
‘देश सुन्दर भएको हेर्ने मन छ,’ साहित्यकार पशपति राईको भनाइ छ, ‘म राजनीतिमा छुइनँ । तसर्थ, मन्त्री, प्रधानमन्त्री बन्ने सपना कहिल्यै देखिनँ । मन्त्री, प्रधानमन्त्री भेटेको सपनासमेत देखेको छैन ।’ साहित्यकार राई नेपाली सेनाका पूर्वहवल्दार हुन् ।
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने उनी साहित्यका नयाँ–नयाँ विधा साइनो, झर, उदक, बाछिटा, मुक्तक, पञ्चांग र चारु लेख्न जाँगर चलाउँछन् । पढ्ने बानी छुटे पनि अडियो बुक बाक्लै सुन्ने हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, खोटाङनिवासी पशपति राईसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
भोकोभन्दा रोटो मिठो
खानेकुराको सोखिन छुइनँ । दालभातले चल्छ । सम्भव भएसम्म सागको तरकारी भइदिए हुन्थ्यो भन्ने लाग्छ । भोकोभन्दा रोटो मीठो भन्ने भनाइ छ । त्यसको पक्षपाती हुँ । सबै खानेकुरा उत्तिकै स्वादिलो मानेर खान्छु । खानकै लागि रेस्टुरेन्ट जान्न । खानेकुराको सोखिन नभएर होला पकाउने खासै रुचि छैन । तर, घरमा रहँदा श्रीमतीलाई सहयोग गर्न भान्सामा पस्छु ।
कपाल झर्न थालेपछि ‘क्याप’
घरबाहिर निस्कँदा टी–सर्ट, सर्ट र पाइन्ट लगाउँछु । घरमै रहँदा हाफपाइन्ट, भेस्ट र ट्राउजर प्रयोग गर्छु । हेर्दा आफूलाई सुहाउनेजस्तो लागेको पोसाक किन्छु । रेडिमेड कपडै रोजाइमा पर्छन् । यदाकदा कपडा सिलाएर लगाउँछु । आफूलाई पायक पर्ने टेलर्स पुग्छु । कपडाको ब्रान्डप्रति त्यति मतलब राख्दिनँ । कपाल झर्न थालेकाले कहिलेकाहीं क्याप लगाउँछु ।

आधा घन्टा ‘रनिङ’
बिहान–बिहान आधा घन्टा हल्का रनिङ गर्छु । ज्यान तानाकतुनुक पार्छु । त्यसपछि नुहाइधुवाइ गर्छु । अहिलेसम्म डाइटिङ गरेको छैन । बिहान खाजा, दिउँसो र साँझ खाना खान्छु । पछिल्लो समय ढाडमा समस्या देखापरेकाले चिकित्सकको सल्लाहअनुसार फिजियोथेराफी गर्दै आएको छु ।
पढ्ने होइन सुन्ने
पढ्ने बानी छुटेको थुप्रै भइसक्यो । तर, अडियो बुक सुन्छु । केही समयअघि अमर न्यौपानेको ‘सेतो धरती’ उपन्यास सुनिसकें । हिजोआज नीलम कार्की ‘नीहारिका’को ‘योगमाया’ उपन्यास सुन्दै छु । विशेषतः साहित्य, दर्शन र इतिहासका पुस्तक पढ्न/सुन्न जाँगर चल्छ । कवि शिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटा मन पर्छन् । विदेशी लेखकलाई त्यति पढेको छैन ।
भर्खर–भर्खर लेख्न सिक्दै छु । साहित्यका नयाँ–नयाँ विधा साइनो, झर, उदक, बाछिटा, मुक्तक, पञ्चांग र चारु लेख्न प्रयासरत छु । मेरो निजी पुस्तकालयमा गन्न सकिने पुस्तक छन् । पुस्तकमा त्यति धेरै खर्च गरेको छैन ।
दुबई लोभलाग्दो
घुमफिरमा रहर छैन । नेपालका ५५ जिल्ला पुगेको छु । जागिरको सिलसिलामा दुई/तीन देश घुमेको छु । घुमेकामध्ये दुबई असाध्यै मन पर्यो ।
अहँ गएकै छैन
फुर्सद त्यति हुँदैन । वैदेशिक रोजगारीअन्तर्गत दुबईमा छु । ड्युटी गर्दागर्दै लखतरान पर्छु । तर पनि ड्युटीले थकाइ लाग्यो भनेर बिदा लिएको छैन । नेपालमा हुँदा फुर्सद पाइहालेमा परिवारसँगै रमाउँथें । सरसफाइ गर्थें । नेपालमै रहँदा ड्युटी सकिएपछि परिवारसँगै हुन्थें । कहिलेकाहीं परिवारसहित घुम्न निस्कनु स्वाभाविकै हो । त्यतिबेला रेस्टुरेन्टमा खानैपथ्र्यो । तर, परिवारसहित चलचित्र हेर्न गएकै छैन ।

