
‘मुलुकलाई यस्तो वा उस्तो बनाउने पाए हुन्थ्यो भनेर अपेक्षा गर्नु अस्वाभाविक होइन । म त्यो ठाउँमा छैन,’ कवि/लेखक/पत्रकार सोनाम सज्जन किरातीको अपेक्षा छ, ‘तर, मुलुक हेर्नलायक बने हुन्थ्यो ।’
सशस्त्र जनयुद्धमा पटक–पटक मृत्युको मुखमा पुगे पनि नाफाको जिन्दगी बिताइरहेका किराती साहित्य र अखबारी लेखनमा रमाइरहेका छन् । उनका ‘नपुशंक स्वर्गको विरुद्ध आगो’ (कवितासंग्रह) र ‘जनयुद्धमा बितेका पल’ (संस्मरणसंग्रह) प्रकाशन भइसकेको छ ।
जीवनको लय समात्नेक्रममा काठमाडौंमा रहे पनि उत्तरार्धमा गाउँ फर्केर मुला र अकबरे खुर्सानीको मालिक बन्ने रहर व्यक्त गर्ने कवि/लेखक/पत्रकार सोनाम सज्जन किरातीसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
रामभेन्डाको अचार अच्छा
पाएको खानेकुरा मीठो मानेर खान्छु । घिउ र रामभेन्डाको अचारसहितको खानेकुरा विशेष लाग्छ । सकेसम्म बासी खानेकुरा खान नपरे हुन्थ्यो । खानकै लागि रेस्टुरेन्ट पुग्दिनँ । मन लागेको खानेकुरा कोठामै ल्याएर परिवारसहित खाँदाको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ । काम र लेखनबाट फुर्सद मिल्दा श्रीमतीज्यूको आज्ञाले भान्छामा पस्छु ।
सस्तो कपडा पहिलो रोजाइ
पुरुषले लगाउन उपयुुक्त सबै प्रकारका कपडा लगाउँछु । योजनाबद्ध योजनामा कपडा किन्दिनँ । आवश्यकताका आधारमा सालिन्दा कम्तीमा ७ र बढीमा १० हजार रुपैयाँसम्म कपडामा खर्चन्छु । रेडिमेड कपडा लगाउँदै आएको छु ? ब्रान्डभन्दा पनि सक्दो सस्तो कपडा रोजाइमा पर्छन् । प्रायः ऊनको टोपी लगाउँछु ।
१७ घन्टा ‘हार्ड वर्क’
दैनिकजसो बिहान ७ देखि मध्यरात (१२ बजे) सम्म ‘हार्ड वर्क अर्थात् बिल्डिङ कन्स्ट्रक्सन’मै हुन्छु । तसर्थ, फिटनेससम्बन्धी केही गर्नै पर्दैन । लामो समय काम नभएको अवस्थामा मौका मिलाएर साथीभाइसँग मर्निङवाक निस्कन्छु ।
प्रगतिशील पुस्तक प्राथमिकतामा
सशस्त्र जनयुद्धताका धेरै किताब पढें । हिजोआज आफैंलाई विश्वविद्यालय सम्झन्छु । पढ्ने पुस्तक खासै भेटेको छैन । प्रगतिशील पुस्तक पढ्न मन पर्छ । पारिजात, मोहन वैद्य ‘किरण’, कृष्ण सेन ‘इच्छुक’, आहुति, जसराज किराती, भूपाल राई, झमक घिमिरे, राजन मुकारुङलगायतलाई पढ्न छुटाउँदिनँ । विदेशीका हकमा अग्निदीक्षा उपन्यासका लेखक निकोलाई आस्त्रोभस्की प्रिय लाग्छ ।

हिजोआज ‘जिउँदो मानिसका कथा’ संस्मरणात्क निबन्ध र किरात वाम्बुले राई समुदायको सांस्कृतिक पक्षको अध्ययन तथा लेखनमा जुटेको छु । आफूले अध्ययन गरिसकेका किताब पढ्न रहर गर्ने जोकोहीलाई दिने गरेकाले मेरो निजी पुस्तकालय बन्न सकेन ।
सगरमाथा घुम्ने रहर
घुमफिरमा असाध्यै रुचि छ । अहिलेसम्म खोटाङबाहेक १६ जिल्ला टेकेको छु । घुमेकामध्ये साल्पापोखरी रमणीय लाग्यो । जीवनमा एकपटक सिलिचुङ र सगरमाथा क्षेत्र पुग्ने रहर छ ।
लेख्दै रमाउँदै
जीविकोपार्जनका लागि गर्ने कामबाहेक मेरा हरेक गतिविधि राजनीतिक सहभागितामै आधारित हुन्छ । बैठक तथा सभा–समारोहमा सहभागी हुन सातामा एक दिन कामबाट बिदा लिन्छु । फुर्सद पाइहालेमा लेखपढमै रमाउँछु । न्यास्रो लाग्नेगरी परिवारसँग छुट्टिएको छैन ।
प्रीतिको ‘फ्यान’
