माननीय विशाल भट्टराईले दोस्रोपटक फर्काइदिएको ‘त्यो खुसी’


जन्तेढुंगा गाउँपालिका खोटाङको काहुलेनिवासी गणेश राईका कुहिनोभन्दा मुनि दुवै हात छैनन् । सामन्यतः कम्प्युटर चलाउन सक्ने राईले कहीँ, कतै जागिर पाउन सकेका थिएनन् । स्व. मिलन राईले उनलाई काठमाडौंसम्म ल्याएका थिए ।

खोटाङे जनताका प्रत्येक समस्यासम्बन्धी जानकार खोटाङे जनताका सेवक माननीय विशाल भट्टराईले उनको समस्या टुलुटुलु हेरेर बस्न सकेनन् । भट्टराईले केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बनेका बखत उनलाई बालुवाटार लिएर गए ।

दुवै हात नहुँदा झेल्नुपरेको समस्या देखेर प्रधानमन्त्री ओली स्वयम् भावुक बनेका थिए । उनलाई तत्कालै रोजगारी प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै नायव सुब्बाको कम्प्युटर अपरेटरका रूपमा काम गर्न पाउँदा गणेश राई खुसीले गद्गद् भए । जागिर पाएपछि आफ्ना भाइबहिनीलाई समेत काठमाडौं ल्याएर अध्ययन गराउन सुरु गरे ।

तर, उनको खुसी धेरै समय टिक्न सकेन । केपी ओअी प्रधानमन्त्रीबाट बिदावारी भएसँगै नायव सुब्बा राईलाई पनि जागिरबाट बिदा गरियो । छँदाखाँदाको जागिर गुमेपछि उनको जीवनमा ठूलो वज्रपात आइपर्यो । बाउले खाएर छोरा हेर्ने काठमाडौंमा जीवन निर्वाह कसरी गर्ने भनेर सोचमग्न भए । जे पायो त्यही काम गर्न शारीरिक अपांगता, काम नगरौं आफू र भाइबहिनीलाई काठमाडौंमा पालिन र पाल्न धौ–धौ ।

‘यस्तै समस्या झेलिरहेको समयमा केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बने,’ कार्यालयमै भेटिएका नायव सुब्बा राईले खुसी व्यक्त गरे, ‘प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुहुँदा उहाँभन्दा म धेरै खुसी भएको थिएँ । उहाँ प्रधानमन्त्री बन्नुभएपछि म पुनः जागिरमा जोडिएँ ।’

हिजोआज प्रधानमन्त्रीको सचिवालय, जनसम्पर्क कार्यालयमा जागिरे जीवन बिताइरहेका उनले कुराकानी चलिरहँदा माननीय विशाल भट्टराई, भैरव राई, गोपी खड्कालगायतको पटक–पटक नाम लिइरहे । उनको क्षमता देखेर पंक्तिकार अत्यन्तै प्रभावित भएका थिए । उनीसँग भेट गर्ने अवसर जुराइदिने माननीय विशाल भट्टराई र नेकपा नेता देवान राईप्रति आभारी छु ।

प्रतिक्रिया दिनुहोस्