‘काँग्रेस खोटाङका गणेशमान’ तेस्रोपटक सभापतिमा निर्वाचित


नवनिर्वाचित सभापति विष्णुकुमार राई।

दिक्तेल (खोटाङ) । दुई कार्यकाल काँग्रेस खोटाङ सभापतिको भूमिका निर्वाह गरिसकेका विष्णुकुमार राई तेस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित भएका छन् । सातौं जिल्ला अधिवेशनले राईलाई काँग्रेस खोटाङ सभापतिमा निर्वाचित गरेको हो ।

‘काँग्रेस खोटाङका गणेशमान सिंह’ भनेर चिनिएका नवनिर्वाचित राईले निकटम प्रतिद्वन्द्वी पूर्वपर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सर्वधन राईभन्दा ५९ मत बढी पाएर सभापतिमा निर्वाचित भएका हुन् ।

काँग्रेस खोटाङका आदर्श नेताका रूपमा परिचित उनले २०६२/०६३ को दोस्रो जनआन्दोलनमा ज्यानको बाजी थापेर पार्टीको नेतृत्व गरेका थिए । बीपी र गणेशमानको आदर्श बोकेर राजनीतिमा प्रतिबद्ध नवनिर्वाचित राईले जिल्ला विकास समिति सभापतिको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरेको सर्वविदितै छ । उनी संवत् ०६२ र ०६७ मा काँग्रेस खोटाङ सभापति थिए ।

५९ मतले पछि परेका पूर्वपर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सर्वधन राईले ६ सय १० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित उपसभापति इवन राई ।

काँग्रेस खोटाङको उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई निर्वाचित भएका छन् । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुखसमेत रहेका राईले पदाधिकारीका उम्मेदवारमध्ये सबैभन्दा बढी ७ सय ५३ मत पाएर उपसभापतिमा निर्वाचित भएका थिए । नवनिर्वाचित उपसभापति राई काँग्रेस खोटाङ क्षेत्र नम्बर १ का पूर्वक्षेत्रीय सभापति हुन् ।

अर्का उम्मेदवार तीर्थराज भट्टराईले ७ सय ४२ मत पाएर जिल्ला उपसभापतिमा निर्वाचित भएका हुन् । नवनिर्वाचित उपसभापति भट्टराई काँग्रेस खोटाङ क्षेत्र नम्बर २ पूर्वक्षेत्रीय सभापति हुन् ।

यसैगरी, सचिवमा समीर राई र ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । नवनिर्वाचित सचिव राईले ७ सय १३ मत पाएका थिए । उनी यसअघि काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य तथा संगठन विभाग प्रमुख रहेका थिए । नवनिर्वाचित सचिव जोशीले ६ सय २० मत पाएका थिए । उनी यसअघि पनि सचिवकै भूमिका थिए ।

काँग्रेस खोटाङ सहसचिवमा साजन राई र शालिकराम बन्जारा निर्वाचित भएका छन् । सहसचिव राईले ६ सय २४ र बन्जाराले ५ सय ९३ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्