पिँजडाको ढोका खोल्दा राजारानीद्वारा आत्महत्या



धनकुटाको राजारानीमा दुई पोखरी थियो । ती पोखरीलाई माबरक र पाबरक (लिम्बू भाषामा आमा पोखरी र बाबु पोखरी) भन्थे । त्यो क्षेत्रमा मा र पा अर्थात् किरात आमा बाबु (राजारानी) बस्थे । उनीहरूको एउटा सेतो परेवा र एउटा सेवक सुसारे थियो । पा सिकार खेल्नमा साह्रै सोखिन थिए । जब ऊ सिकार खेल्न जान्थ्यो, तब आफ्नो साथमा सेवक सुसारे र परेवालाई पिँजडाभित्र हालेर लैजान्थ्यो ।

एक दिन पा राजाले टाढाटाढा सिकार खेल्न जाने तयारी गरे । ऊसँग आफ्नो सेवक सुसारे जाने भयो, साथमा परेवा पनि लैजाने भयो । पाले सिकारमा जानुअघि मालाई भन्यो, ‘म सिकार खेल्न निकै टाढा जाँदै छु । मसित सेवक, सुसारे र परेवा पनि जाँदै छन् । यदि ममाथि कुनै आपत्ति आइपरे या तल–माथि परे भने म पिँजडाबाट परेवा छोडिदिनेछु । परेवा सीधै तिमीकहाँ सन्देश लिएर आउनेछ । नत्र म सिकारबाट चाँडै फर्किनेछु । चिन्ता नलिनू ।’

पा राजा सेवक र परेवा सिकार खेल्दै जाँदा धेरै दिन जंगलमा भुले । यता मा रानी भने उनीहरू फर्की नआएकोमा आतेस खान लागिन् । पा राजा सिकारको पछि–पछि लागेर दिनहरू बितेको पत्तो नै नपाउने भइसकेका थिए । एक दिन भूलवश सेवकले पिँजडाको ढोका खोलिदिन पुग्यो । ढोका खोल्नासाथ परेवा उडेर मा रानी भए ठाउँ आइपुग्यो ।

परेवा आइपुग्नासाथ मा रानीले पा राजा आपतमा/संकटमा पर्यो भन्ने ठानिन् । पा राजाको ज्यान तल–माथि भयो कि भन्ने ठानी सिकार गर्न जानुभन्दा अघि भनेको कुरा सम्झिन र रोइकराइ गर्न थालिन् । पा कहिल्यै नफर्किने ठानेर नजिकैको पोखरीमा मा हाम्फालेर मरिन् ।
पा राजाले पिँजडाबाट परेवा उम्केर गएको थाहा पाउनासाथ कुनै अनिष्ट हुन्छ भन्ने भयले आफू कुशल रहेको समाचार पुर्याउन सेवकलाई दौडाइहाले । सेवक दौडेर मा रानी भएको ठाउँमा पुग्दा परेवा अघि नै पुगिसकेको र मा रानीले आत्महत्या गरिसकेको पायो ।

सेवकको पछि–पछि पा राजा पनि हस्याङफस्याङ गर्दै आइपुगे । तर, त्यहाँ पुगिसकेपछि आफू जीवित छँदै मा रानीले आत्महत्या गरेको वियोग र पीडा खप्न नसकी पा राजाले पनि अर्को पोखरीमा हामफाली प्राण त्याग गरे । त्यही समयदेखि ती दुई पोखरीको नाम मा वरक र पा वरक रहेको हो । पछि–पछि यसको नाम राजारानी पोखरी (ताल) बन्न गएको स्थानीय वयोवृद्ध बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्