पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘त्यो भादगाउँले टोपी’


काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा संवत् २०५२ भदौ २६ गते पहिलोपटक नेपालका प्रधानमन्त्री बनेका थिए ।

श्रीप्रसाद देउवा र द्रौपदीदेवी देउवाका जेठा छोरा पूर्वप्रधानमन्त्री देउवाले बहुदलीय प्रजातन्त्र आगमनपछि चारपटक प्रधानमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनी नेपाल विद्यार्थी संघका संस्थापक सदस्यसमेत हुन् ।

बहुदलीय प्रजातन्त्र आगमनपछि स्व. गिरिजाप्रसाद कोइराला पाँचपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि काँग्रेसमा देउवाले नाम लेखाएका छन् ।

संवत् २००३ जेठ ३१ गते साबिक असिग्राम गाउँ विकास समिति–५ रुवाखोला डडेल्धुरामा जन्मेका उनी बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा आएको बताउँछन् । ०१७ देखि राजनीतिमा संलग्न रही विभिन्न समयमा प्रधानमन्त्री बनेका देउवा प्रायः भादगाउँले टोपी लगाउँछन् । उनले लगाउने भादगाउँले टोपीको चर्चा त्यत्तिकै हुने गरेको छ ।

त्यसो भए उनले लगाउने टोपीको आकार (साइज) कति होला ? यो कुरा तपाईं हामीलाई थाहा हुने कुरै भएन । तर, यही प्रश्नको उत्तर थाहा पाउनचाहिँ टोपी बिक्रेताको सहयोग लिनुपर्छ ।

यही प्रश्न टोपी बिक्रेतालाई सोधियो । टोपी बिक्रेतालाई उत्तर दिन सकस परेन । उनले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यूको टोपीको साइज २२ इन्च हो ।’ देउवालाई आफूले लगाउने टोपीको ‘साइज’ थाहा छ कि छैन होला ? तर, टोपी बिक्रेतालाई भने कण्ठै रहेछ ।

०४८ देखि २०५१ सालसम्म गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकारमा देउवा गृहमन्त्री थिए । उनी त्यतिबेला पनि भादगाउँले टोपीमै अनुहारिन्थे । अपवादबाहेक भादगाउँले टोपी लगाएकै उनको तस्बिर फेलापर्छन् ।

काँग्रेसमा अन्तरसंघर्ष चर्केपछि उनले पार्टी फुटाए । ०५९ मा काँग्रेसबाट अलग्गिएर नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरे पनि ०६४ मा उनले नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसमा विलय भएको थियो । दुवै समय उनी त्यत्तिकै चर्चामा आए । दुवै समय खिचिएको तस्बिरमा उनी भादगाउँले टोपीमै देखिन्थे ।

 

प्रतिक्रिया दिनुहोस्