पिसाब फेर्दा कुकुरले एउटा खुट्टा किन उचाल्छ ?



कुकुरले पिसाब फेर्दा एउटा खुट्टा उचाल्ने गरेको हामीले सधैं देख्दै आएका छौं । यसबारे त एउटा ठट्टा नै बनाइको छ । धेरै पहिले एउटा कुकुर भित्तामा पिसाब फेरिरहँदा भित्ता भत्किएर त्यो कुकुरको मृत्यु भएको थियो रे ।

यो देखेर अरू कुकुरले पाठ सिके रे । र, पिसाब फेरिरहँदा भित्ता नभत्कियोस् भनेर उनीहरूले भित्ता थाम्नका लागि एउटा खुट्टा उचाल्न थाले रे । यो त भयो प्रचलित ठट्टा । के यसमा सत्यता छ ? छैन किनभने कुकुरले यसरी ‘पाठ’ सिक्नै सक्दैन । त्यसो भए कुकुरको यो अनौठो व्यवहारको वैज्ञानिक कारण के होला ?

धेरै स्तनधारी प्राणीले आफ्नो क्षेत्र निर्धारण गर्छन् । आफ्नो सीमा निर्धारण गर्न उनीहरूले विभिन्न उपाय अपनाउँछन् । उदाहरणका लागि भालुले आफ्नो क्षेत्रमा रहेका रूखमा नङले खोपेर निशाना बनाउँछन् । यसो गर्दा उनीहरू रूखको तल्लो भागमा नभई, जतिसक्दो माथि निशाना बनाउन खोज्छन्, जसले गर्दा अरू भालुले त्यस क्षेत्रको भालु कति ठूलो र डरलाग्दो छ भन्ने कुरा थाहा पाओस् ।

जंगली बिरालो पनि आफ्नो क्षेत्रवरिपरि माथिमाथिसम्म पिसाब फेरेर अरू बिरालोलाई आफ्नो क्षेत्रको जानकारी दिन्छन् ।

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेर्ने कारण पनि यही हो । कुकुरको गन्ध प्रचुर हुन्छ । उनीहरूले आफ्नो गन्ध त्यस्ता ठाउँमा छाड्छन्, जुन ठाउँमा अरू कुकुरले सजिलै सुँघ्न सक्छ । र, यसरी पिसाब फेरेर गन्ध छोड्नेक्रममा त्यो क्षेत्रमा निकै ठूलो र भयानक कुकुरको ‘राज’ छ भन्ने देखाउन सकेसम्म माथिसम्म पिसाब फेर्छन् । सकेसम्म माथिसम्म पिसाब फेर्ने एउटै उपाय हो– एक खुट्टा उचालेर अलिकति ढल्किने ।

कुकुरको पिसाबमा फेरोमोन नामक रसायन हुन्छ । यसले कुकुरबारे धेरै कुरा बताउँछ । जस्तै– कुकुरको लिंग, स्तर । यतिसम्म कि त्यसबाट कुकुरले खाने खानाबारे पनि थाहा पाउन सकिन्छ । हरेक कुकुरको पिसाबको गन्ध भिन्न हुन्छ । पिसाबको गन्ध एउटा कुकुरको पहिचान हो । पिसाबको गन्ध छरेर आफ्नो सीमा निर्धारण गर्ने काम विशेषगरी भाले कुकुरले मात्र गर्छ ।

प्रतिक्रिया दिनुहोस्