चेस खेल्न असाध्यै मन पर्छ । बाल्यकालमा गाउँमै फुटबल खेलेको बिर्सेको छैन । फुटबलर प्रीति राईको फ्यान हुँ ।
हैसियतहीन
शक्तिराज भाइले ६ महिनाअघि इनफिनिक्सको मोबाइल सेट उपहार पठाइदिएका थिए । दसैंमा पानीमा परेर गम्भीर अवस्थामा छ । मोबाइल फेरी–फेरी बोक्ने हैसियत छैन । रहर पनि छैन । मोबाइलका एप्लिकेसनमध्ये नोटबुक, फेसबुक र युट्युबलगायत प्रयोग गर्छु ।
टीभीमा ‘टक शो’
मेरोमा टीभी छैन । हेर्न पाउँदा ‘टक शो’ हेर्न मन पराउँछु ।
चिनियाँ चलचित्रको चाहना
पछिल्लो समय चलचित्र हेर्न भ्याएको छैन । हलसम्म नपुगे पनि युट्युबमा चलचित्र हेर्छु । विशेषतः चिनियाँ र देशभक्ति चलचित्र हेर्न जाँगर चल्छ ।
पसिना नबग्दा रोग
ज्यानलाई सन्चै छ । दीर्घरोगले समातेको छैन । अहिलेसम्म ‘होलबडी चेकअप’ गरेको छैन । मैले कोरोनाको खोपसमेत लगाएको छैन । ‘हार्ड वर्क’ गर्ने भएकाले स्वस्थ रहन सकेको हुँ । पसिना बगाउन सकेन भने रोगले समात्छ ।
काम चलाउ भाषण
दस जनाबीच चिया गफ सहजै गर्न सक्छु । उपयुक्त विषय भए १० देखि १५ मिनेटमा भाषण टुंग्याउँछु । परिस्थिति र परिवेश हेरेर भाषण गर्छु । भाषण गर्नअघि तयारी गर्दिनँ ।

कोदाको रक्सीमै खुसी
मादक पदार्थ लिन्छु भन्न लाज लाग्दैन । पाएसम्म कोदाको रक्सी रोजाइमा पर्छ । गाउँको अर्गानिक छ भने पाँचदेखि हजार एमएलसम्म लिन्छु । गाउँबाट जति प्राप्त हुन्छ, त्यही फारो गरेर खान्छु । मात लाग्ने गरी मापसे गरेको छैन ।
नआए पनि गुनगुनाउने
पहिले–पहिले गीत–संगीत बाक्लै सुन्थें । अहिले पातलिएको छ । नारायण गोपाल र तारादेवीको आवाज कर्णप्रिय लाग्छ । मातृभाषाका गीत गाउने बुद्ध र अम्बिका राईलाई पनि सुन्दै आएको छु । गाउन नआए पनि ‘झरेको पातझैैं भयो’ गुनगुनाउँछु ।
सामाजिक सेवामार्फत भुक्तान
जान–अन्जानमा भूल गर्नु मानवीय प्रवृत्ति हो । मैले पनि गरेको छु । आत्मस्वीकारपछि जीवन–पाठ बनिसक्यो । जुन सामाजिक सेवामार्फत भुक्तान गरिसकेको छु । गणितमा अल्छी भएकाले अमृत राई सरको कुटाइ खाएको हिजैजस्तो लाग्छ ।
विश्वास लाग्दैन
मेरो राशी मीन हो । ग्रहदशा हेराउँदिनँ, ठीकै त होला । ग्रहशान्ति गराउने चलन छैन । ग्रह र नक्षत्रको फलप्रति विश्वास लाग्दैन । मेरो भरोसा मेरो मिहिनेतमा भर पर्छ ।
सम्झनाले सताइरहने
संवत् २०६५ सालमा पहिलोपटक प्रेममा परेको थिएँ । उनको घर (रोल्पा) पुग्न नसक्दा विछोड भयो । साथीभाइले आ–आफ्नो प्रेम प्रसंग कोट्याउँदा मलाई पनि उनको सम्झनाले सताउँछ । तरै पनि मैले प्रेम बिहे गरें ।
मुला मालिक
यस्तो वा उस्तो बनाउने ठाउँमा आफू नभए पनि मुलुकलाई हेर्नलायक बनाउने पाए हुन्थ्यो भन्ने लाग्छ । जीवनको लय समात्नेक्रममा काठमाडौंमा रहे पनि उत्तरार्धमा गाउँ फर्केर मुला र अकबरे खुर्सानीको मालिक बन्ने रहर छ ।
अजम्बरी आस
मानिस जन्मेपछि मर्नैपर्छ । मृत्यु उत्पत्तिको अर्को रूप हो । तसर्थ, मृत्युसँग डर लाग्दैन । सशस्त्र जनयुद्धक्रममा पटक–पटक मृत्युको मुखमा पुगेको थिएँ । मृत्यु सहज होस् भन्नेको कमी छैन । भौतिक शरीर अन्त्यपछि बाँच्ने भनेकै जन्म र मृत्युबीच समाज र राष्ट्रका लागि गरिने ऐतिहासिक तथा सामाजिक कामै त हो । जसले हामीलाई अजम्बरी बनाउँछ ।



