
डिकुवा (खोटाङ) । मानिसको जन्म भन्नुमात्रै हो । तर, त्यति सजिलो कहाँ छ र ? अप्ठ्यारो काम गरेरै सेवामा समर्पित हाँसपरीको कथा त्यत्तिकै बेजोड छ । हाँसपरीको नागरिकताको नाम चतुरमाया राई हो । संवत् २०१६ चैत अन्तिमतिर बुवा बाघसिंह राई र आमा पञ्चुमाया राईको कान्छी छोरीका रूपमा उनको जन्म भएको थियो ।
साबिक डिकुवा गाउँ विकास समिति–४, दाम्लीवासी दिदीबहिनीका लागि चतुरमाया राई अर्थात् हाँसपरी वरदान साबित भएको स्थानीय प्रेमसरी राई ‘रिसिम’को भनाइ छ । ६६ वर्षको उमेरमा समेत हाँसपरी आफूले जानेको सीप सदुपयोग गर्दै आएकी छन् । उनले दाम्लीको तीन सयभन्दा धेरैको सुँडेनीकर्म गरिसकेकी छन् । हिजोआज पनि जटिल अवस्था नभएको कतिपय आमा बन्ने नयाँ/पुराना सुत्केरीको सारथि हाँसपरी नै हुन् ।
‘अनेकौं समस्या हुन्छन् । पेटमा भएको बच्चा कतातिर फर्केको छ,’ हाँसपरीले सुनाइन्, ‘सुँडेनीकर्तामा असाध्यै ज्ञान हुन जरुरी हुन्छ । मैले गरेको सुँडेनीकर्ममा अहिलेसम्म कहिल्यै अप्रिय घटना घटेको छैन । तसर्थ, एकबारको जुनीमा धेरै खुसी छु ।’ हाँसपरी सुँडेनीले गर्दा आफूहरूको सहज जन्म भएको थाहा पाउने नानीबाबुले लत्ताकपडा, जुत्ता, चप्पल उपहार ल्याइदिने गरेको उनले सहर्ष जानकारी गराइन् ।

‘यो गाउँमा मेरो धेरै भदै–भदैनी छन् । मेरै सुँडेनीकर्मले उनीहरूको सहज जन्म भयो,’ उनले विगत कोट्याइन्, ‘मैले लगभग तीन सयभन्दा धेरैको सुँडेनीकर्म गरेकी छु ।’ उनले संवत् २०४० देखि यो कर्म गर्दै आएकी छन् । अस्पताल जान नसक्ने र जानु नपर्ने गर्भवतीले सहज सुत्केरी गराउन उनलाई खबर गर्छन् । ‘जानेको बुझेको काम गर्छु,’ उनले थपिन्, ‘त्यसबापत मैले पारिश्रमिक लिएको छैन ।’ उनको सुँडेनीकर्मबाट जन्मेको नानीबाबुहरू कोही नेपाल सरकारको कर्मचारी छन् । कोही राजनीतिमा । कतिपय शिक्षण पेसामा रमाइरहेका छन् । वैदेशिक रोजगारीमा दक्षिण कोरिया, साउदी अरब, कतार, दुबई, मलेसियालगायत थुप्रै देश पुगेका छन् । उनीहरू नेपाल फर्कंदा उपहारस्वरूप विभिन्न सामग्री ल्याइदिन्छन् ।

दाम्ली उपस्वास्थ्य चौकीमा माशिका शशिकला राई आएपछि उनले अलि पालो पाएकी छन् । लजालु स्वभावका गर्भवती स्वास्थ्य संस्था नजाने हुनाले उनलाई बोलाउँछन् । बोलाएको ठाउँमा उनी पुगिहाल्छिन् । सुत्केरी गराउन कत्तिको गाह्रो हुन्छ ?
‘यो काम त्यति सजिलो होइन । अस्पतालमा डाक्डरले विभिन्न मेसिन प्रयोग गरेर गर्भभित्रका बच्चाबच्चीको अवस्था थाहा पाउँछन्,’ उनले प्रस्ट्याइन्, ‘दाम्लीलगायतका गाउँघरमा न सुविधासम्पन्न अस्पताल न त उपकरणै । मजस्ता सुँडेनीका लागि अनुभवै सबैभन्दा ठूलो औजार हो । त्यही सदुपयोग गर्दै आएकी छु ।’

चतुरमाया राईको नाम कसरी हाँसपरी रहन गयो होला ? पाठकवृन्दलाई उत्सुकता लाग्न सक्छ । हिजोआजका युवा पुस्ताले आफ्नो नामको पछि राखिने उपनामलाई ‘टाइटल’ भन्छन् । तर, चतुरमाया राईको पालामा ‘सालाचो, सालामे, डी’ भनिन्थ्यो । वाम्बुले राई भाषामा सालाचो भनेको तन्नेरी र सालामेको शाब्दिक अर्थ तरुनी हुन्छ । डी भनेको नाम हो । हाँसपरीको उपनाम यसरी राखिएको थियो । उनको समयको नामहरू रिसिम, खुस्या, मजम्परी, सिम्परी, सिरिमफूल यस्तै–यस्तै हुन्थ्यो ।
हिजोआजका केटाकेटीले त्यसरी नाम राख्न छाडिसकेका छन् । त्यतिमात्र होइन, परम्परागत प्रचलनसमेत बिरानो बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्यलाई हानि गर्ने खानेकुरा गाउँ–गाउँ भित्रिएका छन् । त्यसैले सुन्दै नसुनेका रोगले मानिस थलिएका छन् । त्यही निहुँमा ज्यान गुमाउने बढ्दै गएका छन् । तसर्थ, हिजोआज बच्चा जन्माउन अस्पताल नपुगी धरै छैन । तर, सबै–सबै अस्पताल पुग्न सक्दैनन् । उनीहरूका लागि हाँसपरी जिन्दावाद । उनीहरूका लागि हाँसपरी अपवाद ।




