
‘देशप्रति सदैव चासो र चिन्तन गर्ने मानिस हुँ,’ उदयपुरको गाईघाटबाट दस जोड दुईसम्मको अध्ययन पूरा गरेपछि उच्च शिक्षाका लागि काठमाडौंमा रहेका इवन विकले भने, ‘देश दिनदिनै अप्ठ्यारोतिर धकेलिएको अनुभूति गरेको छु । देशमा साँच्चिकै परिवर्तन चाहिएको छ ।’ उनले प्रस्ट विचारसहित जनमुखी आवाज मुखरित गर्दै आएका छन् ।
यो कामका लागि नयाँ विचार, नयाँ सोच, नयाँ पुस्तामात्र नभई शिक्षितसमेतको त्यत्तिकै अर्थपूर्ण भूमिका रहेको जिकिर गर्ने हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा, खोटाङका विद्यार्थी इवन विकसँग तुवाचुङ साप्ताहिकका लागि सोनाम सज्जन किरातीले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं नयाँ पुस्ताको नेतृत्व/प्रतिनिधित्व गर्दै हुनुहुन्छ । नेपालजस्तो देशमा युवाले राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्न के–कस्ता चुनौती र अवसर देख्नुहुन्छ ?
विशेष परिस्थिति र जेनजी आन्दोलनका कारण मजस्तै युवाले समाज र राजनीतिक क्षेत्रमा नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने बाटोमा अघि बढिरहेका छौं । नेपाल विकासोन्मुख मुलुक हो । आमनागरिकमा राजनीतिक चेतना अभाव छ । समाजमा पुरानो पुस्ता र पुराना दलको द्वन्द्वबाट युवालाई विश्वास गरेर अघि ल्याउने वातावरण बनेको छैन । भ्रष्टाचार, अनियमितता, कुशासनजस्ता समस्या मुख्य चुनौती हुन् ।
अर्कोतिर, ‘युवा पुस्ता भविष्य हुन् । यिनीहरूमा अथाह सम्भावना छ । अबको नेतृत्व युवाले गर्नुपर्छ’ भन्न त भनिन्छ । त्यसो भनिए पनि जेनजी आन्दोलनले फराकिलो राजमार्ग खोलिदिएको छ । सूचना र प्रविधिका कारण युवालाई आफ्ना विचार राख्न, बहस गर्न र संगठित हुन सजिलो भएको छ । यसलाई मुख्य अवसर मान्न सकिन्छ ।
युवा पुस्तामा राजनीति र सामाजिक सेवाप्रति विश्वास घट्दो देखिन्छ । यसको मुख्य कारण के हो ? सुधार कसरी सम्भव छ ?
युवा पुस्तालाई समाजले राजनीतिक र सामाजिक सेवामा नेतृत्व दिन खोजिरहेका छन् । तर, केही युवाका शंकास्पद गतिविधिका कारण ‘युवाप्रति विश्वास घट्ने हो कि ?’ भन्ने चिन्ता अवश्य देखिन्छ । धेरै युवा निजामती, शिक्षक, प्रहरी, सेनामा कार्यरत छन् । तर, यी संस्थै भ्रष्टाचार र अनियमिततामा लिप्त छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने सहकारी अपचलनमा मुछिनु, बालेन शाहको विवादास्पद गतिविधि, जेनजी नेता सुदन गुरुङलाई आईएनजीओसँग मिलेर सरकार बनाएको आरोप । उल्लिखित घटनाले समाजमा अविश्वास बढाएको छ ।
तर युवामा रहेको ज्ञान, सीप, चेतना, ऊर्जा र सूचना प्रविधिको ज्ञान प्रयोग गरेर स्पष्ट राजनीतिक विचार बनाएर अघि बढेमा युवाले समाजको विश्वास फेरि जित्न सक्छ ।
‘डिजिटल राजनीति’ वा ‘डिजिटल आन्दोलन’लाई तपाईंको पुस्ताले कसरी बुझ्छ ?
