२३ वर्षमै पिसा विश्वविद्यालयमा गणितको प्राध्यापक



ग्यालिलियो र पिसाको झुकेको धरहराको कथा विज्ञान–इतिहासमा महत्वपूर्ण घटना मान्ने गरिन्छ । २३ वर्षको उमेरमा ग्यालिलियो पिसा विश्वविद्यालयमा गणितको प्राध्यापकमा नियुक्त भए । उनले एउटा धार्मिक ग्रन्थमा के पढेका थिए भने यदि समान उचाइबाट फरक–फरक दुई तौल भएका वस्तु एकसाथ खसाल्ने हो भने बढी तौल भएको वस्तु कम तौल भएको वस्तुको तुलनामा जमिनमा पहिले झर्छ ।

वास्तवमा यो अरस्तुको कथन थियो । ग्यालिलियोलाई उक्त कथन कत्ति पनि मन परेको थिएन । ग्यालिलियो नै पहिलो व्यक्ति थिए, जसले यो कथनलाई गलत प्रमाणित गरेर देखाए ।

परम्परागत कथाअनुसार ग्यालिलियोले यस कथनलाई गलत प्रमाणित गर्न पिसाको झुकेको १८० फिट उचाइ भएको धरहरालाई छाने । सन् १५९० मा उनी सिँढीबाट चढेर धरहराको सातौँ तलाको छानोमा चढे । उनले आफूसँग धातुले बनेका दुईवटा गोला पनि लिएर गएका थिए, जसमा एकको तौल सय पाउन्ड थियो, अर्काको एक पाउन्ड । ग्यालिलियोको यो प्रयोग हेर्नलाई हजारौँ मानिसको घुइँचो लागेको थियो । भीडमा पिसा विश्वविद्यालय प्रोफेसर, दार्शनिक र विद्यार्थी पनि सहभागी थिए । उनीहरूमध्ये केही यस्ता रुढीवादी व्यक्ति पनि थिए, जो हजारौँ वर्षदेखि चल्दै आएको यस मान्यताबाहेक अर्को कुराको कल्पनासमेत गर्न तयार थिएनन् । उनीहरू ग्यालिलियोलाई गाली पनि गरिरहेका थिए ।

ग्यालिलियोले दुइटै गोलालाई छानोमुन्तिरको बाहिरी भागमा सावधानीपूर्वक सन्तुलित गरेर झुन्ड्याएका थिए । मानिसको भीड बढ्न थाल्यो । उनले दुईटै गोलालाई एकैसाथ तल खसाले । भीडका अधिकांश मानिसको विश्वास थियो, निश्चित रूपले ग्यालिलियो सबैसामु मूर्ख प्रमाणित हुनेछन् तर त्यसबेला उनीहरूको आश्चर्यको ठेगान रहेन, जब सबैको आँखासामु दुवै गोला जमिनमा एकसाथ झरे ।

ग्यालिलियोको यो प्रयोगपछि वर्षौंदेखि चलिरहेको प्रवल मान्यता गलत प्रमाणित भयो । यस कथामा कति सत्यता छ, यस विषयमा मानिसका फरक–फरक मान्यता छन् । के कुरा सत्य हो भने यस विषयमा मानिसको फरक विचार हुन सक्छ तर ग्यालिलियोले गुरुत्वाकर्षणको यस वैज्ञानिक नियमको विषयमा धेरै कुरा जानेका थिए र सम्भवतः यही आधारमा उनले यस तथ्यलाई सिद्ध गर्न सके ।
ग्यालिलियोले यो प्रयोग गरेको चार सय वर्षभन्दा बढी बितिसकेको छ तर आज पनि विश्वका महान् वैज्ञानिकहरूमा उनको नाम सर्वश्रेष्ठ स्थानमा आउँछ । ग्यालिलियो नै पहिलो व्यक्ति थिए, जसले हजारौँ वर्ष पुरानो धार्मिक पुस्तकमा लिपिबद्ध कथनलाई वैज्ञानिक तथ्यका आधारमा गलत सिद्ध गरेर देखाए । जब कि उनको समयमा आधुनिक उपकरण थिएनन् ।

इटलीमा जन्मेका ग्यालिलियोको बाल्यकालदेखि नै विज्ञान र प्रकृति जगत्मा हुने घटनाको विषयमा विशेष रुचि थियो । यही कारण नै उनले प्रकृतिको प्रत्येक प्रक्रियालाई वैज्ञानिक दृष्टिबाट हेर्ने प्रयास गरेका थिए, जसबाट आश्चर्यजनक परिणाम पनि प्राप्त गरे ।
त्यतिबेला उनको उमेर १७ वर्षको थियो । एक साँझ उनी आफ्नो सहर पिसाको गिर्जाघरमा प्रार्थना गर्न गएका थिए । त्यसबेला गिर्जाघरको चौकीदारले फलामको साङ्लोले झुन्ड्याइएको बत्ती जलाए । उसले बत्तीबाट हात हटाउनबित्तिकै बत्ती दायाँबायाँ हल्लिन थाल्यो । बत्ती हल्लिएको देखेर ग्यालिलियोले के अनुभव गरे भने बत्तीको यताउता हल्लिने समय समान नै रहने गर्छ । यद्यपि, हल्लिने दूरी धेरै होस् अथवा थोरै यस कुराको कुनै महत्व रहँदैन ।

