बम विस्फोट गर्दै वैज्ञानिकको घर ध्वस्त पारेपछि हिटलरको रिस मत्थर



क्वान्टम सिद्धान्तको प्रतिपादन भौतिक विज्ञानको इतिहासमा एक युग परिवर्तन गर्ने महत्वपूर्ण घटना हो । यसको अन्वेषण जर्मनीका प्रसिद्ध वैज्ञानिक म्याक्स प्लाङ्कले गरेका थिए । उनको पूरा नाम म्याक्स कार्ल अर्नस्ट लुडविग प्लाङ्क थियो ।

जर्मनीका जन्मेका यी महान् वैज्ञानिकले क्वान्टम सिद्धान्तलाई प्रस्तुत गरेर विश्वमा तहल्का मच्चाएका थिए । डिसेम्बर १९०० मा यी महान् वैज्ञानिकले पदार्थ र विद्युत् चुम्बकीय विकरणबीच ऊर्जाको विनियमबाट सम्बन्धित सिद्धान्त प्रस्तुत गरेका थिए, जुन केही समयपछि क्वान्टम सिद्धान्तको नामबाट प्रसिद्ध भयो । यो सिद्धान्त चिरसम्मत भौतिकीबाट भिन्न थियो । सुरुमा यसले भौतिकविज्ञानलाई नै प्रभावित गरेको थियो तर पछि जीवशास्त्र, चिकित्साशास्त्र र इन्जिनियरिङजस्ता क्षेत्रमा पनि क्रान्ति उत्पन्न ग¥यो । यो सिद्धान्तको परिणाम नै नयाँ–नयाँ निहारिकाको खोज सम्भव भयो ।

म्याक्स प्लाङ्कको विषयमा जानकारी लिनुभन्दा पहिले उनीद्वारा प्रतिपादित क्वान्टम सिद्धान्तको विषयमा जानकारी पाउन आवश्यक छ । जनसामान्यका शब्दमा यस सिद्धान्तलाई बुझ्न धेरै गाह्रो छ तर फेरि पनि पदार्थ र विद्युत् चुम्बकीय विकरणबीच ऊर्जा–विनियमका केही विभक्त बन्डल (डिस्क्रिट फ्याकेज)मा हुने गर्छ । प्रत्येक बन्डललाई क्वान्टम भन्ने गरिन्छ । क्वान्टम ल्याटिन शब्द हो, जसको अर्थ ‘मात्रा’ हुन्छ । प्रकाशको एक क्वान्टमलाई ‘फोटोन’ भन्ने गरिन्छ ।

म्याक्स प्लाङ्कको क्वान्टम सिद्धान्त कति जटिल थियो भने प्रारम्भमा यसको महत्वलाई बुझ्ने प्रथम व्यक्ति अल्बर्ट आइन्स्टाइनमात्र थिए । यही सिद्धान्तका आधारमा उनले फोटो इलेक्ट्रिक इफेक्टको विवेचना गरेका थिए । एक समय यस्तो पनि थियो, जब म्याक्स प्लाङ्कको क्वान्टम सिद्धान्तलाई वैज्ञानिकहरूले मान्न अस्वीकार गरे ।

कालान्तरमा वैज्ञानिकहरूले भने, ‘क्वान्टम सिद्धान्त नै यस्तो सिद्धान्त हो, जुन भौतिकविज्ञानको प्रत्येक समस्यालाई हल गर्न सक्छ ।’ यो सिद्धान्तलाई ठोस आधार दिने वैज्ञानिक थिए, आइन्स्टाइन, डिब्रो गली, रदर फोर्ड, डैविसन, पैली, हैजिनवर्ग, स्रोडिन्गर आदि । क्वान्टम सिद्धान्तका प्रवर्तक म्याक्स प्लाङ्कको जन्म जर्मनीको किलमा भएको थियो । उनका पिता जुलियस विलहेल्म किल कानुनका प्रोफेसर थिए ।

म्याक्स प्लाङ्कले म्युनिख र बर्लिन विश्वविद्यालयमा पढेका थिए । बर्लिन विश्वविद्यालयमा यिनले विश्वप्रसिद्ध वैज्ञानिक किरचौफ र हैल्महोल्जको रेखदेखमा काम गरेका थिए । सन् १८७९ मा उनले म्युनिख विश्वविद्यालयबाट पीएचडी उपाधि प्राप्त गरेका थिए । प्लाङ्कले उपाधि प्राप्त गरेपछि सन् १८८० देखि १८८५ सम्म भौतिकविज्ञान पढाए । प्लाङ्कको जीवनमा जुन क्रान्तिकारी तथा परिवर्तनकामी विचार आए, ती फिरचौफबाट प्रभावित विचार थिए । सन् १८८५ पछि उनी किल विश्वविद्यालयमा एसोसियट प्रोफेसर बने । १८८९ मा बर्लिन विश्वविद्यालयमा किरचौफको स्थानमा प्लाङ्क नियुक्त भए ।

