
हिजो
रोजहरू दिने दिन थियो,
बेहिसाब बगिरहने समयको
एउटा क्षणलाई
नाम दिइएको—
प्रणय दिवस।
हिजो
जीवनसाथीमा बदलिने
मीठो सपनाको दिन थियो,
र, आज
ओइलिएको त्यो गुलाब
मौन प्रश्न बनेर
टेबलको कुनामा ढल्किरहेको छ ।
कसैले गुगलमा फुलेको रोज टिप्छन्,
कसैले प्लास्टिकको मुस्कान साट्छन्,
कसैले साँच्चैको ओरिजिनल गुलाब दिन्छन्—
र सोच्छन्,
प्रेम पूरा भयो ।
तर
यो दिन
प्रेमको पागलपनको गहिराइ नाप्ने दिन हो ?
कि
गुलाबी काँडाको विषाक्त असर जाँच्ने ?
प्रेमरोग हो कि औषधि—
यसको हिसाबकिताब राख्ने
एक औपचारिक दिन ?
कसैले चाहनाअनुसार मनाए प्रणय दिवस,
कसैले सरप्राइजको चमकमा
बहुमूल्य उपहार चुक्ता गरे,
नसक्ने डिमान्डको भारी बोक्दै
आफूलाई
प्रेमको नाममा बलिको बोका बनाए ।
कोही पहिरो झरेको गुलाब टिप्न हाम्फाल्छन्,
कोही अन्तिम पत्रमा
आफ्नो नाम झुन्ड्याउँछन् ।
कतिले ढाडले थाम्न नसक्ने उपहार तोक्छन्,
मूल्य नउठेपछि
अर्को रात
अर्कै अँगालोमा हराउँछन्।
तनावको अँध्यारोमा
कति अनुहारहरू
चुपचाप गायब हुन्छन् ।
तर, प्रेम यस्तो होइन।
प्रेम
सद्भाव हो,
सम्मान हो,
विश्वास हो।
प्रेम
सबैलाई पन्छाएर जित्नु होइन—
तीता अनुभूतिहरू
एउटै ठाउँमा थन्क्याएर
मन हलुका पार्नु हो ।
जटिलताको भारले थिच्दा
सुम्सुम्याउनु हो,
उद्धार गर्नु पनि प्रेम हो।
जहाँ थिचिएको छ
त्यसमाथि थप बोझ हाल्नु
मुस्कानविरुद्धको अपराध हो ।
प्रेमको प्रतीक
गुलाबमात्र होइन।
म त देख्छु—
उज्यालो मुस्कानमा भिजेर
फक्रिएको सेतो गुलाब ।
यसर्थ
म प्रेममात्र भन्दिनँ,
गुलाबमात्र देख्दिनँ,
म देख्छु–
काँडाहरू अँटिरहने मुटुहरू—
जो दुःखमा पनि हाँस्न उद्यत् छन् ।
फुल्नमात्र होइन,
विपत्तिमा पनि
प्रकृतिजस्तै धैर्यवान् हुन सक्ने,
गुलाबको एक टुक्रा हाँसोले
अँध्यारो मासिन सक्ने
भर्भराउँदो उज्यालोलाई प्रेम मान्नुपर्छ ।
प्रणय दिवसपछिको गुलाब
प्रतिक्रिया दिनुहोस्



