महिनैपिच्छे विमान चढ्ने डोल्पाली



संसारभरिका मानिस भेटिने काठमाडौंमा नेपालका मानिस नभेटिने कुरै भएन । नेपालभरिका मानिस भेटिने काठमाडौंमा ७७ जिल्लामध्ये डोल्पावासी नभेटिने नै भए । काठमाडौंमा भेटिने डोल्पालीले डोल्पाबारे धेर–थोर सुनाइहाल्छन् । सुन्दामात्रै पनि कति आनन्द । डोल्पा घुमेजस्तै ।

क्षेत्रफलका आधारमा डोल्पालाई नेपालकै ठूलो जिल्ला मानिन्छ । तर, जनसंख्याका हिसाबले सबैभन्दा कम जनसंख्या बसोवास गर्ने जिल्ला पनि डोल्पा नै हो । डोल्पाले अन्य विधामा पनि कीर्तिमानी राखेको छ । संसारकै उचाइमा रहेको नेपालको गहिरो शे फोक्सुन्डो ताल यहीं पर्छ । यो ताल साबिक शे फोक्सुन्डो गाउँ विकास समितिको रिङ्म गाउँमा पर्छ ।

काठमाडौंको न्युरोडमा भेटिएकी डोल्पाली शिक्षिका राज्यलक्ष्मी हमालले सुनाइन्, ‘विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती छार्का हो ।’

कर्णाली पर्यटन विकास अभियान, नेपालले २०६८ जेठमा प्रकाशित गरेको ‘गन्तव्य कर्णाली’मा संसारकै उचाइमा रहेका मानव बस्ती तराप र थकौभोट उल्लेख छ । डोल्पाको तराप गाउँ र थकौभोट संसारकै उचाइ रहेका गाउँ हुन् ।

‘यार्सा ?,’ शिक्षिका हमालले जानकारी गराइन्, ‘अहिलेसम्म भेटिएकामध्ये डोल्पाको यार्सा सबैभन्दा राम्रो मानिन्छ ।’

पूर्वमा मुस्ताङ, पश्चिममा जुम्ला र मुगु, उत्तरमा तिब्बत, दक्षिणमा जाजरकोट, रुकुम र म्याग्दीसम्म फैलिएको डोल्पाको काइके, डोल्पो बुद्ध, छार्का ताङसोङ र शे फोक्सुन्डो गाउँपालिकामा कात्तिकदेखि वैशाखसम्म बस्नै सकिँदैन । ६ महिना जाडो छल्ने जोहो स्थानीय आफैंले गर्नुपर्छ । माथिल्लो डोल्पाका स्थानीय ६ महिना जाडो छल्न कता–कता पुगिरहेका हुन्छन् । वैशाख लागेपछि मात्रै गाउँठाउँ उक्लिन्छन् ।

समुद्र सतहदेखि १,५२५ देखि ७,६२५ उचाइमा रहेको डोल्पाको प्रमुख पर्यटकीय स्थल शे फोक्सुन्डो ताल हो । त्यतिमात्रै होइन, तराप, धो र शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज पनि आकर्षक मानिन्छन् । माउन्ट पुथा, चुरेन हिमाल, कान्जिरोवा र कागमाराले डोल्पाको आकर्षण बढाएको छ । शे गुम्बा र बालत्रिपुरा सुन्दरी मन्दिरले डोल्पालाई बेहुलीझैं सिँगारेको छ । डोल्पा आउने ६० प्रतिशत बाह्य पर्यटक फ्रान्सेली हुन्छन् ।

डोल्पाको सुन्दरता शब्दमा बयान गरिसाध्य छैन । यहाँका ठुल्ठूला पाटन रंगीचंगी गलैंचा बिछ्याइएजस्तै देखिन्छन् । तालतलैया, झरना, नदीनालाले जोकोहीको मन लोभ्याउँछ । डोल्पा घुम्न चाहनेलाई असार, साउन र भदौ उत्तम मानिने पर्यटन प्रवद्र्धकको भनाइ छ ।

बाह्मण, क्षेत्री, मगर, ठकुरी, गुरुङ, दमाई, सार्की र कामी बसोवास गर्ने डोल्पालीको आर्थिक अवस्था जस्तोसुकै भए पनि डोल्पालीले विमान चढेकै छन् । बिरामी हुँदा उपचारका लागि काठमाडौं जाँदा विमान चढ्नैपर्ने भयो । ‘सक्नेले महिनैपिच्छे विमान चढ्छन्,’ उनले थपिन्, ‘नसक्नेले पनि वर्षमा एकपटक चढेकै हुन्छन् ।’ काठमाडौं नदेखेकाले राजा बस्ने ठाउँ, ठुल्ठूला नेता बस्ने ठाउँ भयंकर होला भन्ने गर्छन् । जीवनमा एकपटक काठमाडौं पुग्न पाए हुन्थ्यो भन्ने डोल्पालीसमेत नभेटिने होइनन् ।

चलचित्र ‘क्याराभान’ डोल्पा बुझ्ने आँखीझ्याल भएको बताइन्छ ।

डोल्पाको जुफालमा दिउँसो १२ बजेपछि हावा चल्छ ।

कारण ?

‘हिमाल नै हुन्,’ शिक्षिका हमालले सुनाइन्, ‘दुई हिमालबीचबाट बहने हावाले जुफालमा १२ बजेपछि हावा चल्छ । हावाले विमान अवतरण गर्न गाह्रो पर्छ ।’

जिल्लामा दुई विमानस्थल छन् । त्यसमध्ये जुफाल विमानस्थल २०३२ बाट सञ्चालनमा आएको हो । सञ्चालनका सुरुताका डोल्पा–काठमाडौं भाडादर ७५ रुपैयाँ थियो । हिजोआज काठमाडौं–डोल्पाको एकतर्फी भाडा १० हजार रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्