विशाल भट्टराई भन्छन्– यसकारण देवविक्रम राई सुयोग्य उम्मेदवार


तस्बिर : केदार मगर

दुर्छिम (खोटाङ) । एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट खोटाङको उम्मेदवार देवविक्रम राई सुयोग्य भएको दाबी गरेका छन् ।

‘राई केन्द्रदेखि जिल्लासम्म सर्वसम्मत उम्मेदवार हुन्,’ एमाले केन्द्रीय सदस्य भट्टराईको भनाइ छ, ‘यस्तो अवस्थामा सर्वसम्मत, स्वीकार्य उम्मेदवार हुनु कम्ती महत्वपूर्ण कुरा होइन।’ पार्टीले एमाले खोटाङ अध्यक्षलाई सर्वसम्मत उम्मेदवार चयन गर्नु भनेको योग्यमात्रै होइन, सुयोग्य उम्मेदार हुनु हो ।

सर्वसम्मत उम्मेदवार हुनुको पछाडि थुप्रै पाटा–पक्ष छन् । ‘उहाँ राजनीतिमा निरन्तर लागिरहेको व्यक्ति हो । योग्यतम शैक्षिक प्रमाणपत्रधारी व्यक्ति पनि हो,’ पूर्वसांसदसमेत रहेका विशाल भट्टराईले जानकारी गराए, ‘उहाँले नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएको छ । त्यतिमात्रै होइन, उहाँमा व्यावहारिक ज्ञानसमेत छ ।’

पढेको कुरा बिर्संदै जानु मानवीय स्वभाव हो । ‘उहाँ पढेको कुरा रिकल गर्न सक्नुहुन्छ,’ एमाले पूर्वपोलिटव्युरो सदस्यसमेत रहेका भट्टराईले जोडे, ‘उहाँ त्यसलाई अहिलेको व्यवहारसँग जोड्न उत्तिकै सिपालु हुनुहुन्छ ।’

बहुआयामिक व्यक्तित्व देवविक्रम राई वास्तविक किसान पनि हुन् । राईले एक सय रोपनीभन्दा धेरै जमिनमा फलफूल खेती गर्दै आएका छन् । उनले हुर्काएका ५०० बोट लिचीले उत्पादन दिन थालेको छ । अन्य कैयौं प्रजातिका फलफूल हुर्कंदै छन् । ‘उहाँलाई किसानका नेताका रूपमा पनि चिन्ने गरिन्छ,’ उनको बुझाइ छ, ‘राजनीति गर्ने मानिसले कुनै न कुनै व्यवसाय गर्नुपर्छ । त्यसको उदाहरण देवविक्रम राई हुनुहुन्छ ।’

उम्मेदवार राई साहित्यिक व्यक्तित्व पनि हुन् । उनले लेखेका ‘म भीष्म धिमाल’, ‘युद्ध संग्रहालयको हाकिम’, ‘म दलाल नम्बर १०१’ शीर्षाकृत कविता सर्वाधिक चर्चामा छ । साहित्यमात्रै होइन, आफूलाई रुचि लागेको विषयमा भाँती पुर्याएर आलेख लेख्न सक्छन् । लेखनमा दख्खल छ । ‘आफूले भन्न खोजेको विषय कलात्मक तरिकाले प्रस्ट्याउन सक्नुहुन्छ,’ एमाले पूर्वप्रमुख सचेतक विशाल भट्टराईले पुछारमा समेत प्रशंसा गरे, ‘उहाँ नयाँ फेस । युवा पनि । त्यसैले देवविक्रम राई सुयोग्य उम्मेदवार हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्