चाक्चाकुर : चाड कि भ्रम ?



समय परिस्थितिले नयाँ दृष्टिकोण जन्माउन सक्छ । त्यस्तै विक्रम संवत् २०६३ मा चाक्चाकुर चाडको उदय भयो । यसको गर्भधारणचाहिँ नेपाल किरात कुलुङ संघले गरेको देखिन्छ । २०६३ देखि चाक्चाकुर चाड विभिन्न स्थानमा मनाइँदै छ । तर, चाक्चाकुर चाड कस्तो अवस्थामा स्थापना भएको हो भन्ने ऐतिहासिक घटनाक्रम खुलस्त भएको दस्तावेज अहिलेसम्म उपलब्ध भइरहेको छैन ।

विक्रम संवत् २०६३ भन्दा अघि चाक्चाकुर चाड मान्ने गरिएको इतिहास पाइँदैन । सायद चाक्चाकुर शब्दको न्वारान गर्ने साइत नै जुरेको थिएन । अहिले चाक्चाकुरलाई कुलुङ संघका ‘वरिष्ठ’ नेताले आफ्नो पहिचान बोकेको चाडका रूपमा मान्ने गरेका छन् । विशेषगरी चाक्चाकुर चाड कुलुङ संघ केन्द्रीय समितिको आयोजनामा मान्ने गरिएको देखिन्छ ।

कुलुङ, सोताङ र पिल्मोङ जातिको मातृभाषामा चाक्चाकुर भनेको पुस महिना हो । उनीहरूले पुस महिनालाई अशुभ मान्ने गर्छन् । त्यही कारण पुसमा कुखुरालाई अण्डा कोरल्नसमेत लगाउँदैनन् । यो महिनामा विवाहलगायत अन्य शुभकर्मसमेत गरिँदैन ।

कुलुङ समुदायले मान्ने गरिएको चाड अरू पनि धेरै छन् । तर, चाक्चाकुरलाई नै अनिवार्य बनाउनुपर्ने किन ? चाडको महत्व उच्च भएर वा जोरीपारीले आक्रमण गर्न सक्ने खतरा महसुस भएर हो ? अरू चाडलाई किन साझा नबनाउने ? नयाँ चाड भएकाले संघले जनसमुदायलाई अभ्यस्त बनाउन यस्तो गरेको होला ।

कसै–कसैले ‘मीनारी दाचाम्री’को उपलक्ष्यमा चाक्चाकुर चाड मान्ने गरेका बताउँछन् । मीनारी दाचाम्रीको अर्थ हुन्छ– मानिसले अन्न भण्डारण गर्नु । परापूर्वकालमा मंसिरमा अन्न भण्डारण गर्थे । घरनजिक बस्तुभाउको गोठ ल्याएर पुसमा वर्षभरि पुग्ने नुन, फलाम, लत्ताकपडा इत्यादि खोज्न घरमुली टाढा–टाढा जान्थे । घरमा बस्नेले कोदोको नल फाँडेर थन्काउने र बस्तुभाउ स्याहारसम्भार गर्थे । चाल्स् माइक डुगालले लेखेको ‘कुलुङ्गे’ नामक पुस्तकअनुसार कुलुङहरू एक वर्षसम्म पुग्ने नुन, फलाम, लत्ताकपडा आदिका लागि धरान, ओखलढुङ्गा, भोजपुर र काठमाडौं पुग्थे । धरान ओहोरदोहोर गर्न १८ दिन लाग्थ्यो भने कुलुङ समुदायलाई काठमाडौं अझ टाढा पथ्र्याे ।

यदि कुनै ऐतिहासिक घटनाका आधारमा चाडको नाम चाक्चाकुर रहन गएको थियो भने किंवदन्ती हुनुपथ्र्याे । त्यस्तो घटना थाहा पाउने अहिलेसम्म कोही भेटिएको छैन ।

