
‘आमाले दोस्रो बिहे गरेपछि उनीसँगै सानो बुवाकहाँ बस्थें,’ पत्रकार महासंघ खोटाङ सचिव राजकुमार सरगमले नढाँटी सुनाए, ‘घरको दुःख, अरूले हेर्ने दृष्टि, लगाउने कटु वचनले दुई–दुईपटक मृत्युको मुखमा पुगेको थिएँ ।’
गोरखापत्र दैनिक खोटाङ संवाददाता सरगमले आमालाई सम्झेर मृत्युलाई जिते । जस्तोसुकै दुःख आइपरे पनि आमाले उनलाई कहिल्यै भोकै राखिनन् । ‘मैले पनि त आमालाई भोकै, तिर्खै राख्न हुँदैन भन्ने क्लिक भयो,’ सञ्चार उध्यमीसमेत रहेका रूपाकोट खबर डटकमका प्रकाशक/सम्पादकको ठम्याइ छ, ‘त्यही सोंचले मदेखि मृत्युसमेत डरायो ।’
मृत्युको नजिक–नजिक पुगेर पनि आमाकै लागि बाँचेका पत्रकार राजकुमार सरगमसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :
मासु नखाए मरिहाल्छु
साता दिनसम्म मासु खान पाइएन भने बाँचिँदैन लाग्छ । सबै खानेकुरा एकातिर र मासुभात अर्कोतिर राख्ने हो भने मासुभातै रोजाइमा पर्छ । बाहिर पेटभरि खाए पनि घरमा थोरै भात खाइनँ भने निद्रा पर्दैन । कोठामा एक्लै भएको बेला कैयौंपटक भोकै सुतेको छु । पकाउने जाँगर नचले पनि मासु छ भने खाना पकाउन अघि सरिहाल्छु । खानकै लागि होटल तथा रेस्टुरेन्ट पुग्दिनँ । कामविशेषले विभिन्न शीर्षकमा पुग्नु बेग्लै कुरा भयो ।
श्रीमतीको रोजाइमै पोसाक
कक्षा ४ पढ्दासम्म कट्टु र भेस्ट लगाउँथें । त्यतिबेलाको दुःख आजसम्म बिर्सेको छैन । पोसाकको ब्रान्ड वास्ता गर्दिनँ । सामान्य कपडै लगाउँछु । किनमेलका लागि जुन पसल पस्छु, त्यहाँ भएका कपडा खरिद गर्छु । बिहेपछि श्रीमतीको रोजाइमै कपडा किनिइन्छ । प्रायः रेडिमेड कपडै लगाउँदै आएको छु ।
बिहानभरि ओछ्यानमै
पैदल यात्रा गर्दा ठिकठाक थिएँ । मोटरसाइकलमा यात्रा गर्न थालेपछि मोटोपन बढेको छ । तर पनि अहिलेसम्म दीर्घरोग देखापरेको छैन । जाँगर चलिहाल्यो भने कोठामै सामान्य योगा गर्छु । फिटनेसकै लागि अरू केही गरेको छैन । बिहानभरि ओछ्यान छाड्ने मन लाग्दैन ।
प्रेममै प्रेम
पहिल्यैदेखि कथा, कविता, मुक्तक, गजल, प्रेमसम्बन्धी उपन्यास अध्ययन गर्थें । रेडियोमा प्रेमसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थिएँ । केही समययता फरक धारका पुस्तक पढ्न थालेको छु ।

विषयअनुसार मन पर्ने लेखक फरक हुन्छन् । अहिलेसम्म सुविन भट्टराई र बुद्धिसागरलाई पढ्न छुटाएको छैन । ‘तपाईंको जित’ शिव खेरा (भारत)को पुस्तकले मेरो जीवनमा केही परिवर्तन ल्याएको छ । मसँग १५/१६ थान पुस्तक छन् । पुस्तकमा खासै खर्च गरेको छैन । अब भने अध्ययनलाई समय दिने योजनामा छु । मोबाइल चलाउने बानीले जीवनमा धेरै असर गरेको छ ।
१८ वर्षमै कतार
