हलेसी क्षेत्रकै पहिलो क्याम्पस ९ वर्षमा



हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईको मुहार उज्यालो देखिन्थ्यो । हलेसी क्षेत्रकै पहिलो हलेसी क्याम्पसको नवौं वार्षिकोत्सवमा वडाध्यक्ष राईको मुहार उज्यालो देखिएको हो । ‘क्याम्पसलाई क्याम्पसजस्तो बनाउन सबै लागिपरौं,’ उनले हौसला थपे, ‘क्याम्पसको पूर्वाधार विकासनिम्ति सम्बन्धित निकायमा हारगुहार माग्ने वचन दिए ।’

वडाध्यक्ष राईभन्दा प्रमुख अतिथि झन् धेरै खुसी देखिन्थे । बौद्धगुरु टुकु पेमा वाङ्गेल रिम्पोछेका प्रतिनिधि तथा प्रमुख अतिथि ङवाङ ल्याप्सुङले गुरु टुकु पेमा वाङ्गेल रिम्पोछेको सपना हलेसी क्याम्पसमार्फत फुलेकामा असाध्यै खुसी भएको सुनाए ।

दुई वक्ताले खुसीको सञ्चार गराइहँदा विशेष अतिथि हरिश्चन्द्र गिरीले गुनासाका पोको खोले । क्याम्पसका संस्थापक सञ्चालक समिति अध्यक्ष तथा चन्दादाता गिरीले हलेसीमा क्याम्पस स्थापना हुँदा गरिबका छोराछोरीले घरकै सिठोपीठो खाएर उच्च शिक्षा हासिल गर्न पाए पनि स्थानीय तह सरकारको सहयोग नपाएकोमा दुःखेसो पोखे ।

छोरा नवीन चाम्लिङले आमाको भागिसरा राईको सम्मान र सम्झनामा स्थापना गरेको छात्रवृत्ति चाम्लिङका बाबु अर्जुनबहादुर राईले हस्तान्तरण गरेका थिए । हलेसी क्याम्पसमा अध्यापनरत शिक्षण सहायकसमेत रहेका नवीन चाम्लिङद्वारा स्थापित ‘स्व. भागिसरा राई स्मृति छात्रवृत्ति अक्षयकोष’ हलेसी क्याम्पसमा अध्ययनरत चारजना जेहेनदार छात्रछात्रालाई जनही २ हजार ५ सयका दरले १० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिँदा पररर्र बजेको ताली परपरसम्म सुनिन्थ्यो ।

विद्यार्थीको नियमितता, जेहेनदार र अघिल्लो तह र वर्षको प्राप्तांकलाई आधार मानेर छात्रवृत्ति प्रदान गरिएको छात्रवृत्ति स्थापना गर्ने अध्यापक चाम्लिङले जानकारी गराए । उनले भने, ‘छात्रवृत्तिले गरिब तथा जेहेनदार विद्यार्थी लाभान्वित हुनुका साथै उनीहरूलाई हौसला थपिएको छ ।’

६७ जना छात्रछात्रा अध्ययनरत क्याम्पसको नवौं वार्षिकोत्सवमा क्याम्पस प्रमुख चक्रबहादुर राईले शैक्षिक गतिविधि प्रस्तुत गरेका थिए ।
क्याम्पस स्थापनाताका बौद्ध गुरु टुकु पेमा वाङ्गेल रिम्पोछेले १६ लाख रुपैयाँ सहयोग गरेका थिए ।

हलेसीका युवा व्यवसायी भूपेन्द्र राईका बुवा मानबहादुर राई र आमा मनशोभा राईले क्याम्पसका लागि माल्खुमा रहेको १ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । क्याम्पसका लागि राईद्वयका साढे १३ रोपनी किनिएको थियो ।

तत्कालीन संविधानसभा सदस्य माननीय पीके राईले क्याम्पसका लागि संसदीय कोषबाट २ लाख ८६ हजार उपलब्ध गराएका थिए ।
यसैगरी, तीनपटक लगाइएको पुराणलगायत अन्यबाट संकलित रकमले एकतले चारकोठे पक्की भवन निर्माण गरिएको थियो ।

हलेसी क्याम्पसको नवौं वार्षिकोत्सव क्याम्पस सञ्चालक समिति अध्यक्ष शुक्रबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो । ‘क्याम्पसका भौतिक संरचना निर्माणार्थ आर्थिक अभाव भएकाले सम्भाव्यता खोजी गर्न लागिपर्नेछु,’ सभापतिको आसनबाट विश्वकर्माले प्रतिबद्धता जनाए, ‘यो क्याम्पस हलेसी क्षेत्रकै शान हो । यसको स्तरवृद्धिका लागि आफू सञ्चालक समिति अध्यक्ष भएकाले सदैव अग्रसर रहनेछु ।’

 

प्रतिक्रिया दिनुहोस्