
दुर्छिम (खोटाङ) । कतारी १ रियाल अभियानले दुई घन्टामा ४ हजार २१० कतारी रियाल अर्थात् नेपाली १ लाख ५२ हजार १८१ रुपैयाँ संकलन गरी डा. महावीर पुनलाई नेपाल पठाएको छ ।
वीरगन्ज औद्योगिक कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन लागिपरेका डा. पुनलाई सघाउ पुगोस् भनेर कतारमा अभियान चलाएर संकलित रुपैयाँ नेपाल पठाइएको अभियानको संयोजक गजेन्द्र खालिङ राईले कतारको दोहाबाट टेलिफोनमा सुनाए ।
राई नेतृत्वका अभियानमा सेवक घतानी, आङ मिङ्मार शेर्पा, मणिराज स्याङ्तान, मनुरा थुलुङ र विवश लिम्बूले नेपाल तामाङ घेदुङ कतारको ल्होछार कन्सर्टमा आर्थिक सहयोग संकलन गरेका थिए ।
सन् २०२४ फेब्रुअरी १६ मा सम्पन्न कन्सर्टमा आर्थिक सहयोग संकलन गर्न सीता राई, सावित्री तामाङ, अनुशा राई, विमल राई, रामकुमार राई, विनोद रानामगर, कृष्ण बर्मा, मूलघरे जेठा (दीपेन राई) र जैबी चाम्लिङ राईले खुलेर अभियानसम्बद्ध अभियन्तालाई सहयोग गरेका थिए । सहयोग संकलन गर्न सघाउ पुर्याएको भन्दै अभियानसम्बद्धले नेपाल तामाङ घेदुङ कतार परिवारलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।

‘वैदेशिक रोजगारीमा कतार आइपुगेका जोकोहीलाई मर्का नपर्ने गरी कतारी १ रियाल अभियान चलाएका हौं,’ सगरमाथा मेल डटकमका प्रकाशक तथा प्रधानसम्पादकसमेत रहेका राईले भने, ‘कतारी १ रियाल अभियान भनिए पनि मनकारीले सोचेभन्दा धेरै आर्थिक सहयोग गरेका थिए । मनकारी सहयोगी सबैप्रति आभारी छु ।’
राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा वीरगन्जमा जीर्ण अवस्थामा रहेको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने डा. पुन आफूले लेखेको किताब आफैं बेच्दै हिँडेका छन् ।



