हजार रुपैयाँ साथमै राख्नुपर्ने



दुर्छिम (खोटाङ) । संवत् २०६० को दसैंलगत्तै नागरिकता बनाउन आपा र पंक्तिकार जिल्ला सदरमुकाम दिक्तेल हिँड्यौं । दुर्छिमबाट दिक्तेल पुग्न १६ कोस (पुरानो भाषामा एक कोसबराबर तीन किमि) छ । अहिलेको सडक नापअनुसार ४१ किमि । त्यतिबेला पैदल हिँड्नुपर्ने बाध्यता थियो । दिक्तेल पुग्न सात/आठ घन्टा लाग्थ्यो ।

आपा दौरासुरुवाल, भोटो, टोपी र सेसी चप्पल अनि पंक्तिकार टिकटिके सर्ट, पाइन्ट, टोपी र हात्तीछाप चप्पलमा । नुनथला तेर्सो हिँडिरहेका थियौं । लामो बाटो भएकाले कुराकानी जति पनि गर्न सकिन्थ्यो । ‘आफ्नो साथमा जहिल्यै पनि एक हजार रुपैयाँ राखिरहनू,’ आपाले सुझाए, ‘जस्तोसुकै परिस्थितिमा पनि त्यो पैसा मास्नुहुँदैन ।’

पंक्तिकारले आपाको सुझाव सुन्दै गए । आपाले फेरि थपे, ‘एक्लै हुँदा त झन् त्यो पैसा चलाउनै हुँदैन ।’ किन भन्दै पंक्तिकारले जिज्ञासा राखे । ‘आफू बिरामी परियो भने त्यसबेला कसैले हेर्नेवाला छैन । त्यतिबेला साथ नपाउन सकिन्छ,’ आपाले प्रस्ट्याए, ‘बिरामी पर्दा आफूसँग पैसा छ भने जोकोहीले औषधि किनेर ल्याइदिन सक्छन् । पैसा भयो भने आफन्तमात्रै होइन पराईलाई समेत आफ्नो बनाउन सकिन्छ ।’

पैसा खान र लाउन मिल्दैन । पैसा नहुँदा पानीमा नुन बिलाएझैं बिलाइजाऊँजस्तै लाग्छ । पंक्तिकारले यस्ता कैयौं सुख–दुःख भोगेका छन् । त्यतिबेला आपाले सुझाइरहँदा पंक्तिकार भावुुक भए । मनमनै प्रतिबद्धता जाहेर गरे, ‘जागिर गरेर आपाको दुःखमा मलम लगाउँछु ।’ तर, प्रतिबद्धता प्रतिबद्धतामै सीमित रह्यो । त्यतिबेला ३० किलो चामल पाँच सयमा पाइन्थ्यो । ५० किलो चामललाई ८१५ पथ्र्यो ।

०६३ को दसैं छेका आपालाई चार हजार रुपैयाँ पठाएँ । त्यसपछि आफ्नै व्यस्ततामा भुलेका पंक्तिकार देश/परदेश गरेर ०७० मा घर पर्के । आपासँग भेट्दा धितमरुन्जेल बात मार्थ्यौं । घर पुग्दा रातको १२ बजेसम्म बात मार्नु सामान्य लाग्थ्यो । ‘हेर मविन्द्र, ०६३ मा तैंले चार हजार पठाउँदा म असाध्यै खुसी भएँ । खुसीले धरधरी रोएँ । चार हजार पाउँदा चार लाख पाएझैं लाग्यो । त्यो साल गाउँमा पैसाको अनिकाल थियो,’ आपाले खुसी व्यक्त गरे, ‘गाउँमा मैले ऋण पाउने अवस्था थिएन । त्यो पैसाले ठेग तिरें । दसैं मान्यौं । सानोतिनो तिरोभरो गर्न काम लाग्यो । यो कुरा मैले धेरैलाई सुनाएँ ।’ आपाको कुरा सुनेर पंक्तिकार स्तब्ध भए । त्यसपछि पैसाको महत्वबारे चाल पाए ।

०६० फागुनतिरको कुरा हो । मामाले तरकारी किन्न अनुरोध गरे । आफूसँग पैसा नभएको जानकारी गराएँ । मामाले अड्कल काटे, ‘भान्जासँग पैसा त हुनुपर्ने ।’ पंक्तिकारसँग एक हजारमात्रै थियो ।आपाको अर्ती मान्दै पंक्तिकारले मामालाई ढाँटे । आपाको अर्ती सुनेपछि हिजोआज पनि एक हजार रुपैयाँ साथमै राखिरहन्छु । यो कुरा ०६० को हुनाले हिजोआज त एक लाख रुपैयाँ राखिराख्न उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्