
डिकुवा (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारनिवासी युवराज थापामगरसँग केही दिनअघि भेटघाट भयो । नायब सुब्बा मगर चीनबाट मगर दसैंअघि मात्रै फर्केका थिए ।
मगर परिवार कोठामामै रहेछन् । पुग्नेबित्तिकै अतिथि कक्षमा पुर्याइयो । ‘सर, सरकार सञ्चालनमा निकै अप्ठ्यारो आइपर्यो कि कसो ?,’ मगरले सोधे, ‘टिकटकले प्रचण्ड सरकार हल्लिएकै हो ?’
‘सोनामजी टिकटक त चीनमा पनि प्रतिबन्धित एप्स रहेछ,’ उनले थपे, ‘चीनमा वन एप्स अल सर्भिस नीति रहेछ । नेपालमा सञ्चालित टिकटक त सरकारमातहत नआउने भएपछि बन्द गरिएको हो ।’
टिकटक नियमनसम्बन्धी चीनको नीति पंक्तिकारलाई ‘अच्छा’ लाग्यो । ‘चीनमा एउटामात्रै एप्स वैधानिक रहेछ । जुन एप्समा एकाउन्ट खोलिन्छ, उसको सबै–सबै कागजात ‘ओरिजिनल’ राख्नुपर्छ । जोकोहीले ‘फेक आईडी’ बनाउन सक्दैनन् । बनाइहाले पनि कारबाही तुरुन्तै हुन्छ ।
नेपालमा एउटैको पचासौं आईडी बनाउन सकिन्छ । फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत अनेकौं एप्स हुन्छन् । जसकारण धमिलो पानीमा माछा मार्न सहज हुने नै भयो । प्रत्येक नेपालीले असली परिचयपत्र राखेर आईडी बनाउन पाउने प्रावधान बनाइनुपर्छ । यतिमात्रै गर्न सके सामाजिक सञ्जाल नियमन गर्न सजिलै सकिन्छ ।
पंक्तिकारले चीन भ्रमणबारे जिज्ञासा राखे । ‘भ्रमणमा खासै परिँदैनथ्योे होला ? यसपटकको भ्रमणमा पर्नुका कारण पैसा नआउने भएकाले परियो,’ उनले वास्तविकता बताए, ‘नत्र त हाकिमहरूले मौकै दिँदैनन् । युरोप, अमेरिका भ्रमणमा जानेले डलरमा भत्ता पाउँछन् । महिना दिनमा १२ लाखजति हात पार्छन् । त्यस्तो भ्रमण भए साथीहरूले कहाँ मौका दिन्थे र । तर पनि चीन भ्रमण शिक्षाप्रदै रह्यो ।’
चिनियाँ प्रधानमन्त्रीको निधन हुँदासमेत चीनमा शोक बिदा दिइँदैन । जहाँ चिनियाँ राष्ट्रपति सी चिन फिङको सिद्धान्तबारे धेरैभन्दा धेरै चर्चा हुन्छ । मगरलगायत एक विश्वविद्यालयमा महिना दिन बिताए । चिनियाँ र अंग्र्रेजी भाषामा बिहान तीन र बेलुका तीन घन्टा पढाइ हुन्थ्यो । चीनमा रहँदा कम्युनिस्ट शासन व्यवस्थाबारे जान्ने, बुझ्ने मौका पाए । त्यस अवधिमा बसाइ, खुवाइ, अध्ययन गराइ र चीनको सुरक्षा प्रणाली त्यत्तिकै सशक्त र सुरक्षित रहेछ भन्ने लाग्थ्यो ।
एकमहिने बसाइमा चीनका विभिन्न प्रान्त पुगे । यस्तो लाग्थ्यो– त्यहाँ शासन छ र छैन पनि । चीनमा वी च्याट एकाउन्ट खोलेपछि सरकारले दिने सेवा सुविधा सजिलै प्राप्त गर्न सकिन्छ । सामाजिक सञ्जाल प्रयोग गर्न मिल्छ ।



