तुवाचुङ साप्ताहिकद्वारा ६ जनालाई ‘फुल स्करलसिप’



दुर्छिम (खोटाङ) । तुवाचुङ साप्ताहिक र कुमारीपाटी ललितपुरमा रहेको एड्भान्स एकेडेमीको सहकार्यमा ११ कक्षामा अध्ययन गर्न चाहने हलेसी तुवाचुङ नगरपालिकाका चारजना विद्यार्थीलाई सतप्रतिशत (फुल स्करलसिप) व्यवस्था गरिएको छ ।

एड्भान्स एकेडेमीको विज्ञान संकायअन्तर्गत ११ कक्षामा अध्ययन गर्न चाहने दुई र मानविकी र व्यवस्थापन संकायमा अध्ययन गर्न चाहने एक–एक गरी चारजना नगरवासी विद्यार्थीलाई ‘फुल स्करलसिप’ व्यवस्था गरिएको हो ।

सोही एकेडेमीमा विज्ञान संकायमा अध्ययन गर्न चाहने दुई र मानविकी र व्यवस्थापन संकायअन्तर्गत अध्ययन गर्न चाहने एक–एक गरी चारजना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति व्यवस्था गरिएको हो ।

संवत् २०७५ को ‘बोर्ड एक्जाम’मा एड्भान्स एकेडेमी ललितपुर जिल्ला प्रथम भएका थिए । अनुभवी तथा दक्ष शिक्षक–शिक्षिकाबाट पठनपाठन गरिने एड्भान्स एकेडेमीको कुनै पनि संकायमा अध्ययन गर्न चाहने चारजना नगरवासी विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति व्यवस्था गरिएको छ । यो छात्रवृत्ति कक्षा १२ सम्म कायम रहनेछ ।

एड्भान्स एकेडेमीका निर्देशक नवीन बुढाथोकी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमनिवासी भएकाले तुवाचुङ साप्ताहिक र एकेडेमीको सहकार्यमा छात्रवृत्तिका व्यवस्था गरिएको हो ।

यसैगरी, एड्भान्स एकेडेमीकै ‘ब्याचलर्स प्रोग्राम’अन्तर्गत रिपब्लिका कलेजलको मानविकी संकायको स्नातक तहमा अध्ययन गर्ने दुईजनालाई ‘फुल स्कलरसिप’ व्यवस्था गरिएको छ । त्यस्तै, स्नातक तहमै अध्ययन गर्न चाहने दुईजनालाई ५० र चारजनालाई २५ प्रतिशत छात्रवृत्ति व्यवस्था गरिएको एड्भान्स एकेडेमीका निर्देशक नवीन बुढाथोकीले जानकारी गराए । यो छात्रवृत्ति स्नातक तह चौथो वर्षसम्म कायम रहनेछ ।

‘तुवाचुङ साप्ताहिकले सिफारिस गरेका विद्यार्थीलाई मात्रै यो व्यवस्था लागू गरिनेछ,’ निर्देशक बुढाथोकीले भने, ‘तुवाचुङ साप्ताहिकले नगरका विपन्न वर्गका विद्यार्थीलाई प्राथमिकतामा राखी छात्रवृत्तिका लागि सिफारिस गर्नेछ भन्नेमा आशावादी छु ।’

छात्रवृत्तिमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीले एसईईको लब्धांकपत्र र छात्रवृत्तिमा अध्ययन गर्नुका कारण खुलाउँदै [email protected] मा निवेदन पठाउनुपर्नेछ । यसैगरी, स्नातक तहमा अध्ययन गर्न चाहनेले १२ कक्षा उत्तीर्ण गरेको लब्धांकपत्र र छात्रवृत्तिमा अध्ययन गर्नुका कारण खुलाउँदै इमेल गर्नुपर्नेछ ।

छात्रवृत्तिसम्बन्धी सोधपुछका लागि तुवाचुङ साप्ताहिकको मोबाइल नम्बर ९८१३१३२२९३ मा सम्पर्क गर्न सकिनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्