घुमफिरका लागि योजनाबद्ध योजना बनाएको छु । तर, सार्थकता पाएको छैन । योजना धेरै बनाउने तर कार्यान्वयन कमै गर्नेमा पर्छु । घुम्नकै लागि भनेर कास्कीको पोखरामात्रै पुगेको छु । मनाङ र मुस्ताङ पुग्न असाध्यै रहर छ । विदेशमा कतारसम्म पुगेको छु । त्यो पनि घुम्न होइन मजदुरीका लागि । रोजगारीका सिलसिलामा १८ वर्षमै कतार पुगेको थिएँ ।
क्रिकेट–क्रेज
केही वर्ष अघिसम्म भलिबल खेल्थें । आफूले खेलेकाले भलिबल मन पथ्र्यो । पछिल्लो समय क्रिकेट मन पर्छ । नेपालले खेलेको क्रिकेट नछुटाई हेर्छु । एनपिएलको विराटनगर किङ्स र आइपिएलको चेन्नई र पञ्जाबको समर्थक हुँ । विदेशी फुटबल क्लबमा रियल म्याड्रिड अनि ब्रालिज र पोर्चुगलले जिते हुन्थ्यो भन्ने लाग्छ ।
२ लाखको मोबाइल
मोबाइल जीवनकै अपरिहार्य बनिसकेको छ । काम हुँदा र नहुँदा पनि मोबाइल नभई हुँदैन । मसँग सामसुङका दुई मोबाइल छन् । एउटा ३५ हजार र अर्को दुई लाखमा खरिद गरेको हुँ । विशेषतः भिडियोसम्बन्धी काम गर्ने भएकाले राम्रो मोबाइल नभई हुँदैन । तसर्थ, किस्ताबन्दीमा दुई लाख रुपैयाँको मोबाइल किनेको हुँ । बाँकी पैसा कसरी तिर्ने भनेर बेला–बेला निद्रा बिथोलिन्छ । सामाजिक सञ्जालबाहेक मोबाइलबाटै समाचारका भिडियो छायांकन, रेकर्डिङ, मिक्सिङ गर्छु ।
टेलिभिजन बन्दप्रायः
घरमा टेलिभिजन भए पनि नखोलेको लामो समय भयो । टेलिभिजन खासै हेर्दिनँ । पहिले–पहिले गाउँमा एकादुई घरमा मात्र टेलिभिजन हुन्थे । राति अबेरसम्म नेपाली चलचित्र त्यसमै हेरिन्थ्यो । फुटबल र क्रिकेट विश्वकपलगायत अन्य खेलसमेत टेलिभिजनमै हेरियो/हेरिन्थ्यो । झन्डै ६ वर्ष रेडियोमा काम गरें । तसर्थ, कहिलेकाहीं रेडियो सुन्छु ।
चलचित्र हेर्न युट्युबकै भर
चलचित्र हेर्न असाध्यै मन भए पनि खोटाङमा सिनेमाहल छैन । युट्युबमा सार्वजनिक भएपछि दयाहाङ राई, प्रदीप खड्का, सौगात मल्ल र विपिन कार्कीलगायतका चलचित्र हेरिहाल्छु । हिन्दी भाषामा डबिङ गरिएको मद्रासी चलचित्र पनि हेरेकै हुन्छु । चलचित्र नाइँ नभन्नु ल, कबड्डी, प्रकाश र आशिकी–२ र मगधिरा धेरै पटक दोहार्याएर हेरेको छु ।
भाषण सुन्ने बढी
हिजोआज ‘भाषण’ सबैभन्दा मन नपर्ने शब्द बनेको छ । पेसाअनुसार सबैभन्दा धेरै सुन्नुपरेकाले होला । राजनीतिक दलसम्बद्ध नेता तथा कार्यकर्ताले दिवंगत मानिसको घरसम्म पुगेर भाषण गर्न थालेका छन् । कार्यक्रमको विषय एकातिर भए पनि हातमा माइक परेपछि नेताले अनेकथरी गफ दिएर मानिसलाई वाक्कदिक्क बनाएका छन् ।

नागरिकलाई भुँइमा राखेर आफू भने चिटिक्क पारिएको मञ्चमा भाषण गर्नु नेताको धर्मै होला । तसर्थ, म भाषणविरोधी हुँ । जुनकुनै कार्यक्रममा विषयमा आधारित रहेर जसलाई जति ज्ञान छ, त्यति मात्र कुरा राखिदिए हुन्थ्यो भन्ने पक्षमा छु । आफूले समेत राख्नैपर्ने ठाउँमा विषय अध्ययन गरेरमात्रै भाषण गर्छु । पेसाअनुसार आफ्ना कुरा राख्नेभन्दा सुन्ने बढी गर्छु ।
खाने र छाड्नेक्रम जारी
