राजाले खनेका कुवामा मच्छेनारायण मन्दिर



मच्छेनारायण । अर्थात् मत्स्यनारायण मन्दिर । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा प्रस्टै देखिन्छ । माछाको मुखबाट प्रकट भएको एक फिट उचाइ भएको चार हातमा शंख, चक्र, गदा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।

भगवान् विष्णुले दस अवतार लिँदा सबैभन्दा पहिले मत्स्य शरीर धारण गरे । मत्स्यरूपी भगवान्ले प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा दिएको पुराणमा उल्लेख छ ।

मत्स्यनारायणको प्रस्तर मूर्ति रहेको यहाँ मलमासमा महिना दिन मेला लाग्छ । मलमासभरि मच्छेनारायण दर्शनका लागि टाढा–टाढाबाट भक्तजन पुग्ने गर्छन् । मलमासभरि मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन हुने गर्छ ।

असोजमा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख छ । काठमाडौंको रत्नपार्कबाट आठ किलोमिटर दक्षिण–पश्चिममा मच्छेनारायण मन्दिर रहेको छ ।

चार नारायणको दर्शन गर्ने भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक मत्स्यनारायणमा नेपाली नयाँ र जनैपूर्णिमाको त्यत्तिकै भीडभाड लाग्छ ।

कीर्तिपुर काठमाडौंको मच्छेगाउँमा राजा सत्यव्रतले कुवा खनाएको पौराणिक कथामा उल्लेख छ । राजाले खनेका कुवामा भगवान विष्णुले मत्स्यावतार धारण गरेका हुन् ।

गोपालवंशताका राजाले खनेका कुवामा अस्तित्वमा आएको थियो । तर, मत्स्यनारायण मन्दिर लिच्छविकालमा निर्माण भएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्