स्थानीय तहमा महिला नेतृत्वका लोभलाग्दो कार्यसम्पादन



स्याङ्जामा रहेका ११ पालिकाका ९७ वडामध्ये तीनवटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । चार वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनबाट स्याङ्जाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक/एक वडाका अध्यक्षमा महिला निर्वाचित भएका हुन् ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी गाउँपालिका–४ मा जितकुमारी चपाईं र हरिनास गाउँपालिका–७ मा केशमाया थापा अध्यक्षमा विजयी भएका थिए । तीनैजना नेकपाबाट विजयी बनेका हुन् । नेपाल पितृसतात्मक समाज भएकाले महिला राजनीतिमा सक्रिय हुनु र विजयी बनेसँगै वडाको नेतृत्व लिएर दिनहुँ सामाजिक कामकाजमा खटिनुपर्दा आइपर्ने समस्या त छँदै छन् । साथमा उनीहरूले ती समस्यालाई अवसरका रूपमा प्रयोग गर्न सकेका छन् ।

जनताले पाँच वर्षका लागि दिएको अवसरलाई सदुपयोग गर्दै केही गरेर देखाउनुपर्छ भन्ने दृढसंकल्पसाथ उनीहरू काममा खटिइरहेका छन् । फेदीखोला गाउँपालिका–५ की वडाध्यक्ष देउकुमारी गुरुङ वडाध्यक्ष बन्नुपूर्व गैरसरकारी संस्थामा कार्यरत थिइन् । संवत् २०६८ देखि गैरसरकारी संस्थामा काम गरेकी गुरुङलाई नेकपाले वडाध्यक्षको उम्मेदवार बनायो । उनी विभिन्न मुद्दा लिएर निर्वाचनमा होमिइन् र विजयी पनि भइन् । विजयी भएसँगै जनप्रतिनिधिका रूपमा थप जिम्मेवारीसहित वडाको नेतृत्व सम्हालिन् ।

‘निर्वाचनका बेला वडावासीसँग वडाका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी थिएँ,’ वडाध्यक्ष गुरुङले भनिन्, ‘मैले वडावासीमाझ लगेका मुद्दाप्रति विश्वास गर्नुभयो र मलाई जिम्मेवारी सुम्पनुभयो । मलाई प्राप्त जिम्मेवारी पूरा गरेरै छाड्ने दृढसंकल्पसहित अगाडि बढेकी छु । मलाई विश्वास छ पूरा गरेरै छाड्नेछु ।’

वडामा विशेषगरी भौतिक पूर्वाधार निर्माणअन्तर्गत सडकलाई पहिलो प्राथमिकतामा राखेको वडाध्यक्ष गुरुङले बताइन् । बाटोलाई पहिलो प्राथमिकतामा राखिएको छ भने शिक्षा, स्वास्थ्य, कृषिलाई क्रमशः प्राथमिकीकरण गरेर योजना निर्माण गरिएको छ । यो वडामा ग्रामीण भेग बढी भएकाले गाउँगाउँमा सडकको पहुँच मार्ग पुर्याउनु आवश्यक छ । यातायातको सहज पहुँच पुग्यो भनेमात्रै अन्य विकासका कार्य सञ्चालन गर्न सहज हुने अध्यक्ष गुरुङको भनाइ छ । संघीय संरचना लागू भएसँगै पहिलो निर्वाचन भएकाले पनि आवश्यक नीति नियम बनाउन र नयाँ पद्धति स्थापित गर्नेे काममा बढी केन्द्रित हुनुपरेको अध्यक्ष गुरुङले बताइन् ।

‘गाउँ कार्यपालिका तथा वडा कार्यालयमार्फत नयाँ–नयाँ कार्यक्रम ल्याएरमात्रै नहुने रहेछ,’ वडाध्यक्ष गुरुङले भनिन्, ‘समुदायस्तरबाट पनि चासो लिनु आवश्यक रहेछ । चासो लिएको खण्डमा वा दुवै पक्षको सामूहिक प्रयासबाट मात्रै सफलता हात लाग्ने रहेछन् ।’