मद्यपानका लागि आग्रह गरिएमा नाइँ भन्दिनँ । मैले खाएको मद्यपान संकलन गर्ने हो भने गाईबस्तुलाई पानी खुवाउन गाउँघरमा निर्मित सानोतिनो कुवा भरिन्थ्यो होला । खाने र छाड्नेक्रम चलिरहेकै छ । आफूलाई नभएर उसलाई खानेगरीमात्रै मद्यपान गर्ने प्रवृत्ति छ । स्थानविशेषअनुसार पाइने मद्यपान खानुको विकल्प हुँदैन ।
सुरुमै बाहिरिएँ
एकताका गायक बन्छु लागेको थियो । खोटाङमै भएको एक रियालिटी शोमा भाग लिएँ । सुरुमै बाहिरिएपछि मैले गीत गाएर खान्न भन्ने लाग्यो । संगीतको औपचारिक कक्षा लिएको भए केही सुधार हुन्थ्यो होला तर अवसर जुरेन । जीवनको उद्देश्य पनि बनेन । तरै पनि गीत गुनगुनाउन भने छाडेको छैन । हार्मोनियम र गितार सिक्ने इच्छा छ । म सबैखालका गीत सुन्छु । पुराना गीत प्राथमिकतामा पर्छन् । पहिले नारायण गोपाल र पछि उदय सोताङले गाएको ‘हजार जुनीसम्म खोजिबसें तिमीलाई’ शीर्षाकृत गीत सधैं गुनगुनाउँछु ।
पत्रकारितामा लाग्नुु भूल
वैदेशिक रोजगारीका लागि विदेश पुगें । ऋण लागेकाले १८ वर्षमै कतार गएँ । १२ कक्षा उत्तीर्ण गरेर विदेश जानु पहिलो भूल थियो । विदेश जानु साटोे स्वदेशमै संघर्ष गर्नुपथ्र्यो । २० महिनापछि नेपाल फर्केर पत्रकारिता पेसामा लाग्नुु दोस्रो भूल भयो । स्वदेश फर्केर पढाइलाई निरन्तरता दिनुपथ्र्यो । अहिले पछुतो लागिरहन्छ ।
रेडियोमा बोल्ने चाहनाले यहाँसम्म आइपुगेको हुँ । ६ वर्ष रेडियोमा बिताएँ । नौ वर्षदेखि पत्रकारितामै छु । पत्रकारिता पवित्र पेसा हो । यही पेसाबाट परिचित छु । जसले खुसीसमेत दिएको छ । पत्रकारितामा देखापरेको विकृतिले आफूलाई यस पेसामा रहँदा दुःखमात्रै होइन पछुतोसमेत लागेको छ ।
पत्रकारिताबारे मैले भनिरहन पर्दैन । आमनागरिकले बोलिरहेकै छन् । पत्रकार भनिएकाहरूको राजनीतिक दलप्रतिको झुकाव र गुलामीले पत्रकारिता धुमिल बन्दै गएको छ । एक/दुई खोलाखोल्सी सङ्लो भए पनि बाढी आएको नदीमा मिसिँदा पानी धमिलै देखिन्छ । वर्तमान अवस्थामा नेपाली पत्रकारिता यस्तै–यस्तै छ । तसर्थ, आफू यस पेसामा रहँदा पछुतो लाग्ने नै भयो । तत्काल पेसा परिवर्तन गर्न सक्ने अवस्था पनि छैन । तर, मैले अहिलेसम्म गरेका कामप्रति आत्मालोचित हुनु परेको छैन ।
घर बनाउने सपना
अहिलेसम्म मेरो घर छैन । पुख्र्यौली सम्पत्ति पनि छैन । नागरिकतामा उल्लेख बुवाले सबै सम्पत्ति बिक्री गरिसकेको सुनेको छु । सानैदेखि नबसेकाले बुवासँग हिमचिम छैन । आमाले अर्को बिहे गरेपछि उनीसँगै बसें । सानो बुवाको घर मेरो भनेर दाबी गर्न मिल्दैन ।

आफ्नै कमाइले गाउँ (हौंचुर) मा १२/१५ मुरी धान फल्ने खेत किनेको छु । एउटा मोटरसाइकल छ । श्रीमती (नेपाल सरकारको स्थायी जागिरे भएका) ले गर्दा दुवै किन्न सम्भव भएको हो । मेरोमात्रै कमाइले सम्भव थिएन । हिजोआज दिक्तेलमा कोठा भाडामा बस्दै आएको छु । अथाह सम्पत्ति जोड्ने चाहना छैन । घामपानीबाट ओतिने सानो घर बनाउन पाए सहज हुने थियो ।
