एउटै पानीको मुहानमा ३०० घरपरिवार आश्रित



कास्की । जंगलछेउमै पानीको मूल । मूलबाट बगेको पानी सिधै हात थापेर पिउन सकिन्छ । प्राकृतिक जलस्रोत तीतेपानीको मूलको पानी वैज्ञानिक परीक्षणबाट पनि सिधै पिउन योग्य प्रमाणित भएको छ ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र रानीवनछेउमा रहेको प्राकृतिक पानीको मूलका कारण ठाउँको नाम नै तीतेपानी भए पनि यहाँको पानी अति स्वादिलो भएको उपभोक्ता बताउँछन् । बिहानदेखि बेलुकासम्म यहाँ पानी लिन आउनेको लर्को नै लाग्छ । धेरैै स्थानमा तातोपानी, खारापानी, नुनिलोपानीलगायतका विभिन्न स्वादका पानी भेटिए पनि तीतेपानी भनेर अन्यत्र खासै सुन्न र उपयोग गर्न नपाएको इन्जिनियर जीवन शेरचनले बताए ।

खानेपानी संस्थान पोखरा शाखाका पूर्वप्रमुखसमेत रहेका शेरचनका अनुसार विगत १० वर्षअघि प्रयोगशालामा परीक्षण गर्दा सो पानी सिधै पिउन मिल्ने प्रमाणित भएको हो । पोखरामा खानेपानीको व्यवस्था नहुने अवस्थादेखि नै सो पानीको स्रोतको उपयोग गर्दै आएको हुँदा जनस्वास्थ्यको ख्याल राखी पानीको परीक्षण गरिएको उनको भनाइ छ ।

जंगलछेउमा जमिनमुनिबाट आएको प्राकृतिक स्रोतको पानी कुनै पनि उपचार नगरी सिधै पिउन सकिन्छ । बिहानी मिर्मिरेदेखि राति १२ बजेसम्म पानी भर्ने उपभोक्ताको लाइन लाग्ने गरेको स्थानीय दानबहादुर शाही बताउँछन् । पानीको स्वाद चाखेका पोखरा–१७ लगायत वडा नम्बर ७ र ८ का बासिन्दा पानी लिनका लागि अहिले पनि तीतेपानी मूलमा आउने गरेका छन् ।

मूलको पानी पाइप विस्तार गरेर नमुनाटोल र अमलेटोलका झन्डै ३०० घरपरिवारले उपयोग गर्दै आएको स्थानीय उपभोक्ता धर्मदत्त तिमिल्सिनाले जानकारी दिए । लामो समयदेखि निरन्तर सिधै उपयोग गर्दै आएको सो क्षेत्रका उपभोक्तालाई आजसम्म पानीका कारण स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको उनले भने, ‘तीतेपानी मूलको पानी एकपटक खाएपछि छोड्नै मन लाग्दैन ।’

तीतेपानीको स्रोत, शान्त वातावरण एवम् मनोरम सो स्थानमा रहेको लगभग १० रोपनी सार्वजनिक जग्गामा पानी संकलन ट्याङ्कीका साथै पार्क, विश्रामस्थल, शौचालय एवम् किरियापुत्री भवनसमेत निर्माण गर्ने योजना अघि सारिएको इन्जिनियर किसानसिं गुरुङ बताउँछन् ।

तीतेपानी मूलसँगै रहेको रानीवनलाई सरकारले जैविक विविधता उद्यानका रूपमा विकास गर्न गुरुयोजना निर्माण गरेर कामको थालनीसमेत गरेको छ । निर्माण कामले भने तीव्रता पाउन सकेको छैन । सो क्षेत्रमा भौतिक संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उक्त निर्माणका लागि ३५ लाख रुपैयाँमा खर्च लाग्ने पुर्वानुमान छ । छरिएर रहेका पानीका स्रोतलाई एकीकृत गरी पानी संकलन ट्याङ्कीमा जम्मा गरिनेछ ।

हिउँदका महिनामा मंसिरदेखि वैशाखसम्म सो मूलमा पानी कम भए पनि वर्षाका समयमा भने प्रशस्त हुने गरेको छ । मूलको पानी वर्षात्का समयमा उपभोक्ताले खानेपानीसहित कृषि उत्पादनमा समेत प्रयोग गर्दै आएका छन् । मूलबाट सिधै पिउन उपयुक्त पानी विरलै पाइन्छ । यस्तो पानीलाई लेबल लगाएर बजारमा बिक्री वितरण गर्ने हो भने त्यही पानी आयआर्जनको माध्यमसमेत बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्