५ करोडमा बन्ने ढुंगे बगैंचा शिलान्यास



ककनीडाँडा, हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको ककनीडाँडामा बन्न लागेको ढुंगे बगैंचा (रक गार्डेन) आइतबार शिलान्यास गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख मेयर इवन राई, उपप्रमुख बिमला राई र हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष चइन्द्र राईले संयुक्त रूपमा पूजापाठ गरी ढुंगे बगैंचा शिलान्यास गरेका हुन् ।

डीपीआर पूरा गरी ५६ रोपनी क्षेत्रफलमा बगैंचा बन्न लागेको नगरप्रमुख राईले बताए । उनका अनुसार ५ करोड लागतमा सम्पन्न हुने बगैंचालाई  प्रदेश नम्बर १ बाट ४० लाख र हलेसी तुवाचुङ नगरपालिकाबाट १० लाख बजेट विनियोजन भएको छ ।

उपभोक्ता समितिबाट बगैंचाको काम हुने भए पनि आगामी वर्षदेखि टेन्डर आह्वान गरिनेछ । ककनीडाँडामा कलात्मक ढुंगा भएकाले यसको स्वरूप परिवर्तन नगरी ढुंगे बगैंचा निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

बगैंचामा ठाउँअनुसार फूल रोपिने, स–साना ढुंगाबाट गेट निर्माण गरिने, ढुंगे सिँढी निर्माण, अपांगमैत्री बाटो, ढुंगेधारा, भ्यु गेट निर्माण गरिनेछ ।

बगैंचामा बिजुली व्यवस्थापन, ढल, पिउने पानीको व्यवस्थापन, विश्रामस्थल साथै खाजाघर निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्