चाक्चाकुरलाई नयाँ वर्ष पनि भन्न थालेको पाइन्छ । तर, पुर्खाहरूले असोजलाई अन्न बालीको फूल लाग्ने महिना मान्थे । ‘खान्दीरीआ रीखोक्स्’ भनेर खान्दीरी अर्थात् असोजलाई नयाँ वर्षको सुरु महिना मान्ने गरिएको बताउँछन् । असोजलाई शुभ महिना मानिएको हुनाले यस महिनामा कन्या अर्थ पनि चलाइन्छ । किरात समुदायले मान्ने यले संवत् माघ १ गतेदेखि सुरु हुने निर्णय गरिएको छ । कुलुङ संवत् पुसको मध्येबाट सुरु हुने भनिएको छ । तर, संवत्को नाम र सुरु हुने गते चाक्चाकुर चाडमा सार्वजनिक गर्ने गरिएको छैन । यस अर्थमा चाक्चाकुर चाडको विशेष महत्व कुन विषयमा केन्द्रित रहेको छ भन्ने पुष्टि हुन सकेको देखिँदैन ।

चाक्चाकुर चाडप्रति मनोरञ्जनको दृष्टिकोणले युवा पुस्ताको झुकाव बढेको देखिए पनि पुरानो पुस्ताको चासो देखिँदैन । ऐतिहासिक चाड भए नयाँ पुस्ताभन्दा पुरानो पुस्ताको संलग्नता बढी हुनुपर्ने हो । यो चाड कहिले तराईमा र कहिले पहाडमा आयोजना गरिँदै आएको छ । परापूर्वकालदेखि चलिआएको चाड हो भने कहिले यता र कहिले उता सारिरहनु नपर्ने हो । कहिले तराई, कहिले पहाड सारिरहनु नपर्ने हो । किनभने चाड भनेको निश्चित विधि विधानमा आधारित हुन्छ । चाक्चाकुर चाड सम्पन्न गर्न के–के विधि विधान अपनाउनुपर्ने हो ? यो चाड कति दिन मनाइने हो, कुन समय र कुन ठाउँमा कसरी मान्नुपर्ने हो ? कसैबाट उत्तर पाउन सकिएको छैन ।

यो चाड कहिले फुटबल ‘टुर्नामेन्ट’ गरेर मनाउने गरिएको छ । कहिले ख्यातिप्राप्त गायक–गायिका बोलाएर रातभरि नाचगान गर्ने गरिएको छ । कहिले भेषभूषा प्रदर्शन गर्ने गरिएको छ । कहिले कुलुङ जमात भेला गरेर वनभोज खाने गरिएको छ । कहिले व्यापारी तथा खेलाडी जम्मा गरेर मेला लगाएको देखिन्छ । चाक्चाकुर चाडको मूल विशेषता मेला लगाउनु, भेला भएर वनभोज खानु र दसैं नमान्ने समुदायका रूपमा प्रदर्शन गर्नुजस्तो देखिँदै आएको छ ।

चाड मान्नु भनेको पुर्खाको वीरतापूर्ण इतिहासलाई सन्तान दरसन्तान गर्दै युगौंयुग जीवित राख्नु हो । चाक्चाकुरले कुलुङको ऐतिहासिक धरोहरलाई उच्च बनाउन सकेन भने पछाडि धकेलिन पुग्छ । चाक्चाकुर सत्यतथ्य इतिहास बोकेको चाडका रूपमा प्रमाणित हुन सकेन भने द्वेष भावनाले कसैको चाडचाड विरोधीमात्र बन्न पुग्छ । चाडचाड मनोरञ्जनभन्दा बढी जातीय अस्तित्वको संरक्षण हो । तोस् पूजा ऐतिहासिक चाड भएको हुनाले सोताङ, पिल्मोङ र कुलुङ समुदायबाट प्रत्येक परिवारले सहभागी जनाउँछन् । अझ जाबुङ तोस्लाई कुनै परिवारले छुटाउन चाहँदैन । तोस् पूजाका लागि चाक्चाकुरलाई जस्तो कुनै संघ संस्थाको निर्देशन आवश्यक पर्दैन । कुनै पनि चाडले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेन भने स्थायी रूपले सामुदायको आस्था केन्द्रीकृत हुन असम्भव रहन्छ । चाक्चाकुर भनेको पुसको नामबाहेक अरू केही होइन भन्ने सबैलाई थाहा छ । तर सोताङ, पिल्मोङ र कुलुङको दसैंको नाम चाक्चाकुर हो भनेर भ्रम फैलाउन उचित नहोला । अन्यथा, अन्धकारभित्र धकेलिएर न घरको न घाटको हुन पुग्छ ।

प्रतिक्रिया दिनुहोस्