मेलम्चीझैं बगिरहेछ ङाजुको आँसु…….



गणेशबगर (हेलम्बु) । हेलम्बु डाँडाको फेदमा कच्ची सडकछेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैं रसाइरहन्छन् । मेलम्ची पहाड यो बर्खा निकै रसायो । थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ । त्यही पहाडको रसायनले कमेरे माटोको लेदोे बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन् । हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसैको बित्यास पारेको भने छैन । बरु दिनदिनै आफ्नै आँत भने सुकाएको छ ।

करिब सय मिटर तल मेलम्ची बगिरहेको छ । यसो हेर्दा लाग्छ– मेलम्ची रिसाएको छ । पहिलेभन्दा फरक रङ तर तेजमा बग्दै छ– मेलम्ची । छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्रानको लेदोमात्र होइन, मेलम्चीले वरपरका घर–बस्ती र मानिसलाई नै आफैंसँग लगेर गयो । हेलम्बु पहाड फेदमा रहेको गणेशबगरको सिंगो बस्ती मेलम्चीले आफूसँगै कहाँ पु¥यायो कुनै अत्तोपत्तो छैन । करिब ४३ घरको त्यो बस्ती एकै मेसोमा बगर बने । अहिले त्यहाँ एकाध घरका अवशेष देखिन्छन् तर बस्ती बगरमा परिणत भएको छ ।

बगरबीचमा ढलेर आधा पुरिएको पहेंलो रङको घर ङाजुको थियो । घर पुरेको महिना दिन बढी बितिसकेको छ । तर उनी त्यो घर ठाडिइहाल्छ कि भन्ने आसले हरेक दिन त्यही ढिस्कोमा हेर्न पुग्छिन् । ढलेको घर के उठ्थ्यो ? उठ्दैन । उनको मनले पत्याउन भने मानेको छैन ।

ङाजुजस्तै आफ्नो घर पहिलेजस्तै उठिदिए हुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहान बेलुकै घरको निशाना रहेको बगरको परिक्रमा गर्ने गर्छन् । वरपरको वातावरण उस्तै उराठ र सुनसान छ । आवाज छ त, त्यही मेलम्चीको एकोहोरो सुस्साहटको । कति मेहनतले सिँगारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उनको आँसु अझै थामिएको छैन । “सर्वस्व गयो मेरो, जे थियो त्यही घर थियो, अब त यही आँसुमात्र बाँकी छ,” आँसुका धारासँगै बग्छन् उहाँका शब्द पनि । कोही नयाँ व्यक्ति पुगेर केही सोध्यो कि मनको घाउ बल्झाउन आएजस्तो लाग्छ उनलाई । मन नलागे पनि यसरी आफ्ना व्यथा पोखेको दुई महिनाभन्दा बढी भयो ।

सातजनाको परिवार, उनका श्रीमान् कामी तामाङको दाजुभाइको गरेर ६० मुरी धान फल्ने खेत पनि सँगै थियो । घरछेउमै धान कुट्ने मिल थियो । आर्थिक रूपले सम्पन्न र सुखी थियो– ङाजुको परिवार । असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए । अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो ।

“एउटा घर बगाएर कहाँ लग्यो थाहा छैन, अर्काे एउटा बगरमा पल्टिएको छ । मिलबाट निकालेको थोरै चामलले केही दिन जीवन धानियो, अहिले दाताको भरमा चुलो बल्दै छ,” आँसु पुछ्दै उनले दुःख सुनाइन् । मुरीका मुरी धान, मकै र चामलका बोरा सबै मेलम्चीले निल्यो । अहिले त अन्नको सग्लो दाना देख्दा पनि उनको आँखा थप रसाउँछन् ।

परेको बेला अरूलाई सहयोग गर्ने ङाजु अचेल कसले दुईछाक टारिदेला भन्ने आसमा छिन् । कोही नयाँ मान्छे गाउँमा देखियो भने केही ल्याइदिए कि भन्ने आसले अगाडि पुग्छिन् । घरखेतै लगेका यहाँका धेरै सम्पन्न भनिएका मानिस पनि सुकुम्बासी बनेका छन् । विपत्ले धनी गरिब नभन्ने रहेछ । जसको घर ठीक छ पूरै पनि खोतलेर बस्नलायक बनाउन सकिन्छ । बनाउन थालेका पनि छन् । जसको घर नै बगाएर बगर बनेको छ, उसलाई ठूलो चोट छ ।

