गरिबी घटाउन मकैका खोस्टा


दुर्छिम (खोटाङ) । मकैका खोस्टाबाट पनि गरिबी घटाउन सकिन्छ भन्ने सुन्दा जोकोहीले अचम्मित होलान् । तर, हलेसी तुवाचुङ नगरपालिकाले गरिबी घटाउन मकैका खोस्टाको सहारा लिएको छ । इच्छा भए उपाय कति–कति ।

नगरवासी महिलालाई आत्मनिर्भर बनाउन नगरले लघुउद्यम विकास कार्यक्रम अघि सारेको छ । उसले मकैका खोस्टाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न प्रेरित गर्दै महिलालाई आत्मनिर्भर बनाउने अभीष्ट लिएको हो । गाईबस्तुलाई घाँसका रूपमा खुवाइने खोस्टाबाट सामान्यतः पिरा र ढाकी बनाई प्रयोगमा ल्याइए पनि अब भने यसबाट झोला, जुत्ता, चप्पललगायतका आकर्षक सामग्री उत्पादन गर्दै महिलाको आर्थिक अवस्था उकास्ने अभिप्रायसहित नगरले लघुउद्यम विकास कार्यक्रम अघि सारेको हो ।

नगरका ११ वडामा लघुउद्यम विकास कार्यक्रमका लागि आवेदन संकलन जारी छ । पहिलोपटक नगरका ५० महिला छनोट गरी व्यवसाय सञ्चालनसम्बन्धी तालिममा सहभागी गराइनेछ । लगत्तै उनीहरूले पुनः खोस्टाबाट निर्माण गर्न सकिने सामग्रीसम्बन्धी तालिम पाएपछि सामग्री उत्पादन थालिनेछ ।

सामान्य लेखपढ गर्न जान्ने, जाँगरिला र खोस्टाका सामग्री निर्माणार्थ सीप भएका नगरवासी महिलालाई पहिलो प्राथमिकतामा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरउपप्रमुख बिमला राईले जानकारी गराइन् । महिलालाई प्राथमिकतामा राखिए पनि नगरवासी पुरुषले समेत आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्