सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?



घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा चौधरीको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म उनलाई शरीरमा विष चढिसकेको थियो । सबै विधि पुर्याएर दुईजनाले लगातार पाँच घन्टा चुसेर विष फालेपछि उनको ज्यान बच्यो ।

हिजोआज पनि समाजमा सर्पले डसेका बिरामीलाई अस्पताल या स्वास्थ्य केन्द्रको आधुनिक स्वास्थ्य उपचारभन्दा वैद्यले नै चुसेर विष झार्ने उपचार पद्धतिले निको हुन्छ भन्ने विश्वास छ । समाजमा सर्पले डसेका यस्तै प्रकृतिका कैयौं घटना अध्ययन गर्दा निको भएको पनि पाइन्छ । वैद्यहरूसँग उपचार गराउनेको संख्या यकिन नभए पनि उपचार गर्नेका अनुसार एकजना वैद्यले वर्षमा १५ देखि २० जनासम्मको यसैगरी चुसेर विष झारी उपचार गर्ने गरेको बताउँछन् ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरका कमल पौडेल शिक्षक हुन् । पौडेलले २०४३ देखि सर्पले टोकेका बिरामीको उपचार यस्तै पद्धतिबाट गर्दै आएका छन् । उनीसँग वर्षभरिमा कम्तीमा एक सयको हाराहारीमा सर्पले डसेका बिरामी उपचारका लागि आउने गर्छन् । ०४३ मा बडादसैंको नवदुर्गामा सर्पले डसेका बिरामीको भालुवाङका शाहवीर खानसँग यसैगरी चुसेर विष निकाल्ने उपचार पद्धति सिकेका उनले अहिलेसम्म निरन्तर उपचार गरिरहेको बताउँछन् । उमेर ढल्कदै जाँदा उनले उपचार गर्ने विधि गाउँका अन्य १६ जना युवालाई समेत सिकाएको बताउँछन् ।

खाली मुखले चुसेर विष निकाल्दा सुरु–सुरुमा हल्का विष लागेजस्तो भए पनि पटक–पटकको चुसाइपछि भने विष पनि नलाग्ने उनको अनुभव छ । ‘तुलसीपुर अञ्चल अस्पतालले मृत घोषणा गरेको व्यक्तिलाई बचाउन सकिने आशामा ती व्यक्तिको परिवारले नारायणपुरस्थित मेरो घरमा लिएर आए । नाडी छाम्दा ढुकढुकी कत्ति थिएन । एउटा आशा लिएर आएको बिरामीका परिवारलाई निराश बनाउनुभन्दा प्रयास गर्नु उचित सम्झेर चेलाहरूका साथमा चुस्न सुरु गर्यौं,’ उनले यही पद्धतिबाट उपचार गर्दाको चार वर्षअघिको अनुभव सुनाए, ‘हामीले लगातार १० घन्टा चुस्दा बिरामीका अंग–प्रत्यंग सल्बलाउन थाले । मरेको मान्छे जाग्यो भन्दै हल्ला भयो । त्यसपछि प्रहरी आएर उनी र उनका चेलालाई उपचार गर्न नदिएर बिरामी लिएर जानू भन्यो ।’

पुलिसले त्यहाँबाट निकालेपछि बिरामीका आफन्तले नेपालगन्ज मेडिकल कलेज पुर्याएर महिना दिनसम्म अस्पतालमा उपचार गराएर उनलाई निको भयो । ती बिरामी घर फर्केपछि बिरामीको छोरा पौडेलको घरमै आएर खुट्टा ढोगेर सम्मान प्रकट गरेको उनी सुनाउँछन् ।

