२३ दिनको भेटी ११ लाख ६० हजार ६६०



हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले चढाएको भेटी गणना गर्दा ११ लाख ६० हजार ६६० रुपैयाँ संकलन भएको छ ।
संवत् २०७७ चैत २४ देखि ०७८ वैशाख १५ गतेसम्मको भेटी गणना गर्दा ११ लाख ६० हजार ६६० रुपैयाँ संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।

हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार शिव–पार्वतीथानको भेटी गणना गर्दा ९ लाख ८४ हजार ६४० रुपैयाँ भएको हो ।

यसैगरी, हलेसी गुफाको प्राङ्गणमा रहेको दान पेटिकामा ८८ हजार ४४० रुपैयाँ भेटी संकलन भएको थियो । गणेश मन्दिरको दानपेटिकाको भेटी गन्दा ४९ हजार १०० भएको थियो भने बसाहा गुफाको दानपेटिकाबाट ३८ हजार ४८० रुपैयाँ संकलन गरी हलेसी सूचना केन्द्रले ०७७ चैत २४ देखि ०७८ वैशाख १५ गतेसम्मको भेटी गणना गरी सूचना टाँसेर सबैमा जानकारी गराएको हो ।

भेटीबाहेक विभिन्न शीर्षकमा समेत रकम संकलन भएको छ । हलेसीमा रुद्री, पुराण लगाउँदा र अन्य सहयोगबापत २ लाख १४ हजार १ सय १६ रुपैयाँ संकलन भएको थियो । ढ्याके सिक्का साटेबापत १२ हजार ६ सय संकलन भएको थियो भने गुफामा रहेका फलामका स–साना त्रिशूलका टुक्रा, संरचना निर्माणक्रममा पुनः प्रयोग गर्न नमिल्ने फलामका टुक्रा कवाडीलाई बिक्री गरेबापत ५० हजार ५०० रुपैयाँमा बिक्री गरिएको सूचना केन्द्र प्रमुख राईले जानकारी गराए । उनका अनुसार, सबै शीर्षकमा संकलन भएको रुपैयाँ जोड्दा १४ लाख ३७ हजार ८ सय ७६ भएको थियो ।

हलेसी आइपुगेका दर्शनार्थीले यस अवधिमा ४ हजार ३४० भारतीय रुपैयाँ चढाएका थिए भने २५५ ग्राम चाँदी र ३.३ ग्राम सुन चढाएका हुन् ।

अतिथि सत्कार, भेटी गणना गर्दा खाजा–नास्ता, बिजुली, पानीलगायत विभिन्न शीर्षकमा २ लाख २५ हजार ४६ रुपैयाँ खर्च भएको थियो ।
भेटी गणना गर्दाको खर्च कटाएर १२ लाख १२ हजार ८ सय ३० रुपैयाँ श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुच्छ्रे बैंक हलेसी शाखामा जम्मा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्