सोह्रश्राद्ध : कुन तिथि कतिखेर गर्ने ?


काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्रश्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ ।

धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्रश्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चांगकार एवम् तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन् । पितृ पक्षसमेत भनिने सोह्रश्राद्ध यस वर्ष भदौ १७ गते बुधबारदेखि सुरु भएको छ ।

बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्नेगरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

भदौ १८ गते बिहीबार द्वितीया तिथि श्राद्ध दिउँसो १ः१७ देखि ३ः४८ सम्म दिइएको छ । भदौ १९ गते तृतीया तिथि श्राद्धको समय पनि १ः१७ देखि ३ः४८ सम्म छ । यस वर्ष भदौ २० गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ । चतुर्थी तिथि श्राद्धको समय भदौ २१ गते आइतबार दिउँसो १ः१६ देखि ३ः४६ सम्म गर्नुपर्नेछ ।

पञ्चमी तिथि श्राद्ध भदौ २२ गते सोमबार पनि दिउँसो १ः१६ देखि ३ः४६ सम्ममा गर्नुपर्नेछ । षष्ठि तिथि श्राद्ध भदौ २३ गते मंगलबार १ः१५ देखि ३ः४५ सम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ २४ गते बुधबार १ः१५ देखि ३ः४४ सम्ममा गर्नुपर्नेछ । अष्टमी तिथि श्राद्ध भदौ २५ गते बिहीबार दिउँसो १ः१४ देखि ३ः४३ सम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ ।

नवमी तिथि श्राद्ध भदौ २६ गते शुक्रबार दिउँसो १ः१३ देखि ३ः४२ सम्ममा गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध भदौ २७ गते शनिबार १ः१३ देखि ३ः४१ सम्ममा गर्नुपर्नेछ । एकादशी श्राद्ध भदौ २८ गते आइतबार १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्ने जनाइएको छ । द्वादशी तिथि श्राद्ध भदौ २९ गते सोमबार पनि १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध भदौ ३० गते मंगलबार १ः११ देखि ३ः३८ सम्ममा गर्नुपर्नेछ ।

यसैगरी, चतुर्दशी तिथि श्राद्ध भदौ ३१ गते बुधबार पनि १ः११ देखि ३ः३८ सम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताए । औँसी तिथि श्राद्ध असोज १ गते बिहीबार दिउँसो १ः१० देखि ३ः३७ सम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सोह्रश्राद्ध गराउने ब्राह्मण यजमानकहाँ जान कठिन छ । विशेषगरी काठमाडौं उपत्यकालगायत ठूला सहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । केही स्थानीय तहले श्राद्ध विद्युतीय रूपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिक रूपमा सूचनासमेत जारी गरेका छन् ।

कुनै कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्