राष्ट्रिय वाणिज्य बैंक खोटाङ पूर्वप्रबन्धक राजभण्डारीको कोरोना संक्रमणबाट निधन



दिक्तेल (खोटाङ) । राष्ट्रिय वाणिज्य बैंक खोटाङ पूर्वप्रबन्धक प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएको चौथो दिन बिहीबार मध्यरातमा राष्ट्रिय वाणिज्य बैंक खोटाङ पूर्वप्रबन्धक राजभण्डारीको जिल्ला अस्पताल खोटाङमा निधन भएको हो ।

‘प्रदीपराज भण्डारी गम्भीर बिरामी पर्नुभएको प्रकाश श्रेष्ठले जानकारी गराउनुभएको १० मिनेटमा आफ्नै गाडीमा उहाँलाई जिल्ला अस्पताल पुर्याइयो,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले भन्नुभयो, ‘अस्पताल पुर्याइए पनि उहाँलाई बचाउन सकिएन । अत्यन्तै दुःख लागेको छ ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा पहिलोपटक कोरोना संक्रमितको निधन भएको हो । यसअघि पनि खोटाङमा कोरोना संक्रमितको निधन भएको थियो ।

‘कोरोना संक्रमणबाट बच्न उच्च सावधानी अपनाउन अनुरोध गर्छु,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजालले नगरवासीलाई अनुरोध गरे, ‘कोरोना संक्रमण पुष्टि हुने नगरवासीले नगरपालिकामा तुरुन्त खबर गर्न आग्रह गर्छु ।’

बिहीबार खोटाङमा ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ३२, ऐंसेलुखर्क गाउँपालिकाका २२ र हलेसी तुवाचुङ नगरपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्