ड्यु नपिऊँ



डिकुवा (खोटाङ) ।  सहर–बजारमात्रै होइन, गाउँघरमा समेत ड्यु पिउनेको कमी छैन । पानी अभाव रहेको गाउँठाउँमा खानेपानी माग्दा ड्यु दिने समाचार सञ्चार (प्रकाशन तथा प्रसारण) माध्यममा सार्वजनिक नभएका होइनन् ।

२० वर्षअघि र पछि गाउँघरको प्रचलन फेरिँदो छ । स्थानविशेषमा धर्म परिवर्तन गराएर मादक पदार्थ खान छुटाइएको दृष्टान्त छँदै छन् । स्थानविशेषमा क्रिश्चियन र किरात धर्मका अनुयायीले मादक पदार्थ खान छाडे पनि विकल्पमा कोल्ड ड्रिङ्क्स (कोक, ड्यु, फ्यान्टा, स्प्राइट, मिरिन्डा, इनर्जी ड्रिङ्क्स) लाई प्राथमिकतामा राखेका छन् । चिकित्सकले कोल्ड ड्रिङ्क्स खानु स्वास्थ्यका लागि हानिकारक भन्दै आएका छन् । चिकित्सकले त्यसो भने पनि निष्फिक्री खानेहरू बढ्दै गएका छन् । कोल्ड ड्रिङ्क्स अत्यधिक पिउनाले पूर्णबहादुर राई (चिहानटार, दाम्ली) को निधन भएको थियो ।

हिजोआज गाउँघरमा घरेलु मादक पदार्थ कमै पाइन्छन् । दही, मोही त कुरै नगरौं । मादक पदार्थ र दही, मोही नपाइए पनि पाहुनालाई ड्युले स्वागत गरिन्छ । गाउँघरमा हुने औपचारिक तथा अनौपचारिक कार्यक्रमदेखि बसिबियाँलो गर्दासमेत ड्युले ‘मार्केट’ लिएको छ । माथिल्लो घर पुग्दा ड्यु । तल्लो घर झर्दा पनि ड्यु । जहाँ, जतासुकै जाउँ, मात्रै ड्यु खाऊँ ।

त्यसबाट हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवासमेत अछुतो रहन सकेको छैन । तसर्थ, ड्यु नखाई धरै छैन । हुँदाहुँदा पानीभन्दा ड्यु सस्तो अनुभूति गर्न थालिएको छ । अब भन्नूस् त उनीहरूले ड्यु कति खाए होलान् ? दुई सयजना उपस्थित हुने कार्जेमा ड्यु खुवाइयो भने १० हजार रुपैयाँले पुग्दै पुग्दैन ।

हिजोआज गाउँघरतिर पानी बोक्ने गाग्रो देख्न पाइँदैन । गाग्रोको ठाउँ ड्युका बोतलले काम चलाइएको छ । पहिले–पहिले माटाका घैंटोमा पानी भरिन्थ्यो । त्योभन्दा पहिले चिन्डोमै पानी भर्ने गरिन्थ्यो । हिजोआज चिन्डो र घैंटोमात्रै होइन, पित्तल तथा सिलाबरको गाग्रोसमेत कमै देखिन्छन् । त्यसको साटो प्रत्येक घरमा पानी भर्ने/सञ्चित गर्ने उपयुक्त भाँडो ड्युका बोतल भएका छन् । ड्युका बोतलमा पानी बोक्न त्यत्तिकै सहज मानिन्छ ।

‘ड्युको बोतल फुट्दैन । जे बोके पनि हुन्छ । लडाइहाले पनि फुटिहाल्दैन,’ दाम्ली माध्यमिक विद्यालय डिकुवाका पूर्वप्रधानाध्यापक गमराज राईको बुझाइ छ, ‘बालबालिकालाई धारा/पँधेरोसम्म पुगेर पानी ल्याउन सजिलो पनि भयो । गाग्रोमा पानी भर्न पठाउँदा लडाउला कि फुटाउला भन्ने पीर ।’

पूर्वप्रअ राईले अध्यापन थालेको १५ वर्ष नाघिसक्यो । ‘यस अवधिमा मैले ड्युकै बोतलमा बिहान, बेलुका पानी बोकें,’ उनले थपे, ‘मैले बोकेको पानी संकलन गरेको भए सानो–सानो सुनकोसी बन्थ्यो ।’ तसर्थ, पानी सञ्चित गर्न ड्युका बोतल उपयुक्त मानिएको छ । डिकुवा दाम्लीका धारामा बिहान बेलुका ड्युको बोतलमा पानी भर्न पालो पर्खनेको लर्को देखिन्छ । दाम्लीका एउटै घरमा ४०/५० वटा ड्युका बोतलमा पानी भरेर राखिएका हुन्छन् ।

तिर्खा लागेको बेला ड्यु पिउँदा आँत शीतल पारिन्छ । सामान्यतया तिर्खा मेटाउन ड्यु खाने प्रचलन छ । हिजोआज हिमाल, पहाड, तराई सबैतिर कोल्ड ड्रिङ्क्स (कोक, ड्यु, फ्यान्टा, स्प्राइट, मिरिन्डा, इनर्जी ड्रिङ्क्स) खानेको कमी छैन ।
२० वर्षअघि मात्रै खोटाङका जनजाति बाहुल्य बस्तीमा घरेलु मादक पदार्थको वर्चस्व थियो । प्यासमात्रै होइन, भोक लाग्दासमेत जाँड खाने गरिन्थ्यो । तिर्खा मेटिन्थ्यो । पाहुनापाछालाई मात्रै होइन, घाँस,

दाउरा, मेलापात गरेर फर्केपछि जाँड खाने चलन थियो । जाँड खाएपछि भोक, प्यास मेटिनुका साथै शरीरमा छुट्टै प्रकारको शक्ति प्राप्त हुन्थ्यो । यो परम्परा एकादेशको कथाजस्तै बन्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्