३६५ दिनमा १४५ दिन ताराखोलामा चाड


बागलुङ । भदौ शुक्ल (उजेली पक्ष) र मनसुनको उत्तराद्र्धतिर यहाँका रैथाने मगर समुदायले आफ्नो पुस्तैनी चाड ‘सिस्नो खोस्ने’मा रमाए । चार दिन मनाइने सो चाडलाई गाउँलेले मंगलबार बिदा गरे । ताराखोला गाउँपालिका–४ स्थित तारागाउँमा हरेक दुई वर्षमा सिस्नो खोस्ने चाडको रौनक छाउँछ ।

शरद् ऋतुमा मनाइने भएकाले यसले चाडमय यामको झल्को दिन्छ । स्थानीय हर्षोल्लासपूर्वक चाडमा भाग लिन्छन् । कुलपितृको उद्धार, जगत् भलो, सुख, ऐश्वर्य प्राप्त होस् । रोगव्याध नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्छन् ।

पन्ध्रौं शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका पूर्वजले चाडको चलन बसालेका बताइएको छ । तारागाउँवासी सिस्नो खोस्ने चाडलाई पुर्खाको नासोका रूपमा पुकार्छन् । संस्कृति धान्दै आएको मगर समाज भैलो टोलीका अध्यक्ष झकबहादुर घर्तीले भदौ शुक्लपक्षको शनिबारदेखि मंगलबारसम्म चाड मनाउने प्रचलन रहेको जानकारी दिए ।

“कोरोना महामारीको जोखिम छल्दै यसपालि पनि भदौरेलाई निरन्तरता दियौं,” उनले भने । गाउँपालिकामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । संक्रमण घटेका कारण पनि चाड चलाउन सहज भयो । “भदोरै चाड हाम्रो इतिहास र परम्परासँग जोडिएको छ,’ उनले भने, ‘यो हाम्रा शाखापुर्खादेखि नै चल्दै आएको हो ।”

चाडको जगेर्नामा पुरानोदेखि नयाँ पुस्तासम्मको उत्तिकै सक्रियता छ । बर्सेनि चाडको आयोजना र व्यवस्थापन मगर समाज भैलो टोलीले गर्दै आएको छ । ती समुदायका घरमा सन्तान लाभ हुँदा त्यहाँ पुगेर हर्षबढाइँ गर्ने र सोबापत सम्बन्धित परिवारले दिएको दक्षिणाबाट भैलो टोलीले आर्थिक जोहो गर्ने गरेको छ ।

“भैलो, पुत्रबढाइँजस्ता कार्यबाट जुटेको सहयोगबाटै चाड धान्ने काम भएको छ,” अध्यक्ष घर्तीले भने । उनका अनुसार समाजको कोषमा झन्डै २० लाख छ । सिस्नो खोस्ने चाडमात्र नभएर असारे मेला, माघेसंक्रान्ति, कात्तिके भुस पोल्ने मेलालगायत जात्रा र चाडलाई पनि स्थानीयले जोगाएका छन् ।

पहिले ताराखोला गाउँपालिका–४ र ५ को साझा चाडका रूपमा भदोरै सिस्नो खोस्ने चाडलाई लिने गरिए पनि अहिले सिंगै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो जोडिएको छ । ताराखोला गाउँपालिका–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कुलपूजाका अवसरमा सिस्नो खोस्ने गरेको पाइन्छ ।

चाडलाई युवकयुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवकयुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । मौलिक संस्कृति र परम्पराको संरक्षणमा युवापुस्ता अग्रसर हुनुपर्ने स्थानीय पदम खत्रीले बताए ।

नेपाल माध्यमिक विद्यालयका अध्यक्ष खत्रीले भुस पोल्ने चाडले ताराखोलालाई सांस्कृतिक चिनारी दिएको उल्लेख गरे ।

यसरी मनाइन्छ सिस्नो खोस्ने चाड

चाडको पहिलो दिन शनिबार गाउँका बूढापाकाले र दोस्रो दिन अविवाहित युवकयुवती तथा बूढापाका मिलेर बाटो सरसफाइ गर्छन् । तेस्रो दिन सोमबार तारागाउँको सरसफाइ गरेपछि भिस्टल्ला भन्ने ठाउँमा मोही चढाउने, बाँड्ने र खाने चलन छ । सोही ठाउँमा पहिले लेकबाट आएका गोठालाले ठेकीमा नौनी घिउको बिर्को लगाएर मोही लिएर आउने गरेको स्थानीय बताउँछन् । सोमबार साँझबाट पूजापाठ सुरु भई मंगलबार बेलुका चाड सकिन्छ ।

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम हेम्थो
(कुल) घरमा हुन्छ । राँगोको बलि पनि कुल घरकै आँगनमा दिने गरिन्छ । स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कुल घर मान्दै आएका छन् । उनका बुवा मुखिया भएकाले सोही घरलाई पछि कुल घरका रूपमा मानिएको स्थानीय रवीन घर्तीले बताए । चाडको अन्तिम दिन मंलबार भने पूजापाठ, बलि, सिस्नो खोस्ने काम कुलघरकै पछाडिको बारीमा हुन्छ ।