विष चुस्ने प्रक्रियाबारे उनले विस्तारमा बताउन नचाहे पनि बिरामीलाई पश्चिम फर्काएर बसाउने, धुप बालेर चुस्ने समूहका व्यक्तिले मन्त्र जप गरेर सुरु गर्छन् । उनले चुस्ने व्यक्ति र बिरामीबीचमा अरू प्रवेश नगरून् भनेर गोल घेरा बनाई उक्त क्षेत्रलाई सुरक्षित बनाएर बाँधेर विष चुस्ने काम थाल्छन् ।

सर्पले टोकेको बिरामी कति समयपछि आएको छ, त्यति नै समय लाग्ने पौडेलको भनाइ छ । विष चुस्दा शरीरमा विष रहँदासम्म मात्र चुस्न सकिन्छ । विष सकियो भने चुस्ने व्यक्तिलाई बिरामीको शरीरले नै हुत्याउने गरेको उनले बताए । यसरी विष चुस्दा सर्पले टोकेको घाउमा कतिपयको त दाँतसमेत झरेको चुस्नेक्रममा भेटिने गरेको उनको अनुभव छ ।

दाङमा प्रायः गराइच (करेत) र डुमिनी (कोब्रा) सर्पले डसेका बिरामी आउने गरेको उनी बताउँछन् । डुमिनी (कोब्रा) सर्पको विष मानिसको शरीरमा तुरुन्तै र गराइच (करेत) को विष बिस्तारै अर्थात् डसेको करिब एक घन्टापछि मात्र शरीरमा चढ्ने उनले बताए । चुसेर उपचार गर्ने पद्धति प्रत्येक वर्षको नवदुर्गामा सिकाइने गरेको उनले जानकारी गराए । अहिले चुसेर विष निकाल्ने वैद्य पनि समाजमा धेरै रहेका छन् । ‘केहीले उपचारपछि तोकेरै पैसा लिने गरेका पनि छन्,’ उनले भने, ‘तर मैले सिकाएका गाउँका चेलालाई तोकेर पैसा लिन दिएको छैन ।’

घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले पनि सर्पले डसेका बिरामीको उपचार गर्न थालेको १० वर्ष भयो । खनालले चुसेर सर्पको विष झार्ने पद्धति बंगाली विद्या भएको दाबी गर्छन् । खनालका अनुसार देवी भगवतीको आराधना गरेर कन्याले बनाएको सुनपानीले शुद्ध भएर मन्त्रोच्चारण गर्दै बिरामीको शरीरमा बनेको घाउमा चुसेर विष निकाल्ने गरिन्छ ।

दाङका अस्पतालले नेपालगन्ज सिफारिस (रेफर) गरेका बिरामी पनि आफूकहाँ आएर उपचारपछि निको भएको उनको अनुभव छ । ‘हाम्रो उपचार पद्धतिमा टोकेको ठाउँबाट चुस्ने भएकाले सबै विष निकालिने उनको दाबी छ ।

यसैगरी, घोराही उपमहानगरपालिका–६ का केही वैद्यको उपचार विधि भने फरक छ । उनीहरूले सर्पले डसेको बिरामीलाई स्थानीयस्तरमै पाइने जडीबुटीको लेप लगाई उपचार गर्ने गरेको बताउँछन् । घोराही उपमहानगरपालिका–६ का पदमप्रसाद अधिकारीले पनि सर्पले टोकेका बिरामीलाई उपचार गर्न थालेको ३३ वर्ष पुग्यो । सर्पले टोकेको बिरामीलाई अधिकारीले गाउँघरमै पाइने जडीबुटी घाउमा लगाइदिने र त्यही जडीबुटीको रस पिउन दिएर उपचार गर्ने गरेको बताउँछन् ।

