हलेसी तुवाचुङमा खोटाङकै धेरै अक्सिजन



दुर्छिम (खोटाङ) । अक्सिजन नपाएर कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको समाचार प्रकाशन तथा प्रसारण भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभखबर सार्वजनिक गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख राईले सार्वजनिक गरेको शुभखबरमा के छ ? ‘हामीले पर्याप्त अक्सिजन जोहो गरेका छौं,’ उनले शनिबार राति ९ बजेर ५५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘अब हामी अक्सिजन अभावमा छटपटिनुपर्दैन ।’

हलेसी तुवाचुङ नगरपालिकामा विभिन्न क्षमताको ६४ थान अक्सिनसहितको सिलिन्डर रहेका छन् । ‘त्यसमध्ये १७ थान पहिलेकै हो,’ उनले जानकारी गराए, ‘समाजसेवी एकराज राउत र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंको पहलमा ४२ थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेका छौं ।’

हालै खरिद गरिएको ४२ थान अक्सिजन सिलिन्डरमध्ये ४७ लिटरको ३२ थान र १० थान १२ लिटर क्षमताको अक्सिजन सिलिन्डर हुन् ।

यसैगरी, समाजसेवी तथा व्यवसायी कुमार खरेलले हलेसी तुवाचुङ नगरपालिकालाई १० लिटर क्षमताको ५ थान अक्सिजन सिलिन्डर र ५ हजार थान मास्क सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्