महँगो मुस्कान



भुम्जु (डिकुवा) खोटाङ, २ चैत

हामी पुग्दा उनीहरू खुसी देखिन्थे । उनीहरू हामीलाई स्वागत गर्न हतारिएका रहेछन् । हामीलाई स्वागत गर्ने प्रतीक्षामा हाम्रै बाटो हेरिरहेका रहेछन् । हामी पुग्यौं । उनीहरूले न्यानो स्वागत गरे ।

हामी (तुवाचुङ साप्ताहिकका प्रबन्ध सम्पादक र म कार्यकारी सम्पादक) लाई देखेपछि छिमेकीसमेत भेला भए । बोरामा के ल्याउनुभएको ? कहाँदेखि आउनुभएको ? भनेर सोधनी भयो । गाउँमा नौलो अनुहार देखेपछि त्यति सोध्नु अस्वाभाविक होइन । हामीले हाम्रो परिचय दियौं । भुम्जु आउनुको उद्देश्य सुनाएपछि हामीले काठमाडौंबाट पठाइएको बोरा खोल्यौं ।

बोरा खोलेपछि लत्ताकपडा निकाल्यौं । त्यसपछि महलबहादुर राईका छोराछोरीलाई क्रमशः लगाइदियौं । नयाँ लुगा लगाउन पाउँदा उनीहरू कम्ती खुसी देखिँदैनथे । विभिन्न ‘साइज’का लत्ताकपडा थिए । हामीलाई हेर्न आएका केटाकेटीलाई पनि एक/एक जोर लत्ताकपडा दियौं । नयाँ कपडा पाउँदा उनीहरू पनि त्यत्तिकै खुसी देखिन्थे । महलबहादुर राई दम्पतीले पनि नयाँ लुगा लगाए । सपरिवारले नयाँ लुगा लगाउँदा रहरलाग्दो देखिन्थ्यो । लुगा लगाइसकेपछि उनीहरूको अनुहारमा खुसी पोतिएको प्रस्टै देखिन्थ्यो । उनीहरू त्यति धेरै खुसी देख्दा संसारकै ‘महँगो मुस्कान’ जस्तो अनुभूति गर्यौं । त्यति महँगो खुसी किन्न पाइए कति मूल्य पर्ला ? उत्तर त्यति सजिलो थिएन ।

सपरिवारले लत्ताकपडा पाउँदा महलबहादुर राई खुसीले भावुक देखिन्थे । खुसीले गद्गद् भइन्छ । तर, भावुक भएको प्रत्यक्ष दृश्य तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दीपेन्द्र राई र लत्तापकडा उपलब्ध गराउने हलेसी टेलर्सका प्रबन्ध निर्देशक सुविन्द्र गिरीलाई सुनाउने हतारो लाग्यो । लत्ताकपडा उपलब्ध गराउनुभएकोमा थुप्रै–थुप्रै धन्यवाद भनेर महलबहादुर राईले दोहोर्याइरहे । लत्ताकपडा बाँडिसके बिदा माग्यौं । तर, पाइएन ।

सुख–दुःखबारे गफियौं । हाम्रा लागि खाना तयार पारिएको रहेछ । नखाने भन्दाभन्दै पनि जुठो बनाउनुपर्छ भन्दै अनुरोध भइरह्यो । मन राखिदिनकै लागि भए पनि मासुभात खायौं । मासुभात खाइरहँदा मन अमिलो थियो । लत्ताकपडा हात लगाउन जाँदा सम्मानका लागि तयार पारिएको मासुभातले महलबहादुर राईलाई ऋण त लगाएन ? खानामात्रै होइन, प्रबन्ध सम्पादकका लागि कोल्डड्र्ङ्क्सि र मेरोअघि गाउँको ‘लोकल’ पहिचान राखियो । हामीले घाँटी भिजायौं । महलबहादुर भाउजूले गाउँको ‘लोकल पहिचान’ कोसेलीस्वरूप हालिदिनुभयो । नाइँ भन्दा पनि भाउजूले कर गर्नुभएपछि म हारें ।


फागुन १७ गते शनिबार । अपराह्न ३ः३० बज्दै थियो । घाम घर फर्कंदै थियो । हामी  (असल चरित्र र सयन्द्र राई) हाम्रै गुँड फर्कन हतारियौं । हलेसी तुवाचुङ नगरपालिका–२ भुम्जु डिकुवानिवासी महलबहादुर राईको परिवारसँग बिदा माग्यौं । नेपाली नयाँ वर्षमा भुम्जु कसैगरी आउनूस् है भन्दै उनीहरूले बिदा दिए । प्रयास गर्छौं भन्दै हामी बाटो लाग्यौं ।

तुवाचुङ साप्ताहिकमा गत माघ २४ गते पहिलो पृष्ठमा आच्छु… शीर्षाकृत समाचार प्रकाशित भएपछि काठमाडौंमा व्यवसाय गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थाननिवासी युवा व्यवसायी सुविन्द्र गिरीबाट उपलब्ध लत्ताकपडा बोकेर भुम्जु पुग्ने मौका मिलेको थियो । परोपकारी काम अर्थात् सजिलो सहकार्य गर्न पाउँदा कच्ची बाटोको यात्रासमेत राजमार्गकै जस्तो अनुभूति गर्यौं ।

भुम्जुबाट घर फर्कंदा बाटैभरि लत्ताकपडा पाएपछि खुसी भएका महलबहादुर राई परिवारमै कुराकानी केन्द्रित भयो । कार्यकारी सम्पादकको नाताले महलबहादुर राई परिवारले लत्ताकपडा पाउँदाको महँगो मुस्कान किन्न परे कति मूल्य पर्ला ? भनेर प्रबन्ध सम्पादक असल चरित्रलाई सोधें । प्रबन्ध सम्पादक असल चरित्रले एकै शब्दमा उत्तर दिए, ‘पास ।’

प्रतिक्रिया दिनुहोस्