१७ को भेटी ८ लाख ३९ हजार १९७



हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले चढाएको भेटी गणना गर्दा ८ लाख ३९ हजार १९७ रुपैयाँ संकलन भएको छ ।

संवत् २०७८ मंसिर ६ देखि २२ गतेसम्मको भेटी गणना गर्दा ८ लाख ३९ हजार १९७ रुपैयाँ संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।

हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार शिव–पार्वतीथानको भेटी गणना गर्दा ५ लाख २९ हजार ४०५ रुपैयाँ भएको हो ।

हलेसी गुफाको प्राङ्गणमा रहेको दान पेटिकामा ३१ हजार ३४५ रुपैयाँ भेटी संकलन भएको थियो । गणेश मन्दिरको दानपेटिकाको भेटी गन्दा २६ हजार १०० भएको थियो भने बसाहा गुफाको दानपेटिकाबाट ३९ हजार ६९० रुपैयाँ संकलन भएको हो ।

यसैगरी, रुद्रीपाठ, लाखबत्ती बालेको र अन्य सहयोग १ लाख ९२ हजार २७७, चामल बिक्री गरेबापत १४ हजार ८८० र ढ्याके पैसा सटही गर्दा एकमुष्ट ८ लाख ३९ हजार १९७ रुपैयाँ संकलन भएको हलेसी सूचना केन्द्रले सूचना टाँसेर सबैमा जानकारी गराएको हो ।

हलेसी आइपुगेका दर्शनार्थीले यस अवधिमा ६ हजार १६० भारतीय र १ डलर अमेरिकी रुपैयाँ चढाएका थिए भने १५१.६५ ग्राम चाँदी र २.८ ग्राम सुन चढाएका थिए ।

बिजुली, पानी, फोहोर व्यवस्थापन खर्च, सीसी क्यामेर पीओई स्वीच खरिद, बाला चतुर्दशी मेलामा अस्थायी कर्मचारी तलब–भत्ता भेटी गणना, अतिथि सत्कार, खाजा खर्च र आर्थिक सहयोग गरी २ लाख १६ हजार ८२९ रुपैयाँ भएको सूचना केन्द्रले जनाएको छ ।

उल्लिखित खर्च कटाएर बाँकी ६ लाख २२ हजार ३६८ रुपैयाँ श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुच्छ्रे बैंक हलेसी शाखामा जम्मा गरिएको छ ।

अहिलेसम्म समितिको नाममा ८४ लाख १५ हजार ५७३ रुपैयाँ बैंकमा जम्मा भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्