खुट्टाले लेखेर ११ कक्षाको परीक्षा



रामपुर (पाल्पा) । आफूमा मिहिनेत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण याम खाम्चाले दिएका छन् ।

दुवै हात नचल्ने र बोल्नसमेत नसक्ने खाम्चा सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका उनले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका–२ आनन्दी भन्ज्याङस्थित बालहित माविको एक कोठाको कुनामा बसेर अरू विद्यार्थीसरह परीक्षामा सहभागी भएका हुन् ।

बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालित परीक्षामा साधारण विद्यार्थीसरह उनी भुुइँमा बसेर अगाडि प्रश्नपत्र हेर्दै त्यसको उत्तर खुट्टाले लेख्छन् । एउटै कक्षाकोठाको अगाडि एकछेउमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको र परीक्षा समय तीन घण्टा तोकिएकोमा फरक क्षमता भएका यस्ता विद्यार्थीलाई आधा घण्टा समय थप दिने व्यवस्था गरिएको शिक्षक विष्णु थापाले बताए । थापाका अनुसार उनीसँगै यस विद्यालयबाट १८ विद्यार्थी परीक्षामा सम्मिलित छन् । शिक्षक थापा भन्छ, “प्रश्न अस्पष्ट भएमात्रै इसाराले शिक्षकलाई बोलाउने, खुट्टैले संकेत गरेर प्रश्न देखाउने र अलि ढिलो लेखे पनि निर्धारित समयमै सबै प्रश्नको उत्तर लेख्न भ्याउँछन् ।”

गत साउन २० गतदेखि सुरु कक्षा ११ को परीक्षामा निर्धक्कसाथ परीक्षामा सामेल भएका उनले खुट्टाकै लेखाइले नै माध्यमिक शिक्षा (एसइई) परीक्षा उत्तीर्ण गरी अहिले शिक्षाशास्त्र संकायमा नेपाली विषय लिएर कक्षा ११ को परीक्षा दिइरहेका हुन् । शारीरिक रूपमा अशक्त रहे पनि स्मरण शक्ति राम्रो रहेका उनी जिज्ञासु हुनाका साथै केही नयाँ कुरा सुन्ने र देख्नेबित्तिकै इसारा गरेरै त्यसबारे जानकारी लिन खोज्छन् ।

चौबीस वर्ष लागेका याम खाम्चाले दुवै हात चलाउन नसक्ने र बोल्न पनि नसक्ने समस्या जन्मजातै हो । फरक क्षमता भए पनि पढ्ने क्षमता भने अरू विद्यार्थीभन्दा बढी भएकैले खुट्टाले लेखेरै ठूलो मान्छे बन्ने सपना छ ।

कक्षाकोठामा शिक्षकले पढाउँदा उनी एकैपटकमा सहजै बुझ्ने गर्छन् । नबुझेका केही कुरामा शिक्षकलाई इसारा गरेर बोलाउने वा खुट्टाले कापीमा लेखेर देखाउने गर्छन् भने बुझिसकेपछि हाँसेर प्रतिक्रिया दिने गरेको बालज्योति प्राविका प्रधानाध्यापक रोशनसिंह सारू बताउँछन् ।

“विद्यालय बिदाको समयमा घरमा बसेर पढ्दै गर्दा केही कुरा नबुझेमा मेरो कोठामै आएर सोध्ने र नयाँ कुरा सिक्न खोज्ने उनको स्वभाव छ,” उनले भने । विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफूले तयार पारेको कविता, गजल र कथा शिक्षकलाई वाचन गर्न लगाउने र फुर्सदको समयमा घरमा बसेर रचना गर्ने र गाउँका समाचार बनाउने कार्यमा व्यस्त देखिन्छन् ।

गर्भावस्थामै जन्डिस (कमलपित्त) रोगले ग्रस्त उनले औषधोपचार अभावमा जीवनभर अर्काको सहारामा बाँच्नुपरेको छ । दुवै हात चलाउन नमिले पनि फुर्सदको समयमा उनले खुट्टाले चम्चा च्यापेर खाना खाने गरेको आमा योगमाया बताउँछन् । उनी भन्छन्, “याम विद्यालयबाट घर फर्केपछि घरमै बसेर लेखपढ गर्ने, बाहिर साथीभाइसँंग खेल्न पनि नजाने, परिवारसँगै साथमा बस्न पाउँदा धेरै रमाउने गर्छ । आफूले गर्न सक्ने र मिल्नेजति काम अरूलाई गर्न नदिने यो उसको सानैदेखिको बानी हो ।”

तीन छोरा र एक छोरीमध्ये माइलो यामको शारीरिक अवस्थाले सुरुमा मानबहादुर चिन्तित अहिले उनको पढाइप्रतिको मिहिनेत, लगनशीलता र सिर्जना देखेर खुसी हुनुहुन्छ । जन्मदै शारीरिक रूपमा कमजोर याम आठ वर्षको उमेरपछि बिस्तारै हिँडडुल गर्न सक्ने भएका थिए ।

गृहकार्य सकिएपछि घरमै ल्यापटपमा कथा, कविता लेख्ने, इन्टरनेट चलाउने, सामाजिक सञ्जालमा आफ्ना लेख–रचना र तस्बिर पठाउने, सन्देश पठाएर कुराकानी गर्ने युट्युब हेर्ने, फेसबुक चलाउने, म्यासेन्जरमा सन्चो–बिसन्चो लेखेर कुरा गर्ने, रेडियो सुन्ने र नयाँ व्यक्तिसँग परिचित हुन मन पराउने काम गर्दै आएको यामका दाजु पुनारामले बताए ।

फरक क्षमताका याम खाम्चाको काम देख्ने जोकोहीलाई पनि साहित्यकार झमक घिमिरेको झल्को आउँछ । खाम्चाले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरेझैं ठूलो मान्छे बन्ने सपना साँचेका छन् ।

प्रतिक्रिया दिनुहोस्