त्यहाँ देउता पुज्ने ढुंगा छ । यो वर्ष पनि ८२ वर्षीया गुरुबा जंगबहादुर रोकाले त्यहाँ पूजापाठ चलाएका थिए । उनीसहित बूढापाका भएर ढ्याङ्ग्रोको तालमा ‘रुनासुङ्गे, पुसापु, घुँयाली…’ बोलको गीतसमेत गाउँछन् । रनवन पुकार्दै गाइने उक्त गीतलाई मगर अगुवाले ‘वन गन्ने’ पनि भन्छन् । पूजा र बलि दिने ढुंगा जसलाई गाउँलेले डम्मरु (उखुरधुम) भन्छन् । त्यसकै आडमा कुटस र अम्रिसोको लिंगो गाडिएको हुन्छ ।

लिंगोलाई स्थानीय भाषामा ‘सितम सेउला’ र ‘बजा सल्ला’ भन्ने गरिन्छ । लिंगोमुनि पूजा, धुपबत्ती चलिरहेको छ । गुरुबासँगै पुजारीले बीच–बीचमा सगुन पिइरहेका छन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ ।

गीतलाई बूढापाकाले वाचा बाँधेका रूपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जोकोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा, कुलपितृ र देवीदेउतालाई गीतबाटै घुमाएर कुल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगोको बलि दिने बेला हुन्छ । बलि दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगोको सात करङ भाँचेपछि मुटु निकालेर कुलघरको सिरानमा चढाउने परम्परा छ । बिहान ४ बजे राँगोको बलि दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) सुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कुलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ ।

कुल घरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुंगामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिंगोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिंगोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी सुरु हुन्छ ।

बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठोभित्र बाँधिन्छ । एकाथरी ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठो बोकेका युवाहरू हुन्छन् । समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लोछेउ मौलिक भेषभुषामा सजिएर सिस्नो खोस्न तम्तयार युवती हुन्छन् । हातमा सिस्नो समातेका युवक युवतीको छेउछाउ पुग्छन् । सिस्नोले हातमा छोइदिन्छन् । जिस्किन्छन् । युवती पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन् । अनि सुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन् । कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवकयुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । युवतीले जिते युवकले दण्ड तिर्नुपर्ने चलन छ । जसले जिते पनि सँुगुरको साँप्रोको मासु प्रसादका रूपमा सबै मिलेर खान्छन् । अन्तिममा कुलघरकै आँगनमा सिस्नो खोसेपछि भदौरे चाडलाई बिदा गरिन्छ ।

मंगलबार पनि युवकयुवतीबीच यसरी नै सिस्नो खोसाखोस भयो । स्थानीय यो चाडलाई कुल र भूमिपूजाका रूपमा समेत लिन्छन् । गुरुबा रोकाले ताराभोटबाट आउँदा पुर्खाले भदौरे चाडलाई साथै लिएर आएको बताउँछन् । उनले भने, “यो गाउँलेको पूजा हो, गाउँलाई राम्रो होस् भनेर गरेको हो ।” उनका अनुसार कुल (हेम्थो) घरमा बलि दिइएर आँगनमा गाडेर राखिएको राँगाको सिङ हरेक १२ वर्षमा फर्ने चलन छ । पछिल्लोपटक २०७१ मा त्यहाँको सिङ फेरेर अर्को राखिएको थियो । सिङ फेर्दा पनि विशेष खाले पूजाआजा हुन्छ । सिस्नो खोस्ने चाडसँगै, असारे, भुस पोल्नेलगायतका चाड ताराखोलामा प्रचलित छन् ।

भनिन्छ, ‘३६५ दिनमा १४५ दिन ताराखोलामा मेला, चाड चल्छन् ।’ मगर समुदायले आफ्नै बलबुतामा पुरानो संस्कृति धान्दै आएका छन् । सयौं वर्षपहिले पाल्पाको अर्गलीबाट आएका मगरका पुर्खा वडा नं. १ अर्गल र डोल्पाको ताराभोटबाट आएका वडा नं. ४ को तारागाउँमा बसोवास गरेको पाइन्छ । बाँस र खेती लगाउने ठाउँको खोजीमा आएका पूर्वजले ताराखोला क्षेत्रमा खोरिया खनेर थातथलो बसाएको मगर समुदायका अगुवा बताउँछन् । स्थानीय संस्कृतिको जगेर्ना र पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले बहुसांस्कृतिक संग्रहालयको निर्माण सुरु गरेको छ । “प्राकृतिक, सांस्कृतिक र जैविक विविधतालाई समग्र विकासको सूत्रमा ढालेर ताराखोलालाई समृद्ध तुल्याउने लक्ष्य छ,” गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने ।

प्रतिक्रिया दिनुहोस्