चौंरीले मन नपराएको रदुङपोखरी



जुमहाङ नामक किरात पुरुषका सायामा र न्योयहाङ (नेवाहाङ ?) नामक छोरीज्वाईं थिए । सायामा र न्योयहाङ अरुण नदी पछ्याउँदै उत्तरतर्फ लागे । अघि बढ्दै जाँदा उनीहरू हिमालपारि (तिब्बत) सम्म पुगे । उनीहरूभन्दा अघि आफ्ना दाजु माप्याहाङ तिब्बत पुगिसकेका थिए । झुक्किएर आफ्ना भाइ सोक्रेहाङलाई विजयपुरमा मारेका कारण पश्चातापमा परेकाले माप्याहाङ तिब्बत पुगेका हुन् ।

न्योयहाङ र सायामा तिब्बतबाट फर्कंदा संखुवासभाको रदुङ/रुदाङपोखरीआसपासमा रहन–बस्न थाले । सायामा र न्योयहाङसँग चौंरी थिए । चौंरी जंगलमा चर्न गए पनि आफैं घर फर्कन्थे । एक दिन चौंरी घर फर्केनन् । चौंरी घर नफर्केपछि सायामा र न्योयहाङ चौंरी खोज्न घरबाट निस्कने तयारी गर्दागर्दै अचानक हिउँ पर्न थाल्यो । हिउँ परेका कारण उनीहरू चौंरी खोज्न जान सकेनन् ।

हिउँ परेको लामो समय पछि रोकियो । घाम लाग्न थालेपछि सायामा र न्योयहाङले आफ्ना चौंरीका गोहो भेट्टाए । चांैरीको गोहो किमाथाङ्कातर्फ गएको थियो । पछ्याउँदै जाँदै गरेको गोहो मेटिएपछि न्योयहाङ र सायामा विलखबन्दमा परे ।

चौंरीको गोहो हराएपछि सायामा र न्योयहाङले सल्लाह गरे । रुदाङ/रदुङपोखरीको निकासबाट बग्ने पानीसँगै दारको आरी बगाइपठाए । पानीले दारको आरी बगाउँदै लग्यो । सायामा र न्योयहाङले पछ्याउँदै गए । बग्दै गएको आरी किमाथाङ्का हुँदै हेदाङ्नामा अडियो । हेदाङ्नामा उनीहरूले आरी भेट्टाएपछि पक्कै पनि चौंरी यही वरपर हुनुपर्छ भन्ठानी खोज्न थाले ।

रहँदा–बस्दा सायामा र न्योयहाङलाई रदुङ/रुदाङपोखरीतिर फर्कने इच्छा भएन । चौंरीले मन नपराएको ठाउँमा हामी कसरी बस्नू ? भन्ठानी हेदाङ्नावरपरका क्षेत्रमै उनीहरू बस्न थाले । संखुवासभावरपर रहेका आजका याम्फू, नेवाहाङ, लोहोरुङ किरात राई उनै सायामा र न्योयहाङका सन्तान हुन् भन्ने स्थानीय वयोवृद्धा हाकाहाकी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्