बालेको दीप त आखिर निभ्छ नै, ननिभोस् नेपाली नागरिकका सपना


स्थान : हलेसी गुफाको प्राङ्गण ।

समय : साँझको ६ः३० बजे ।

अतिथि : इवन राई (हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख), बिमला राई (हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख), चइन्द्र राई (हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख–७ वडाध्यक्ष), डिल्ली चाम्लिङ, निरजमानसिं बस्नेत (हलेसी तुवाचुङ नगरपालिका–७ वडासदस्य), सम्मरबहादुर भुजेल (हलेसी महादेवस्थान विकास समिति, कार्यकारी निर्देशक) प्रमोद कार्की (इलाका प्रहरी कार्यालय हलेसी इन्चार्ज)लगायत थुप्रै ।

सुरुमा राष्ट्रगान बजाइयो । त्यसपछि लगत्तै नगरप्रमुख इवन राई र नगर उपप्रमुख बिमला राईले दीप प्रज्वलन गरे । त्यसपछि अन्य उस्थित महानुभावले । दीप प्रज्वलनका लागि नेपालको नक्सा बनाइएको थियो । नक्साभित्र संविधान दिवस–२०७८ उल्लेख छ भने नक्सामाथि नेपालको झन्डाको चित्र छ । नक्सावरिपरि दीप प्रज्वलन गरी हलेसी गुफाको आँगनमै संविधान दिवस मनाइएको हो ।

दीप प्रज्वलनपछि सामाजिक सञ्जाल फेसबुकमा नगर उपप्रमुख बिमला राईले लेखिन्, ‘बालेको दीप त आखिर निभ्छ नै, ननिभोस् नेपाली नागरिकका सपना । पुनः संविधान दिवसको अनन्त शुभकामना ।’

संवत् २०७८ भदौ १७ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले देशैभरि संविधान दिवस मनाउने निर्णय गरेको थियो । त्यही निर्णय आत्मसात् गर्दै हलेसी तुवाचुङ नगरपालिकाको ७६औं नगर कार्यपालिका बैठकले नगरभित्र रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयले असोज ३ गते साँझ दीप प्रज्वलन गरी संविधान दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्