पुग्दा वरदान माग्दिनँ
ग्रहदशा, राशिफल र धर्मकर्ममा पटक्कै विश्वास छैन । आमाका कारण चिना बनाएको छु । आमाले जन्ममिति, समय बिर्सिएकाले मेरो राशीसमेत थाहा छैन । मानिसलाई अनुशासनमा राख्न धर्म र पाप सुरु गरिए होलान् । तर, सबै धर्मावलम्बीको पूजास्थल अवलोकन गर्न मन लाग्छ । त्यहाँ पुग्दा वरदान माग्दिनँ । सबै धर्मका किताब अध्ययन गर्ने रुचि छ । केही गरेको छु ।
जसरी नि प्रेम बिहे
कच्चा उमेरमा धेरैसँग प्रेम गरें । दुईजनासँग गहिरो प्रेममा थिएँ । विडम्बना दुवैसँग बिहे हुन सकेन । एक जनालाई त हिजोआज पनि असाध्यै सम्झन्छु । दैैनिकजसो सम्झिरहेकै हुन्छु । जोसँग मैले बिहे गरें, उनीसँग पनि प्रेम बिहे नै गरेको हुँ।
नेता भए यसो गर्थें
वैदेशिक रोजगारीका लागि एकपटक विदेश पुगिसकेको हुँ । अब जाने साेंच छैन । गाउँठाउँमै रमाउने मन छ । राजनीतिमा लागेर उलटपुलट गर्छु भन्ने लाग्दैन । तर, राजनीतिक नेता भए यसो गर्थें भन्ने लाग्दोरहेछ । नेपालमा स्थिर सरकार होस्, शून्य भ्रष्टाचार र सुशासन कायम रहोस् भन्ने चाह राख्नु मानवीय प्रवृत्ति हो । कानुनले सबैलाई बराबरी बाँधोस्, कसैले कसैको गुलामी गर्न नपरोस्, आफ्नो पेसामा सबैले जिम्मेवार भएर लागून् भन्ने लाग्छ । किसानले सबैभन्दा धेरै सम्मान पाऊन्, गरिबीकै कारण शिक्षा र स्वास्थ्य सेवाबाट कोही वञ्चित हुन नपरोस्, घरपरिवार चलाउन जोकोही विदेश जान नपरोस् । पर्यटकको पहिलो रोजाइमा नेपाल परोस् भन्ने कामना छ ।
दुईपटक आत्महत्या प्रयास
जन्मेपछि मर्नैपर्ने भएकाले मृत्युसँग डर लाग्दैन । बाँचुन्जेल खराब काम गर्न नपरोस् । म जुन पेसामा छु, कर्तव्यबाट विचलित हुने छैन । इमानदारी कायम राख्छु । एकताका आत्महत्या गर्नसमेत तयार भएको थिएँ । जसोतसो मन बुझाएँ । ९ र १० कक्षामा अध्ययन गर्दा दुईपटक आत्महत्या प्रयास गरें । त्यतिबेला असाध्यै कठिन अवस्थामा गुज्रिएको थिएँ । लाग्थ्यो– संसारकै अभागी मै हुँ । दुःख मलाईमात्रै छ । म केही गर्नै सक्दिनँ ।
एसएलसी पूरा गरेपछि इन्जिनियरिङ पढ्ने रहर थियो । आफूले चाहेको विषय पढ्न आर्थिक अवस्था मजबुत थिएन । तसर्थ, इन्जिनियरिङ पढ्न सकिनँ । त्यसताका आफूलाई मन परेको कपडा, जुत्ता लगाउने अवस्था थिएन । आमाले दोस्रो बिहे गरेपछि उनीसँगै सानो बुवाकहाँ बस्थें । घरको दुःख, अरूले हेर्ने दृष्टि, लगाउने कटु वचनले दुई–दुईपटक मृत्युको मुखमा पुगेको थिएँ । तर, आमालाई सम्झेर मृत्युलाई जितें । जस्तोसुकै दुःख भए पनि आमाले मलाई कहिल्यै भोकै राखिनन् । मैले पनि त आमालाई भोकै, तिर्खै राख्न हुँदैन भनेर सम्झें । त्यही सोंचले मदेखि मृत्युसमेत डरायो ।



