मनकारी मेयर : हिँड्दा–हिँड्दै सडकमै एन्टिजेन परीक्षण



नवलपुर (अर्खौले) । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले वडाध्यक्ष ज्ञानबहादुर पुरी र वडासदस्य सदस्य पूर्ण मगरले नगरप्रमुख इवन राईलाई टेलिफोन गरे । स्वास्थ्य संयोजक रामकुमार भगत, सहसंयोजक प्रकाश घिमिरे, स्टाफ नर्स मौसम राई, विवेक पराजुलीसहित नगरप्रमुख राई अर्खौलेको नवलपुरमा रहेका कालिका विद्यायलय पुगे ।

खबर पाउनासाथ नगरप्रमुखसहित स्वास्थ्यकर्मी नवलपुर पुगेका थिए । नगरप्रमुखसहित स्वास्थ्यकर्मी गाउँमै आउँदै छन् भनेर सूचना पाएपछि बिरामी कालिका विद्यालयमा भेला भइसकेका थिए । भेला भएका १३ जना स्थानीयको एन्टिजेन परीक्षण गरियो ।

परीक्षण गरिएकामध्ये तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी गराए । नेगेटिभ रिपोर्ट आएको जानकारी पाएपछि १० जनाले सानो–सानो युद्ध जितेको खुसी उनीहरूको मुहार दौडेको प्रस्टै देखिन्थ्यो ।

एन्टिजेन परीक्षण सकिएपछि नगरप्रमुखसहित स्वास्थ्यकर्मी हलेसी फर्कंदै थिए । दुईजना महिला बाटोमै भेटिए । माथिल्लो नवलपुरको सडकमै दुई महिला भेटिएपछि नगरप्रमुख इवन राईले सोधखोज गरे । उनीहरूले एन्टिजेन परीक्षण गरिदिन अनुरोध गरे । बाटोमा एन्टिजेन परीक्षण गर्न त्यति सजिलो थिएन । तर, जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं बाटोमै एन्टिजेन परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सुझाइयो ।

स्टाफ नर्स मौसम राईले हतार–हतार पीपीई लगाइन् । ह्यान्ड ग्लोब्स र फेससिल्ड लगाइन् । लगत्तै सडकमै दुईजनाको एन्टिजेन परीक्षण गरियो । ३० र ७० वर्षीया रिपोर्टको प्रतीक्षामा थिए । दुवैजना भयभीत मुद्रामा देखिन्थे । ‘रिपोर्ट आयो,’ हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले खुसी व्यक्त गरे, ‘दुवैको रिपोर्ट नेगेटिभ आयो । बिरामीभन्दा बढी मलाई पो खुसी लाग्यो ।’

यो शुभखबर शनिबार अपराह्न १ बजेतिरको हो । ‘घर–आँगनकै सरकारले नगरवासीको घर–आँगनमै पुगेर एन्टिजेन परीक्षण गर्दामात्रै पनि बिरामी खुसी देखिन्थे,’ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले वडाध्यक्ष पुरीले सुनाए, ‘आजको दृश्य हेर्दामात्रै पनि गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्