अर्थशास्त्रमा विद्यावारिधि खड्का परराष्ट्रमन्त्री


 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई बुधबार अपराह्न पद तथा गोपनीयताको शपथ खुवाएकोे राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए ।

राष्ट्रमन्त्री खड्काको जीवनी

परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म २००५ चैत ७ गते भोजपुरमा भएको हो ।०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले काँग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली काँग्रेसको केन्द्रीय सदस्य भएका थिए ।

संवत् ०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

सोही स्थानबाट ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित डा. खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य हुन् । ०७० मा उनी सहरी विकासमन्त्री थिए भने ०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए । उनले ०५७ मा राष्ट्रिय योजना आयोग उपाध्यक्षका रूपमा काम गरिसकेका छन् । राजनीतिक आन्दोलनका क्रममा काठमाडौं र विराटनगरमा पटक–पटक पक्राउ परेका उनी विभिन्न समयमा पाँचपटक जेल पनि परेका थिए ।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी काँग्रेसका प्रभावशाली नेता मानिन्छन् । उनी संविधानसभालगायत विभिन्न पदकबाट सम्मानित भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्