नेपाल आर्मी पहिलो रोजाइ
आफूले नखेले पनि फुटबल असाध्यै मन पर्छ । खेलै भए पनि जुवातास मन पर्दैन । नेपाल आर्मी र अर्जेन्टिना मलाई मन पर्ने फुटबल टिम हुन् । क्रिकेटबारे अनभिज्ञ छु ।
नबिग्रेसम्म प्रयोग
मैले प्रयोग गर्ने मोबाइल सेट सामसुङको ग्यालेक्सी ए–१२ हो । यसको २५ हजार रुपैयाँ परेको थियो । यो चार वर्षअघि खरिद गरेको हुँ । नबिग्रेसम्म यही चलाउँछु । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटरलगायत चलाउँछु । मोबाइलमा गेम खेल्ने बानी छैन ।
छैन टीभी
नढाँटी भन्दा मेरोमा टीभी छैन । टीभीमा हेर्ने सबैजसो कार्यक्रम मोबाइलमै हेर्छु । समाचार, टेलिसिरियल, टक शो असाध्यै मन पर्छ । ‘जुठे’ टेलिसिरियल नछुटाई हेर्छु । राजेश हमाल, भुवन केसीलगायत पुराना कलाकार मन पर्छ ।
सन्तुलनले स्वस्थ
ज्यानलाई सन्चै छ । सैनिक हुँदा कवाज खेल्ने तालिम गर्दा ढाड चस्केको थियो । बल्झेर उपचार गराएको ६ महिना बिते पनि ठीक भएको छैन । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । रक्तचाप सामान्य छ । जीवनमा हरेक कुराको सन्तुलन मिलाउन सक्यो भने मान्छे स्वस्थ रहन सकिन्छ ।
तर, रहरमात्रै
समय मिलाएर कहिलेकाहीं गीत–संगीत सुन्छु । नारायण गोपाल, अरुणा लामालगायत गायक–गायिकाको आवाज श्रवणीय लाग्छ । नारायण गोपालको ‘केही मीठो बात गर’ शीर्षाकृत गीत जानी–नजानी गुनगुनाउँछु । तर, रहरमात्रै ।
भर नपर्ने
मेरो राशी कन्या हो । ग्रहदशा कस्तो भनेर हेराएको छैन । ग्रहशान्तिसमेत गराएको छैन । हातमा मणि–माणिक्यसमेत लगाउँदिनँ । ग्रह र नक्षत्रको फलप्रति त्यति ज्ञान नभएकाले भर पर्दिनँ ।
आपाकै भर
अहिलेसम्म घर बनाएको छैन । आपाकै घरमा छु ।

स्कुल ढिलो पुग्दा सजाय
जान–अन्जानमा समेत भूल गरेजस्तो लाग्दैन । भूल गरेको थाहा पाउनसाथ क्षमा मागिहाल्छु । समयमै गृहकार्य बुझाउन नसक्दा र स्कुल नपुग्दा कुटाइ खाएको छु ।
पसिना पक्षधर
कपालमा कहिलेकाहीं तेल लगाउँछु । यदाकदा कालो मेहेन्दी लगाउँदै आएको छु । फेसियल गर्ने र अनुहारमा क्रिम लगाउने बानी छैन । पसिना पक्षधर भएकाले शरीरमा सेन्ट छर्किन्न । अहिलेसम्म साउना, बाथ, स्टीम, बडी मसाज गरेको छैन ।
आमा पहिलो प्रेम
आमा मेरो पहिलो प्रेम हो । अर्कोखाले प्रेम पर्दै परेन । हामीले मागीबिहे गरेका हौं ।
सपनामा पनि आउँदैन
देश सुन्दर भएको हेर्ने मन छ । म राजनीतिमा छुइनँ । तसर्थ, मन्त्री, प्रधानमन्त्री बन्ने सपना कहिल्यै देखेको छैन । मन्त्री, प्रधानमन्त्री भेट्ने सपना पनि देख्दिनँ ।
सहज मृत्युको कामना
जन्मेपछि मर्नैपर्छ । मृत्यु प्रकृतिको नियम हो । मृत्युसँग डर लागे पनि परेको बेला ज्यान दिन सक्छु । द्वन्द्वकालमा थुप्रैपटक मृत्युको नजिक–नजिक पुगेको थिएँ । मृत्यु सहज होस् । मर्नुअघि धेरै कष्ट खेप्न नपरोस् ।



