आफूले थुकेको थुक अरूले चाटिदेलान् भन्ने लोभले आफैं चाट्ने कथित् अध्यक्ष


 

हलेसी (खोटाङ) । ‘मेरो शिरको टोपी कुन हुस्सुले उडायो’ भन्ने नेपाली भनाइ प्रचलित छ । प्रचलित भनाइले शिरको टोपी उडाउने होइन, उडाइमाग्नेलाई कडा व्यंग्य गरेको छ । यही व्यंग्यात्मक भनाइ श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति कथित् अध्यक्ष हर्कराज राईको व्यवहारमा लागू भएको छ ।

श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति कथित् अध्यक्ष राईले हलेसीमा दर्शनार्थीले चढाएको सुन–चाँदी राख्ने जिम्मा लिएका छन् । हुन त आधिकारिक रूपमा उनी कोही पनि होइनन् । तर, दर्शनार्थीले चढाएको सुन उनले आफ्नैपाराले राखेको चर्को आलोचना सुनिन्छ । वास्तविकता बुझ्न खोज्दा सुन राखिएको टेबल र सोकेसको चाभी आफूले हराएको उनले जवाफ दिए । सुन राख्ने टेबल र सोकेसको चाभी आफूले मात्रै बोक्ने गरेका हर्कराज राई ‘नमुना हुस्सु’ रहेछन् भनेर डाँडाबजार हलेसीतिर चिया गफका विषय बन्ने गरेका छन् ।

अन्ततः स्याल कराउनु र बाख्रा हराउनु एकैपटक भयो । यो मीठो संयोगमात्रै हो कि लापरबाही ? सुन–चाँदी राखिएको टेबल र सोकेसको चाभी हराउनु भनेको लापरबाही हो कि होइन ? श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष हुँ भन्दै गुड्डी हाँक्नेले यस्तो लापरबाही गर्छन् भने दर्शनार्थीले हलेसीमा चढाएको सुन उनले व्यक्तिगतजस्तै बनाएर राखेका छैनन् भन्न सकिँदैन भन्दै हलेसी बजारभरि कानेखुसी गरिन्छ । हुन पनि हो, हावा नचली पात हल्लिँदैन ।

हलेसीमा चढाइएको सुन व्यक्तिगत होइन । तर, कथित् अध्यक्षले व्यक्तिगतजस्तो बनाएर राखेको सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भइसकेको छ । वास्तविकता बुझ्न तुवाचुङ डटकमले हर्कराज राईलाई टेलिफोन गरेको थियो । राईले हलेसी सूचना केन्द्रको दराजमा सुन राखेको जिकिर गरे ।

सुन देखाउन अनुरोध गरियो । उनले सुन–चाँदी राखेको दराजको चाभी हराएको बताए । कार्यालयमा सुन राखिएको छ कि छैन भनेर हेर्ने उत्सुकता देखाएपछि टेबल र सोकेसको चाभी फोर्ने निष्कर्षमा पुगे । नभन्दै फर्निचर सञ्चालक विनोद विश्वकर्मालाई टेलिफोन गरेर चार थान नयाँ चाभी लिएर हलेसी सूचना केन्द्र आउनू भने । फर्निचर सञ्चालक विश्वकर्माले उद्धव इलेक्ट्रिक एन्ड हार्डवेयर सेन्टरबाट चार थान नयाँ चाभी र कटिङ चक्कु बोकेर आए । विश्वकर्माले ढुंगाको सहायताले पुरानो फोरेर नयाँ चाभी हालिदिए । काम सकिएपछि उनले हर्कराजलाई चाभी खरिद गरेको बिल थमाए । बिल लिँदै पारिश्रमिक कति दिनुपर्ने हो भने । विनोदले घन्टाको १५० चलेको छ, मिलाएर दिनु न भने । तर, हर्कराजले न बिलको रकम भुक्तानी गरे न त विनोदको पारिश्रमिक नै ।

नयाँ चाभी किन्दा कति रुपैयाँ लाग्यो भनेर बिल हेर्न माग्दा हर्कराज राईले देखाउन मानेनन् । उनले उल्टै प्रश्न गरे, ‘नयाँ चाभी फेरेको र विनोदको पारिश्रमिक म आफैंले तिर्छु । बिल किन देखाउनुपर्यो ?’ व्यक्तिगत रूपमा बुझाउँछु भन्नेले बिल र श्रमिकको पारिश्रमिक उधारो किन राखे ? समितिकै नाममा बिल काट्न किन लगाए ? ‘मन्दिरको भेटीघाटीमा तर मार्न पल्केका राईले गर्छन् व्यक्ति खर्च ?,’ हलेसी डाँडाबजारका स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा दाबी गरे, ‘औंसीको रातमा चन्द्रमा देखिन्छ ? देखिन्छ भनेमात्रै हर्कराज दाइले व्यक्तिगत खर्च गर्नुहुन्छ । हामीले मान्छे नचिनेको हो र ?’

