
सामुदायिक विद्यालयका प्रधानाध्यापकको जीवनशैली कस्तो हुँदो हो ? सम्बन्धित विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकलाई जिज्ञासा लाग्नु अस्वाभाविक होइन । प्रधानाध्यापक र अन्य शिक्षकलाई पनि त्यस्तै लाग्न सक्ला । विद्यालय समयबाहेक उनले के–के गर्लान् ?
‘फुर्सद कसैलाई हुँदैन । फुर्सद निकाल्ने हो,’ सरस्वती माध्यमिक विद्यालय अर्खौले खोटाङका प्रधानध्यापक नवीन चाम्लिङ भन्छन्, ‘फुर्सद पाइहालेमा वा निकालेर घरपरिवार र सामाजिक काममा समय दिन्छु ।’
जतिसुकै व्यस्त भए पनि बिदा लिएर आराम नगर्ने प्रधानाध्यापक नवीन चाम्लिङसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
प्राथमिकतामा ढिँडो
सबै खानेकुरा उत्तिकै स्वाद मानी–मानी खान्छु । तर, रोज्ने सुविधा पाएमा ढिँडो प्राथमिकतामा पर्छ । खानकै लागि होटल तथा रेष्टुरेन्ट जान्न । पुगिहालेमा मकैभटमास र साँधेको गुन्द्रुक माग्न बिर्सन्न । भान्छामा पस्न त्यति रुचि छैन ।
रोजाइ नेपाल ‘मेड’
सामान्य ‘फर्मल’ पोसाक लगाउँछु । एकपटक सिलाएको पोसाक वर्षाैं पुग्छ । तसर्थ, खासै खर्च हुँदैन । पोसाक फेरी–फेरी लगाउने बानी छैन । जाडोमा धेरैजसो ‘रेडिमेड’ र अन्य समय सिलाएकै पोसाक लगाउँछु । पोसाक सिलाउन परे हलेसी टेलर्स पुग्छु । ‘ब्रान्डेड’ पोसाक लगाउँदिनँ । तर, जुत्ताचाहिँ नेपाल ‘मेड ब्रान्ड’ मन पर्छ । नेपाली टोपी अनिवार्य लगाउँछु ।
कहिलेकाहीं ‘मर्निङवाक’
अहिलेसम्म ‘फिटनेस’सम्बन्धी कुनै शारीरिक अभ्यास गरेको छैन । ‘डाइटिङ’ पनि गर्दिनँ । कहिलेकाहीं ‘मर्निङवाक’ निस्कन्छु ।

गिजुभाईको पाठक/प्रशंसक
शिक्षण पेसागत विकाससँग सम्बन्धित पुस्तक अध्ययन गर्दै छु । आफ्नै पेसासँग सम्बन्धित पुस्तक र उपन्यास पढ्न जाँगर चल्छ । गिजुभाईको पाठक र प्रशंसक हुँ । निजी पुस्तकालय बनाउने योजनामा छु ।
राराताल घुम्ने रहर
घुमफिरमा धेर–थोर रुचि छ । नेपालका आधाउधी जिल्ला घुमेको छु । अहिलेसम्म विदेश यात्रा जुरेको छैन । घुमेकामध्ये पोखरा असाध्यै मन पर्यो । राराताल घुम्न मन छ ।
फुर्सदमा सामाजिक काम
फुर्सद कसैलाई हुँदैन । फुर्सद निकाल्ने हो । जतिसुकै व्यस्त भए पनि बिदा लिएर आराम गरेको छैन । फुर्सद पाइहालेमा वा निकालेर घरपरिवार र सामाजिक काममा समय दिन्छु ।
मेस्सीमोह
सबै खेलप्रति उत्तिकै श्रद्धा छ । तर, फुटबल अलि धेरै मन पर्छ । म मेस्सीको फ्यान हुँ । नेपाली महिला फुटबल खेलाडीमा सावित्रा भण्डारी ‘साम्बा’ र प्रीति राई मन पर्छ ।
उपहार सदुपयोग
सामसुङ ग्यालेक्सी एस–२४ प्रयोग गर्दै आएको छु । यो पनि आफन्तबाट उपहार प्राप्त भएको हो । एउटै मोबाइल वर्षौं टिक्छ । पुरानो बिग्रेपछि यो मोबाइल उपहार प्राप्त गरेको थिएँ । आवश्यकताका आधारमा सामाजिक सञ्जाल प्रयोग गर्नु स्वाभाविकै हो ।
टीभीविहीन
मेरोमा टीभी छैन । तसर्थ, हेर्दिनँ ।
नहेरेको थुप्रै
चलचित्र नहेरेको थुप्रै भयो । आजसम्म ६ पटक चलचित्र हेरेको छु । हेरेकामध्ये थ्री इडिएट्स, तारे जमिन पर र पीके असाध्यै मन पर्यो ।

‘फिट एन्ड फाइन’
ज्यानलाई सन्चै छ । हालसम्म दीर्घरोगले समातेको छैन । समय–समयमा ‘होलबडी चेकअप’ गर्छु ।
नआए नि गुनगुनाउने
गीत–संगीत सुन्छु । नारायण गोपालको आवाज कर्णप्रिय लाग्छ । गाउन नआए पनि पुराना सदावहार गीत गुनगुनाउँछु ।
अहिलेसम्म आपाकैमा
अहिलेसम्म घर बनाएको छैन । आपाकै घरमा अटाएका छौं ।
कर्मप्रति इमानदार
मेरो राशी कुम्भ हो । ग्रहदशाप्रति विश्वास छैन । कर्मप्रति इमानदार र आफ्नो कामप्रति सदैव कर्तव्यनिष्ठ भएर लाग्नुपर्छ । अहिलेसम्म ग्रहशान्ति गराएको छैन । ग्रह र नक्षत्रको फलप्रति विश्वासै लाग्दैन ।
केही नाइँ
कपालमा जेल, तेल केही लगाउँदिनँ । फेसियल गर्ने बानी छैन । अनुहारमा क्रिमसमेत लगाउँदिनँ । शरीरमा सेन्ट छर्कन्न ।
भाग्न नसकिने
मृत्यु सत्य हो । मृत्युदेखि भाग्न सकिँदैन । भाग्न नसकेपछि मृत्युदेखि किन डराउनु ? २०६२/०६३ को आन्दोलनमा पोखरामा थिएँ । महेन्द्रपुलनजिकै भीमसेन दाहाल आफ्नै अघिल्तिर ढले । (त्यतिबेला राजतन्त्र फाल्न १९ दिने आन्दोलन चलिरहेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलन दबाउन बेस्सरी बल प्रयोग गरेका थिए । त्यसताका म पृथ्वीनारायण क्याम्पसमा स्नातक अध्ययनरत थिएँ ।) आफ्नै अघि ढलेका दाहाल सहिद भए ।
जन्मेपछि मर्नैपर्छ । ढिलो छिटोमात्रै हो । त्यसो भने पनि मृत्यु सरल, सहज होस् भन्ने लाग्दोरहेछ ।