किरचौफद्वारा प्राप्त प्रेरणाले उनले उष्मा गतिको क्षेत्रमा काम गर्न सुरु गरे । उनले यस विषयमाथि शोधपत्रको क्षेत्रमा काम सुरु गरे । प्लाङ्क उष्मा गतिको अध्ययनका साथै विकीरणसम्बन्धी समस्याको पनि अध्ययनमा लागे । आफ्ना यिनै अध्ययनमा उनलाई प्रकाशका विभिन्न रंगको ऊर्जाको विकीरण समस्यामा अनुसन्धान गर्ने प्रेरणा प्राप्त भयो । उनले ब्लेक–बौडीबाट निस्किएका विकीरणको अध्ययन र प्रयोगबाट यस किसिमका प्रमाण प्राप्त गरे, जुन प्रचलित भौतिकविज्ञानका परिणामबाट भिन्न थिए । आफ्नो अभूतपूर्व प्रयोगद्वारा उनले ऊर्जा र विकीरणको आवृत्तिबीच एक सम्बन्ध स्थापित गर्ने सफलता प्राप्त गरे ।

सन् १९०० मा प्रकाशित उनको शोधपत्र क्रान्तिकारी क्वान्टम सिद्धान्तका आधार बन्यो । उनले प्रमाणित गरे– जुन विकीरण निरन्तर निस्किरहेको हामी देखिरहेका छौँ, ती ऊर्जाका अत्यन्त सूक्ष्म प्याकेटका रूपमा निस्कने गर्छन् । म्याक्स प्लाङ्कलाई अनेकौँ सम्मान प्राप्त भए । सन् १९२६ मा उनलाई रोयल सोसाइटीको विदेशी फेलोमा मनोनीत गरियो । १९२८ मा उनलाई रोयल सोसाइटी कोप्लेको पद पनि दिइयो । सन् १९२८ मा क्वान्टम सिद्धान्तका निम्ति भौतिकविज्ञानको नोबेल पुरस्कार प्रदान गरियो ।

सन् १९२७ मा सेवामुक्त भए पनि म्याक्स प्लाङ्कले विज्ञानको खोजीमा निरन्तर लागिरहे । उनी कैसर विलहेल्म सोसाइटीका अध्यक्ष भए । त्यसपछि जर्मनीको स्थिति खराब भयो । त्यहाँ हिटलरको तानाशाही व्यवस्था स्थापना भयो । जर्मनीमा नाजी सरकार स्थापित हुँदै गर्दा प्लाङ्कलाई अनेकौँ कठिनाइ आइलागे । वास्तवमा यो उनको जीवनको सबैभन्दा ठूलो पीडा थियो । उनी आफ्नो देश जर्मनीमा बसेर विज्ञानको खोजी गर्न मन पराउँथे । उनी नाजी सरकारको यहुदीविरोधी नीतिको कट्टर विरोध गर्थे ।

सन् १९४४ मा हिटलरको हत्या गर्ने असफल प्रयास गरेको आरोपमा उनको छोरालाई फाँसीको सजाय दिइयो । यो घटनाले उनलाई विक्षिप्त बनायो । दोस्रो विश्वयुद्धको अन्तिम समयतिर उनको घर बमले नस्ट पारियो । यसले उनको जीवन झन् कष्टकर बन्यो । ४ अक्टोबर १९४७ मा गाटिजनमा यी युग परिवर्तनकारी वैज्ञानिकको निधन भयो । प्लाङ्कका सहयोगी उनलाई वैज्ञानिक गुणका निम्ति आदर गर्थे । उनी संगीतका यति प्रेमी थिए कि एकपटक त उनले संगीतलाई आफ्नो करिअर बनाउने प्रयास गरेका थिए । आज पनि उनको नाममा स्थिरांक प्रयोग गर्ने गरिन्छ, जसलाई प्लाङ्कको स्थिरांक भन्ने गरिन्छ । यो क्वान्टम सिद्धान्तमा धेरै प्रयोग गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्