उनको घर खोलाछेउमा भएर बगेको पनि थिएन । खोला अतिक्रमण गरेर बनाइएको पनि होइन । खोला निकै तल घरबाट देखिँदैन थियो । एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो कि झोलंगेपुलको समेत नामोनिशान मेटेर लग्यो । अघिल्लो दिन चामल अलिकति निकालेका थिए । मिल र घट्ट उप्काएर राखे, त्यही चामलले सुरुको समयमा छाक टार्यो ।

केही माथि संस्थाले बनाइदिएको अस्थायी टहरामा बसेर उनको परिवार अहिले गुजारा गर्दै छन् । उनले थपिन्, “संघ संस्थाले खाना दिएको छ, त्यही खाएर बस्ने बसिराछौं, दाताको सहयोग आएन भने भोकै बस्नुपर्छ ।” बाँकी भएको बाँदर खेल्ने पखेरोमा अन्न फल्दैन । अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

घर बगाएको ठाउँबाट तल गहिरोमा थियो खोला । घरबाट खोला हेर्न सकिँदैनथ्यो । त्यहाँ ठूलो फाँट पनि थियो । सबै बगर बनेको छ । अस्तिसम्मको घरबस्तीबाटै मेलम्ची आफ्नै तालमा मस्त कुदिरहेको छ । बाढी आएको दिन गाउँमा रोपाइँ थियो । ङाजु रोपाइँ सकेर घर फर्कंदै थिइन् । उनका अनुसार आउँदाआउँदै उत्तिसलगायतका रूख निकै ठूलो आवाजसाथ गर्लम्मै ढले । कहाँ के भयो ? केही पत्तो भएन । तर, एकैछिनमा हेर्दा त माथिको माछा फार्म बगाइसकेको रहेछ । अनि मान्छेको भागाभाग भयो । बल्लतल्ल ज्यान जोगियो उनले सम्झिन् ।

गणेशबगरका स्थानीय राम तामाङका अनुसार असार १ गते साँझ ७ बजे बाढी आएको थियो । त्यस दिन खोलाछेउका केही घर लग्यो । पछि १६ गतेदेखि परेको भीषण वर्षाले १७ गते साँझ एक÷दुई घरमात्रै बाँकी राखेर अन्य ४३ घर लग्यो । त्यसपछि बनेको यहाँको अस्थायी टहरामा तीन समूहमा बाढीपीडित बस्दै आएका छन् । सबै मेसमा खाना खान्छन् । उनीहरूले सरकारसँग सबै स्थायी बासको माग गरिरहेका छन् । “बरु एकीकृत बस्ती बनाइदिए हुन्थ्यो, भाडाको जग्गामा यसरी कति दिन बस्ने,” राम तामाङले भने । दिनमा बाढी आएकाले मात्रै त्यहाँ मान्छे जोगिएको उनीहरू सुनाउँछन् । केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्केका गृहमन्त्री बालकृष्ण खाणले उनीहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिएको छ ।

यसपालि औसतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा भिभिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो । सुरुवाती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा जनधनको ठूलो क्षति गरायो । असार १ र असार १६ गते पुनः भारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो ।

गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कुुल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाए ।

यसपटक मेलम्चीको माथिल्लो हेलम्बु क्षेत्रमा खोलाकिनार कटान गर्दै र पहिरो खस्दै गेगरसहितको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको हो । अझै लाखौं टन गेगर अड्किएर बसेकाले तल्लो क्षेत्रमा जोखिम कायमै छ । उता, जिल्लाको हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । कुुल दुई हजार १०० रोपनी बढी जग्गा लगेको छ । बाढीपहिरो र डुबानबाट यो वर्ष १३१ जनाको मृत्यु भएको छ भने ४२ जना हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्