका लागि दातृनिकाय र विभिन्न पक्षसँग समन्वकर्ताको भूमिका खेल्न सक्छन् । आसन्न निर्वाचनमा खोटाङबाट जुन–जुन दलका जो–जो उम्मेदवार मैदानमा छन्, उनीहरूमध्ये डा. हरि रोकामात्रै त्यस्तो एक पात्र हुन्, जसले दलीय स्वार्थभन्दा माथि उठेर सबै पालिकालाई समान दृष्टिकोणबाट महत्वपूर्ण सहयोग पुर्याउन सक्छन् ।

र, अन्त्यमा :

डा. हरि रोका वामपन्थी विचारधारा बोकेका वैकल्पिक अर्थतन्त्रको व्याख्याता र खुला बजार अर्थतन्त्रको आलोचक हुन् । अहिलेसम्मको परिस्थिति हेर्दा आसन्न निर्वाचनमा कम्युनिस्टको शक्ति खुम्चने निश्चित छ । निर्वाचनपछि बन्ने सरकार गैरकम्युनिस्ट हुने प्रवल सम्भावना छ । उदारीकरणको नाममा सार्वजनिक उद्योग निजीकरण गरेर आयातमुखी अर्थतन्त्रमा रमाइरहेको नेपाली अर्थराजनीति झन् दलाल पुँजीवादको दलदलमा फस्दै जाने र दलाल पुँजीवादलाई नै प्रश्रय दिने आर्थिक कार्यक्रम आउने सम्भावना धेरै छ । यस्तो बेला विषयगत समितिको छलफलसँगै संसद्को रोष्ट्रममा उभिएर सरकारको नीति कार्यक्रमको चिरफार गर्ने व्यक्तिको खाँचो हुन्छ । देशको अर्थनीतिबारे व्यावहारिक र दार्शनिक दुवै पक्षबाट व्याख्या गर्ने निर्विकल्प व्यक्ति डा. हरि रोका नै हुन् । तसर्थ, दलीय चस्मा एकातिर पन्छाएर सम्भावित राष्ट्रिय विपत्तिमा समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने खोटाङको विकासमा अरूभन्दा एक कदम अघि लम्कन सक्ने व्यक्ति डा. हरि रोकालाई खोटाङबाट विजय गराऊँ ।

प्रतिक्रिया दिनुहोस्