
दुर्छिम (खोटाङ) । कतारी १ रियाल अभियानले १ हजार ६०३ कतारी रियाल अर्थात् नेपाली ५७ हजार ६५० रुपैयाँ संकलन गरी डा. महावीर पुनलाई दोस्रोपटक नेपाल पठाएको छ ।
नवलपरासी, सिन्धुली र लमजुङ सेवा समाजको अधिवेशनमा क्रमशः ५४९ रियाल, ६४४ (सिन्धुली र लमजुङ) का साथै उदयपुर सेवा समाजको वनभोजमा ४१० रियाल संकलन भएको थियो ।
वीरगन्ज औद्योगिक कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन लागिपरेका डा. पुनलाई सघाउ पुगोस् भनेर कतारमा अभियान चलाएर संकलित रुपैयाँ नेपाल पठाइएको अभियानको संयोजक गजेन्द्र खालिङ राईले कतारको दोहाबाट टेलिफोनमा सुनाए ।
राई नेतृत्वका अभियानमा सेवक घतानी, आङ मिङ्मार शेर्पा, मणिराज स्याङ्तान, मनुरा थुलुङ र विवश लिम्बूले कतारमा स्थापित नेपालका विभिन्न संस्थाको अधिवेशन तथा वनभोज कार्यक्रममा आर्थिक सहयोग संकलन गरेका थिए ।

सन् २०२४ फेब्रुअरी २३ मा सम्पन्न सिन्धुली सेवा समाज कतारको ११औं अधिवेशन, लमजुङ सेवा समाज कतारको १५औं अधिवेशन, नवलपरासी सेवा समाज कतारको तेस्रो अधिवेशन र उदयपुर सेवा समाज कतारको भेटघाट तथा वनभोज कार्यक्रममा आर्थिक सहयोग संकलन गरिएको थियो । आर्थिक संकलन गर्न सन्ध्या अर्याल, मनुरा थुलुङ राई, प्रेम तामाङ, दीपा सुनुवार, विनोद रानामगर, रविना मगर र दिनेश शंकरले खुलेर अभियानसम्बद्ध अभियन्तालाई सहयोग गरेका थिए । सहयोग संकलन गर्न सघाउ पुर्याएको भन्दै अभियानसम्बद्धले सिन्धुली सेवा समाज कतार, लमजुङ सेवा समाज कतार, नवलपरासी सेवा समाज कतार र उदयपुर सेवा समाजका कतार परिवारलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
‘वैदेशिक रोजगारीमा कतार आइपुगेका जोकोहीलाई मर्का नपर्ने गरी कतारी १ रियाल अभियान चलाएका हौं,’ सगरमाथा मेल डटकमका प्रकाशक तथा प्रधानसम्पादकसमेत रहेका राईले भने, ‘कतारी १ रियाल अभियान भनिए पनि मनकारीले सोचेभन्दा धेरै आर्थिक सहयोग गरेका थिए । मनकारी सहयोगी सबैप्रति आभारी छु ।’
राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा वीरगन्जमा जीर्ण अवस्थामा रहेको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने डा. पुन आफूले लेखेको किताब आफैं बेच्दै हिँडेका छन् ।