डाँडाबजारका स्थानीयले गरेको टिप्पणी सत्यको नजिक–नजिक छ । हर्कराज राई श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होइनन् । न त प्रतिनिधि नै हुन् । राई अध्यक्ष हुन् भने उनको नेतृत्वमा बनेको समितिसम्बद्ध पदाधिकारी र सदस्य खै त ? उनको अध्यक्षतामा गठित समिति विवादमा मुछियो । उनी आफैंले म श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा नरहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको चार वर्ष बितिसकेको छ ।

विवादित समितिको अध्यक्ष नरहेको भन्दै विज्ञप्ति निकाल्ने राईले कहीं अध्यक्ष त कतै प्रतिनिधि हुँ भन्दै हिँड्ने गरेका छन् । कतिपय कागजपत्रमा अध्यक्षको हैसियतमा हस्ताक्षरसमेत गर्न लाज मानेका छैनन् । यो त लोभीपापी प्रवृत्ति भएन र ? कतिसम्म लोभ गरेको देखिन्छ भने उनी आफूले थुकेको थुक अरूले चाटिदेलान् भन्ने लोभले आफैं चाट्न पछि पर्दैनन् । लाजको पसारो ।

‘इमान–जमान भएकाहरू स्वविवेकले निष्क्रिय रहे । उनीहरूले कहिल्यै म समितिको यो वा त्यो भूमिकामा छु भनेर कहिल्यै भनेनन् । भेटीघाटीमा आँखा लगाएनन् । तर, हर्कराज काका त गाईबस्तुमा किर्ना टाँस्सिएजस्तै गरी समितिमा टाँस्सिनुभयो हौ,’ हलेसी माल्खुका एक स्थानीयको भनाइ छ, ‘हलेसीमा चढाइएको भेटीघाटीको स्वाद बिछट्टै हुँदोरहेछ । त्यही भएर त होला उहाँ आधिकारिक नभए पनि कहिले अध्यक्ष हुँ भन्नुहुन्छ त कहिले प्रतिनिधि । यो त दुईजिब्रे भएन र ?’

नयाँ चाभी खरिद गरेको बिल हर्कराजले देखाउन नमाने पनि तुवाचुङ डटकमले उद्धव इलेक्ट्रिक एन्ड हार्डवेयर सेन्टरबाट प्राप्त गरेको छ । बिलमा चार थान ‘घर्रा लक’को ६ सय र कटिङ चक्कुको ३० रुपैयाँ उल्लेख छ । भेटीघाटीमा तर मारिरहनेलाई ६३० रुपैयाँ धेरै नलाग्ला । तर पसिना बगाएर कमाउनेलाई ६३० थोरै होइन । हर्कराज राईले व्यक्तिगत रूपमा ६३० बेहोर्थे भने काम सकिनासाथ किन भुक्तानी गरेनन् । राईले जब उधारोमा काम लगाए, त्यहाँबाट प्रस्ट हुन्छ कि व्यक्तिगत रूपमा खर्च गर्न उनको दाँतबाट पसिना आयो ।

बाहिरबाट हेर्दा हलेसी जति अदभुत् र सुन्दर देखिन्छ, भित्रै त्यत्तिकै कुरूप बन्दै गएको छ । हलेसीमा पाकेको स्वार्थको खिचडी जोकोहीले खान सक्ने अवस्थामा छैनन् । तर, हलेसीमा चढाइएको भेटी दुरुपयोग गर्नेजति कोही  पनि उँभो लागेका छैनन् । कसैको के त कसैको केही न केही बिमाख भएकै छ । त्यो दृश्य देख्दा लाग्छ– हलेसीमा आची गर्नेलाई भन्दा देख्नेलाई लाज लागिरहेको छ ।

लाजको पसारो । हलेसी महादेवले हर्कराज राईको अझै कल्याण गरून् ।

संवत् २०७५ देखि उनले सुन–चाँदी राख्ने जिम्मा लिएका छन् । चार वर्षमा कति सुन–चाँदी जम्मा भएको छ भनेर उनी आफैंलाई थाहा छैन भनेपछि हर्कराज राई कति होशप्रसाद रहेछन् ? हलेसी महादेवलाई नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्