९० वर्षीयाको सक्रिय समाजसेवा



भद्रकुमारी घलेले गुरुङ समुदायमा निकै ठूलो योगदान गर्दै आएकी छन् । संवत् १९८७ मा जन्मेकी घले गुरुङ समुदायका लागि एउटा असल, सहयोगी र उदाहरणीय पात्र बनेकी छन् । उनी गुरुङ समुदायको इतिहासमा सक्रिय भएर राजनीति गर्ने पहिलो महिला राजनीतिज्ञसमेत हुन् ।

राजनीतिमा मात्र सक्रिय नभएर साहित्य र समाजसेवामा पनि उनको उल्लेखनीय योगदान रहेको छ । आफ्नो विचार प्रस्ट र प्रखर रूपमा पस्कने घले, गुरुङ समुदायका लागि प्रेरणा, सहयोगी, साहसी र सफल पात्र हुन् । उमेरले ८५ वर्ष पुगेकी उनले आफ्नो जीवनको राजनीतिक यात्रासँगसँगै साहित्य क्षेत्रलाई निरन्तरता दिँदै गुरुङ समुदायको इतिहास केलाउन निकै ठूलो भूमिका खेलेकी छन् ।

गरिब, जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले ०६६ मा छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी घलेले हालसम्म धेरै विद्यार्थीलाई शिक्षा क्षेत्रमा सहयोग गरिसकेकी छन् र गरिरहेकी छन् । समाजसेवाका नाममा निरन्तर आर्थिक सहयोग गर्दै आएकी घले आपूmले जुन उद्देश्यका लागि सहयोग गर्न चाहेको हो, त्यो सहयोगको सही उपयोग गर्नुपर्ने आग्रह गर्छिन् । ‘मेरो समाजसेवाको रहर मेटाउन भद्रकुमारी घले सेवा सदन स्थापना गरेकी हुँ,’ उनले भनिन् ।

०४६ मा तमू बौद्ध सेवा समिति स्थापना भएदेखि नै समितिको अभिभावकको भूमिका निर्वाह गर्दै आएकी घले हाल समितिको सल्लाहकार हुन् । गुरुङ समाजको एक असल अभिभावकसमेत रहेकी उनले गुरुङ समाज र व्यक्तिलाई निरन्तर आर्थिक सहयोग गर्दै आएकी छन् । उनले स्थापना गरेको अक्षयकोषको छात्रवृत्ति सहयोगबाट गरिब तथा जेहेनदार विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन पाएका छन् । भन्छिन्, ‘मैले सकेसम्म तन, मन र धन सबैले सहयोग गरेकी छु ।’ साहित्य, निबन्ध र कवितासमेत लेख्ने घलेले यी सबै कुरामा कोही छुटेको हुन सक्ने र कसैलाई धेरै गाली गरेको हुन सक्ने बताउँछिन् । ‘कसैलाई मैले धेरै गाली गरेको हुन सक्छु, त्यसमा म बूढीमान्छेलाई अभिभावक मानेर क्षमा दिनुहोला,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्