स्वभावैले महिला अगाडि आएर आफ्ना कुरा व्यक्त गर्न नसक्ने तथा हिच्किचाउने अवस्था अझै पनि विद्यमान छ । यसलाई चिर्न महिला दिदीबहिनीलाई सशक्त बनाउन विशेष कार्यक्रम सञ्चालनमा रहेको वडाध्यक्ष गुरुङले बताइन् ।

दिदीबहिनी आफ्नो मनमा लागेका कुरा भन्नै हिच्किचाउने गरेको अनुभव वडाध्यक्ष गुरुङसँग छ । वडावासीका कुरा सुन्न, महिलाका कुरा सुन्न आफू गाउँगाउँमै जाने गरेको उनी बताउँछिन् । ‘हाम्रो समाजमा अझै पनि पितृसत्तात्मक सोच जीवितै छ,’ वडाध्यक्ष गुरुङले भनिन्, ‘हामी महिला भएर नेतृत्व सम्हाल्दै गर्दा त अझै पनि हामीमाथि कहिलेकाहीँ महिला भएकै कारण समाजको दृष्टिमा निर्णायक भूमिका खेल्न सक्दैनन् कि भन्ने संकीर्ण सोच राखेको देख्न अनि सुन्न पाउँछौं ।’

घरायसी कामधन्दामै व्यस्त रहने र पार्टीले दिएको जिम्मेवारीलाई सहजै स्वीकार गरी पार्टीका गतिविधि तथा संगठन विस्तारमा लाग्ने अर्जुनचौपारी–४ की जितकुमारी चपाईंलाई वडाध्यक्षमा उठ्छुजस्तो कहिल्यै लागेको थिएन ।

अखिल नेपाल महिला संघमा सक्रिय राजनीति गरेकी चपाईं जनप्रतिनिधि हुँदा बिहान, साँझ हिँडडुल गर्न गाह्रो हुन्छजस्तो लाग्ने गरेको बताउँछिन् । श्रीमान्को प्रेरणास्वरूप राजनीतिमा सक्रिय भएकी उनलाई आफू राजनीतिमा आउनुको पछाडि घरपरिवारको पूर्ण साथ र सहयोग रहेको वडाध्यक्ष चपाईंले बताइन् ।

‘महिलाले नेतृत्व गर्दैगर्दा कानुनी प्रक्रियामा थप सक्षम हुनुपर्छजस्तो लाग्यो,’ वडाध्यक्ष चपाईंले भनिन्, ‘समाजमा अझै पनि पितृसत्तात्मक सोच हाबी भएको देख्छु । जुन संस्कारले हामीले गर्ने निर्णय प्रक्रियामा पेल्न खोज्ने, काम गर्ने सिलसिलामा अप्ठ्यारो पार्र्न खोज्ने अनुभव मैले सँगालेकी छु ।’

निर्वाचनका बेला खानेपानीको समस्या रहेको रापाकोटको ठूलो दलित बस्तीमा र शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता गरेको वडाध्यक्ष चपाईं स्मरण गर्छिन् । सो ठाउँमा एक करोड १४ लाखको लागतमा २५० दलित बस्ती रहेको घरधुरीमा एक घर एक धारा योजनाअन्तर्गत खानेपानी वितरण गरिएको उनले बताइन् ।

वडामा विशेषगरी ग्रामीण सडक निर्माण, कच्ची सडकको स्तरोन्नति, मर्मत सुधार, सिँचाइ कुलो निर्माण तथा मर्मत, दलित बस्तीमा आरन हस्तान्तरण, पाडापाडी संरक्षण कार्यक्रम प्राथमिकताका आधारमा राखिएको वडाध्यक्ष चपाईंले थपिन् ।

धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्व राख्ने एकानन्द गुफामा मोटरबाटो निर्माण गरिएको, वडाभित्र रहेका उर्वर जमिनमा सिँचाइ सुविधा पुर्याउन कुलो निर्माण तथा पुराना कुलाको मर्मत–सम्भार गरिएको, खोलाखोल्सीमा पुलपुलेसा निर्माण गरी आवतजावतमा सहजता ल्याइएकोमा उनले खुसी व्यक्त गरिन् ।