त्यो समयमा घडीको आविष्कार भएकै थिएन तर चिकित्साविज्ञानको विद्यार्थी भएका कारण उनलाई के थाहा थियो भने मनुष्यको नाडीको प्रत्येक धड्कनमा समान समय लाग्ने गर्छ । यसकारण आफ्नो प्रेक्षणको जाँच गर्न उनले बत्तीको हल्लिने संख्यालाई गणना गर्न नाडीको धड्कन गन्ने निर्णय गरे । यस परीक्षणका क्रममा पनि उनको धारणा सत्य साबित भयो ।

ग्यालिलियोले थाहा पाए, वस्तु सानो होस् अथवा ठूलो, सबैलाई हल्लिने समय समान लाग्छ । यस तथ्यका आधारमा उनको दिमागमा एक यन्त्र निर्माण गर्ने विचार उन्पन्न भयो, जसलाई आज सरल ढोलक भनिन्छ । यस तथ्यका आधारमै उनले एक अर्को यन्त्र आविष्कार गरेका थिए, जसलाई ‘नाडी स्पन्दन मापी’ भनिन्छ । कैयौं वर्षपछि ग्यालिलियो वृद्ध र अन्धा हुन पुगे । उनका छोरा विन्सेजीले तथ्यको यही आधारमै भित्तेघडीको मोडल बनाए । आज पनि यही आविष्कारका आधारमा भित्तेघडी निर्माण गर्ने गरिन्छ ।

ग्यालिलियोले अथक परिश्रम गरेर दूरबीन आविष्कार गरेका थिए । उनले आफ्नो एक पुस्तकमा लेखेका छन्– जब यस दूरबीनको निर्माणसम्बन्धी समाचार भेनिस दरबारमा पुग्यो, मलाई राजा सिग्नोरियाले पत्र पठाए । मेरो यन्त्रले राजदरबारलाई चकित पारिदियो ।
धेरैजसो कुलीन व्यक्ति यस यन्त्रलाई लिएर भेनिसमा रहेको गिर्जाघरको सबैभन्दा ठूलो धरहरामा चढे । उनीहरूले दूरबीनबाट पालदार जहाज हेरे । दूरबीनबाट हेर्दा ती जहाज १० गुणा नजिक देखिन्थे ।

एक महिनासम्म ग्यालिलियोको दूरबीनको जाँच अनेकौँ मानिसले गरे । यसपछि ग्यालिलियोले दूरबीनको सहायताबाट आकाशसम्बन्धी धेरै अध्ययन गरेका थिए । यस यन्त्रबाट हेर्दा उनलाई थाहा भयो, चन्द्रमाको सतहमा पहाड र मैदान छ । यही यन्त्रको सहायताले उनले वृहस्पति उपग्रह खोजी गरेका थिए । उनले के पनि प्रमाणित गरे भने हाम्रो आकाशगंगा धेरैजसो तारा मिलेर बनेको छ ।

सूर्य ब्रह्माण्डको केन्द्र होइन बरु पृथ्वी नै ब्रह्माण्डको केन्द्र हो भन्ने कापरनिकसको विचारलाई ग्यालिलियोले गलत पुष्टि गरे । ग्यालिलियोले भने, ‘पृथ्वी ब्रह्माण्डको केन्द्र होइन बरु पृथ्वी र अन्य सबै ग्रह सूर्यको चारैतिर घुम्ने गर्छन् ।’

सन् १६१६ मा ग्यालिलियोले सूर्य स्थिर बस्छ र सूर्यको वरिपरि पृथ्वीले परिक्रमा गर्छ भन्ने सिद्धान्त पत्ता लगाए । त्यसको दुई दिनपछि उनले चर्चका अधिकारीसामु हाजिर हुनुपर्यो । उनलाई सरकारले पनि चेतावनी दियो, ‘तिम्रो प्रचार तुरुन्त बन्द गर ।’

भनिन्छ– कट्टर क्याथोलिकको चेतावनी पछि ग्यालिलियोले सन् १६३० सम्म यो सिद्धान्तको विषयमा कुनै प्रचार गरेनन् । यसपछि उनले आफ्नो प्रसिद्ध पुस्तक ‘dialouges concerning the two principal system of the world’ प्रकाशित गरे । पुस्तकमा उनले आफ्ना विचारलाई खुला रूपमा प्रस्तुत गरे । पुस्तक प्रकाशित भएपछि उनीमाथि महाअभियोग लगाइयो ।

सत्तरी वर्षका यी बूढा वैज्ञानिक पुनः न्यायालयमा उपस्थित भए । अधिकारीहरूले उनलाई भने, ‘यदि आफ्ना भनाइ झुठो हो भन्छौ भने तिमीलाई माफ गर्न सकिन्छ ।’

अधिकारीहरूको यो भनाइपछि उनी न्यायालयमा आफ्नो भनाइ अस्वीकार गर्नका निम्ति हाजिर भए । उनको मन पश्चातले जल्यो । त्यसबेला उनले भुइँतिर हेर्दै फुसफुसाउँदै भने, ‘पृथ्वी नै सूर्यको चारैतर्फ घुम्ने गर्छ ।’ ग्यालिलियोको यो भनाइपछि अधिकारीहरू तीनछक परे ।

यी भनाइका कारण उनले जेल सजाय भोग्नुप¥यो । करिब सात वर्षको जेलजीवनपछि उनी बाहिर निस्किए । जेलबाट बाहिर निस्किएपछि सन् १६३७ मा उनी अन्धा भए ।

अन्धो भएपछि कष्टकर जीवन बिताइरहेका ग्यालिलियोको सन् १६४२ जनवरीमा निधन भयो । उनी यस्ता वैज्ञानिक थिए, जो जीवनभरि सत्यको खोजीमा निरन्तर लागिरहे । आज पनि उनको नाम विश्वमा आदरका रूपमा लिइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्