९३ सिँढी चढेपछि विशङ्खुनारायणको दर्शन



ललितपुर । मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायण । गोदावरी नगरपालिका–२ मा अवस्थित यहाँ सालिन्दा हरिबोधिनी एकादशीमा ठूलो मेला लाग्ने गर्छ । सो दिन महास्नान गरिन्छ ।

सालिन्दा पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलन रहेको छ । विशङ्खुनारायण पूजा व्यवस्थापन समिति सचिव दिवाकर सुवेदीका अनुसार नारायणको प्राकृतिक शिलालाई चाँदीको गरगहना लगाइदिएर पञ्चामृत, गाईको दूध र जलले महास्नान गर्नुका साथै नारायणलाई छोपेर राखेको तामाको जलधारीसमेत वर्षमा एकपटक झिकेर सफा गरिन्छ । नारायणको महास्नान गर्दा नारायणका दशावतारको पूजा तथा नजिकै रहेका महादेवको रुद्री र विष्णु सहस्त्रनाम स्तोत्र पाठसमेत गरिन्छ ।

स्थानीय सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताका रूपमा पुज्ने गर्छन् । विशङ्खुनारायणको नित्यपूजा हालसम्म कहिल्यै रोकिएको छैन । यहाँका पुजारी परिवारलाई जुठो र सुत्केरो पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने गरिएको विशङ्खुनारायण सेवा सुधार समिति अध्यक्ष राजेन्द्र विष्टले बताए । विशङ्खुनारायण सेवा सुधार समिति अध्यक्ष विष्टले भने, “महास्नानका दिन प्रत्येक सुवेदी परिवारका घरबाट आवश्यक पूजा–सामग्रीका साथै सुकेको सिङ्गो नरिवल ल्याएर भगवान्लाई चढाइन्छ ।”

नेपालका प्रख्यात चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रूपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोत्तम विष्टले सुनाए । समिति सल्लाहकार विष्टले भने, “हिन्दु धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडाँै दक्षिणकालीमा रहेका शेषनारायणलाई साँइला नारायण र इचङ्गुनारायणलाई कान्छो नारायणका रूपमा पुज्ने गरेका छन् ।”

हरिबोधिनी अर्थात् ठूलो एकादशीको दिनदेखि भगवान् नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दु धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ । विशङ्खुनारायण मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहनुका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । सदीयौं वर्षदेखि नारायण मन्दिरमा भगवान् बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन चल्दै आएको छ ।

प्रत्येक ठूलो एकादशमा तुलसीसँग भगवान् विष्णुको विवाह हुने भएकाले धुनबेंसी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतबाट दर्शन गर्न भक्तजन विशङ्खुनारायण आउने गर्छन् । विशङ्खुनारायण मेलामा एकदेखि डेढ लाख मानिस आउने भएकाले विशेषगरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादित तरकारी अनि फलफूल बिक्री हुने गरेको स्थानीयकोे भनाइ छ ।

विशङ्खुनारायणथानको ककारोभित्र शालिग्राम राखेर पूजाआजा गर्ने गरिन्छ । सो क्षेत्रमा भगवान् नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफासमेत रहेको छ । सिलवाल र विष्टको बाहुल्य रहेको विशङ्खुनारायणथानमा लगभग ६ हजार ८०० जनसङ्ख्या रहनुका साथै एक हजार २०० घरधुरी रहेका छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीय गोविन्द विष्टले जानकारी गराए । विष्टले भने, “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सृष्टि भएको हो ।”

नारायण दर्शन गर्न देशभरिका मानिस विशङ्खुनारायण आउँछन् । सालिन्दा कात्तिक १ देखि मङ्सिर पूर्णिमासम्म नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । शनिबार र सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ । सो नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ ।

सालिन्दा ठूलो एकादशीको दिन तुलसीसँग भगवान् विष्णुको विवाह हुने भएकाले धुनबेंसी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतबाट दर्शनार्थी विशङ्खुनारायण आउने गर्छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीय गोविन्द विष्टले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्