वडाभित्र अझै पनि कतिपय घरधुरीमा आर्थिक अभावकै कारण कच्ची शौचालय रहेका वा शौचालय नै नभएका घरमा पक्की शौचालय वडाले निर्माण गरिदिएको छ । “भैंसीका पाडापाडी संरक्षण नगरेकै कारण अहिले भैंसीको मूल्य वृद्धि भएको छ,’ वडाध्यक्ष चपाईंले भनिन्, ‘हामीले पाडापाडी संरक्षणका लागि विशेष कार्यक्रम ल्याएका छौं । जसले पाडापाडी संरक्षण गर्न सघाउ पुग्ने र भैंसीको अहिले आकासिएको मूल्य घट्ने अनुमान छ ।’

वडाले महिला, बालबालिकाका क्षेत्रमा पनि विशेष कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष चपाईंले प्रस्ट्याइन् । वडावासीले जुन अपेक्षा राखेर आफूलाई विजयी बनाएर नेतृत्व गर्ने अवसर दिनुभएको छ, त्यसलाई शिरोधार्य गर्दै लक्ष्य प्राप्तिका लागि निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्नेगरी निरन्तर अगाडि बढेकोमा उनी गौरवान्वित छिन् ।

एसएलसी परीक्षा उत्तीर्ण गरेर स्थानीय संस्थागत विद्यालयमा अध्यापन कार्य गर्दै महिला तथा बालबालिकाको मनोसामाजिक क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा कामको अनुभव सँगालेकी छन्– केशमाया थापाले । राजनीति नगरेको तर सामाजिक कार्यमा सक्रिय भएकै कारण वडाध्यक्षको उम्मेदवार भएपछि राजनीतिमा प्रवेश गरेकी थापाले आफूलाई कोपिला नेपालमार्फत स्थानीयसँग परिचित हुन र सामाजिक काममा सक्रिय हुने अवसर मिलेको बताइन् ।

‘हालको हरिनास साबिकको क्याक्मी गाविस विकट रहेकै कारण पनि केही गाउँमा विद्युत् पुगेको थिएन । यहाँका जनता अँध्यारोमा बस्न बाध्य थिए,’ वडाध्यक्ष थापाले सुनाइन्, ‘मैले निर्वाचनका बेला स्थानीयसँग गाउँलाई उज्यालो बनाउनेसहितका गाउँका जल्दोबल्दो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी थिएँ । जनताले विश्वास गर्नुभयो र विजयी बनाउनुभयो ।’

निर्वाचनका समयमा जनतामाझ विद्युतीकरण गर्ने प्रतिबद्धता आफूले पूरा गरेको र अन्य समस्याबारे निरन्तर लागिरहेको उनले बताइन् । वडाले विशेषगरी विद्युतीकरण, सडक, कृषि, खानेपानी, सिँचाइलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी महिला, अपाङ्गता भएका वा ज्येष्ठ नागरिकलाई दृष्टिगत गर्दै टोलटोलमै पुगेर शिविरमार्फत अपांगता परिचयपत्र, नागरिकता वितरण गरेको उनले जानकारी गराइन् ।

‘यहाँका युवकयुवतीलाई कृषि तथा पशुपालनतर्फ आकर्षित गर्न सकियोस् भनेर हामीले कृषि तथा पशुपालन कार्यक्रमका लागि बजेट धेरै विनियोजन गरेका छौं,’ वडाध्यक्ष थापाले थपिन्, ‘कृषकलाई प्रोत्साहन दिन, बीउविजन खरिद तथा यान्त्रिक उपकरण उपलब्ध गराउँदै आएका छौं । उत्पादित वस्तुको बजारीकरणका लागि समेत समन्वयकारी भूमिका खेलेका छौं ।’

स्याङ्जामा हाल तीन वडाध्यक्षसहित जिल्ला समन्वय समिति र पुतलीबजार नगरपालिकाको प्रमुखमा महिलाको नेतृत्व रहेको छ । जिल्ला समन्वय प्रमुखमा सीताकुमारी सुन्दास र पुतलीबजार नगर प्रमुखमा सीमाकुमारी क्षेत्रीले नेतृत्व गरिरहेका छन् । सुन्दास जिल्ला समन्वय महासंघ केन्द्रीय अध्यक्षसमेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्