अहिलेसम्म उनले पनि दुई हजारजतिलाई उपचार गरेको र उपचार गरेका सबै सफल भएको बताए । ‘धारापानी मन्दिरछेउछाउको जंगलमा पाइने जडीबुटी ‘एन्टी स्नेक भेनम’ जस्तै जडीबुटी हो,’ उनले भने, ‘त्यसले नै उपचार गर्दै आएको छु ।’ बुढेसकाल लागेकाले जंगल पुग्न कठिनाइ हुने भएकाले उनले त्यो जडीबुटी घरको करेसाबारीमा पनि रोपेका छन् । अहिलेसम्म उपचार गरेका सबै सन्चो भएकाले जडीबुटीले काम गर्छ भन्नेमा उनी विश्वस्त छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. मीनचन्द्र अधिकारीका अनुसार चुसेर विष निकाल्छु भन्नेले समाजमा भ्रम पैदा गरिदिएको बताउँछन् । अधिकारीका अनुसार सर्पले टोकेको बिरामी दुई कारणले मर्ने गर्छन् । पहिलो मानसिकताले मर्ने गरेको बताउँदै डा. अधिकारीले बिरामीलाई समाज तथा घरपरिवारले नै पहिला ‘काउन्सिलिङ’ गर्नुपर्ने बताउँछन् ।

डा. अधिकारीका अनुसार सर्पले डसेपछि अस्पताल पुर्याउन ढिलाइ हुँदा विष शरीरमा फैलिएर मृत्यु हुने गरेको छ । ‘एन्टी स्नेक भेनम’ नै विष मार्ने अचुक उपाय हो भने बढी सिकिस्त बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्दामात्र सफल भइन्छ । अहिले पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ‘एन्टी स्नेक भेनम’ प्रशस्त मात्रामा रहेको उनले जानकारी दिए ।

वर्षायाममा सर्प जमिनबाट बाहिर निस्कने भएकाले सर्पले डस्ने घटना बढी हुने गर्छन् । विषालु सर्पले टोकेकोलाई चुसेर विष निकाल्न नसकिने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ सर्जन डा. जनार्दन पन्थीको भनाइ छ ।

सर्पले डसेका बिरामीको शरीरमा रगतमा मिसिएको विष कुनै पनि हालतमा चुसेर ननिस्किने डा. पन्थीले दाबी गरे । ‘सर्पले टोकेपछि विष रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्ने भएकाले चुसेर विष निकाल्छु भन्नेले समाजमा भ्रम छर्ने काममात्र गरेका उनको भनाइ छ ।

तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गत आर्थिक वर्ष २०७६/७७ मा सर्पले डसेर उपचार गराउनेको संख्या ३६ रहेको थियो ।

अस्पतालका सूचना अधिकारी डिल्ली केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये सातजनालाई नेपालगन्ज रेफर गरिएको थियो भने बाँकी २९ जना उपचारपछि निको भएर घर फर्केका थिए । पहिला झारफुक तथा चुसेर उपचार गर्ने वैद्यलाई विश्वास गरे पनि अहिले अस्पतालमा उपचारका लागि आउने नबढेको केसीले बताए ।

यता, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गत आर्थिक वर्षमा १० जनामात्रै उपचारका लागि आएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । उपचारका लागि आएकामध्ये ६ जनालाई कोहलपुर रेफर गरिएको उनले बताए । बाँकी चारजनामध्ये दुईजना अस्पतालमा उपचारपछि निको भएर घर फर्केका थिए भने दुईजनाको मृत्यु भएको थियो ।

वैज्ञानिक तथ्यअनुसार कुरा गर्ने आधुनिक चिकित्सक, प्राकृतिक जडीबुटीको माध्यमबाट उपचार गर्ने तथा चुसेर विष निकाल्ने वैद्यले आ–आफ्नै तरिकालाई उपचारको उत्तम माध्यम बताउँछन् । समाजमा अहिले पनि अस्पतालको उपचार पद्धतिभन्दा पनि वैद्यको उपचार पद्धतिमै विश्वास गर्नेको संख्या पनि ठूलै छ । त्यसैले पनि सर्पले डस्दा चुसेर उपचार गर्ने पद्धति विश्वास हो कि बाध्यता ? समाजलाई नै छुट्याउन गाह्रो परेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्