हाम्रो पुस्ता जेनजी हो । यो पुस्ता इन्टरनेट चलाएर हुर्किएको हो । हाम्रो पुस्ताले सूचना र प्रविधि प्रयोग गरेर आफ्नो राजनीतिक विचारधारा विस्तार गर्ने, समाजलाई चेतनशील बनाउने, सामाजिक सञ्जालमार्फत बहस र खबरदारी गर्ने र डिजिटल माध्यमबाटै समाजमा एकता ल्याउने प्रक्रियालाई ‘डिजिटल राजनीति’का रूपमा बुझ्छ । हाल चलेका झोले ट्रेन्ड, नेपोबेनी अभियन्ता, भ्रष्टाचारमा डुबेका नेताको आलोचना डिजिटल आन्दोलनका रूप हुन् । यो आन्दोलन विशेषगरी विदेशमा रहेका युवामा बढेको चेतनाले आएको हो । जेनजी आन्दोलन त्यसैको उपज हो ।
डिजिटल आन्दोलन सामाजिक सञ्जालमा उठ्ने सशक्त आवाज हो । पछिल्लो समय यसको प्रभाव तीव्र रूपमा देखिँदै गएको छ ।
विकास नीतिमा युवाको आवाज समावेश गर्न राज्यले के गर्नुपर्छ ? युवाले आफैं के पहल गर्नुपर्छ ?
राज्यले युवालाई प्रत्येक क्षेत्रमा स्थान दिनुपर्छ । युवाले जहाँ भए पनि नेतृत्व लिने, हस्तक्षेपकारी भूमिका खेल्ने वातावरण बन्नुपर्छ । युवाले नेताको गुनगान गाउने वा आयआर्जनको भरमा राजनीति हेर्ने होइन, स्पष्ट राजनीतिक विचारसहित अघि बढ्नुपर्छ । युवाले सिर्जनशीलता, मिहिनेत र नेतृत्व क्षमता विकास गर्नुपर्छ ।

युवाले पाएका अवसरमा सुशासन, जवाफदेहिता, पारदर्शिता र पुराना पुस्ताले भन्दा फरक नतिजा देखाएर जनताको विश्वास जित्नैपर्छ ।
‘पुराना पुस्ता बनाम नयाँ पुस्ता’ के यो केवल उमेरको कुरा हो कि सोचको ?
नेपालमा पुरानो बनाम नयाँ पुस्ता भन्ने बहस धेरै हुन्छ । सतही रूपमा उमेरलाई आधार बनाएर नयाँ पुस्ता÷युवा भनेर छुट्याइन्छ । तर, मेरो विचारमा उमेरमात्र होइन, सोच, सूचना र प्रविधिको ज्ञान, सिर्जनशीलता, परिवर्तनप्रतिको गतिशीलता, स्पष्ट राजनीतिक विचारधाराका कारण कोही नयाँ पुस्ता हुन्छ । उमेरले मात्र मानिस युवा हुँदैन ।
युवालाई देशमै बस्न र अवसर खोज्न प्रेरित गर्न तीन मुख्य क्षेत्र ?
पहिलो : युवाले सकेसम्म स्वदेशमै बस्न प्रयास गर्नुपर्छ । औपचारिक शिक्षा लिँदा वैज्ञानिक वा सीप आधारित शिक्षा लिनु जरुरी छ । जसले स्वरोजगार बन्न सजिलो बनाउँछ ।
दोस्रो : ग्लोबलाइजेसनका कारण नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्न सकिन्छ । त्यसका लागि आईटी क्षेत्रमा युवाले विशेष ध्यान दिनुपर्छ ।
तेस्रो : विश्वबजारमा अर्गानिक खाद्यान्न माग बढ्दो छ । नेपालको पहाडी भू–भाग अर्गानिक कृषि गर्न अत्यन्तै उपयुक्त छ । त्यसैले युवाले यस क्षेत्रमा अवसर खोज्नुपर्छ ।
तपाईंको प्रेरणादायीे तीन व्यक्ति र तीन सन्देश ?
प्रेरणाका स्रोत
(१) ली क्वान यु (सिंगापुर) : सीमित स्रोतमा पनि दृढसंकल्प लिएर सिंगापुरलाई विश्वकै धनी देश बनाउने उनको नेतृत्व अद्भुत लाग्छ ।
(२) डा. भीमराव अम्बेडकर (भारत) : गरिब र दलित परिवारमा जन्मेरसमेत अन्याय सहँदै उच्च शिक्षा हासिल गर्दै भारतको संविधान निर्माणकर्ता बनेको उदाहरण प्रेरणादायी लाग्छ ।
(३) डा. हर्क गुरुङ (नेपाल) : विदेशमा उच्च शिक्षा लिएर नेपालमै फर्केर महत्वपूर्ण योगदान दिँदै अल्पायुमै निधन भएको उनको दृष्टि हिजोआज पनि उत्तिकै शिक्षाप्रद लाग्छ ।



